सुर्खेतको भेरी नदीमा नुहाउन पसेका नेपालगञ्जका दुई युवा बेपत्ता, खोजीमा गोताखोर परिचालन

ड्रागन मिडिया सम्वाददाता
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा भेरी नदी र झुप्राखोलाको दोभानमा मंगलबार दिउँसो नुहाउन पसेका दुई युवा बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बलका गोताखोर परिचालन गरिएको छ।
बेपत्ता हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ का १९ वर्षीय अमिर अली शाह र सोही ठाउँका बुदेश कुमार तमोली छन्। प्रहरीका अनुसार उनीहरू सुर्खेतमा आफन्तलाई भेटेर घर फर्कने क्रममा दिउँसो करिब पौने तीन बजे नदीमा पसेका थिए।
नदी किनारमा मोटरसाइकल, दुई जोर जुत्ता, कपडासहितको झोला र सेल्फी स्टिकमा राखिएको मोबाइल देखेपछि स्थानीय बालकृष्ण खरेल र इन्द्रलाल खरेलले दिउँसो २:५५ बजे सुब्बाकुना प्रहरी चौकीमा खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले त्यहाँ सवारी चालक अनुमतिपत्र पनि फेला पारेको थियो।
सुर्खेतका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलका अनुसार मोबाइल सेल्फी भिडिओ मोडमा थियो। भिडिओ खिच्ने क्रममा नदीमा पस्दा दुवैलाई तीव्र बहावले बगाएको हुन सक्ने प्रहरीको अनुमान छ। मंगलबारको खोजीमा दुवै जना फेला नपरेपछि बुधबार पनि खोजी जारी राख्ने प्रहरीले जनाएको छ।





