घोप्टेभीरमा दैनिक पाँच घण्टा सवारी रोकिँदै, थप तीन दिनमा काम सक्ने लक्ष्य

ड्रागन मिडिया सम्वाददाता
पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डअन्तर्गत घोप्टेभीरमा पहिरो खस्ने जोखिम घटाउन शनिबारदेखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन रोकिँदै आएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार थप समस्या नआए अबको तीन दिनमा भीरको जोखिमपूर्ण भाग हटाउने लक्ष्य छ।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकभन्दा करिब १०० मिटर माथि स्काभेटरले भीर काटिरहेको छ भने तल सडकमा खसेको माटो र ढुङ्गा पन्छाउने काम भइरहेको छ। मंगलबार माथिबाट ढिस्को खस्दा स्काभेटर पुरिएको थियो। पहिरो पन्छाएपछि सोही स्काभेटरले फेरि काम थालेको छ। भूगोल र कामको जोखिमका कारण प्रगति सुस्त भएको नेपालले बताए। सम्भव भए भीरमा अर्को स्काभेटर पनि पठाउने तयारी छ।
सवारी रोकिएको समयमै चुम्लिङ्टार र कुरिन्टारबीचको डाहाकी खोलामा पनि सडक चौडा गर्ने काम भइरहेको छ। त्यहाँ १०० मिटर लामो खण्डमा सडकको चौडाइ दुई मिटर बढाउन भित्तो काटिँदै छ।





