सांघाईका पार्टी प्रमुखमाथि अनुसन्धान, चच्याङका पूर्वउपगभर्नरलाई दुई वर्षको स्थगनसहित मृत्युदण्ड

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ कम्युनिष्ट पार्टीको सांघाई समिति प्रमुख तथा पोलिटब्युरो सदस्य छन जिनिङमाथि पार्टी अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आशंकामा अनुसन्धान शुरु भएको छ। अर्को मुद्दामा चियाङ्सी प्रान्तको यिचुनस्थित अदालतले घुस लिएको ठहर गर्दै चच्याङ प्रान्तका पूर्वउपगभर्नर गाओ सिङफुलाई मृत्युदण्ड सुनाएको छ। अदालतले सजायको कार्यान्वयन दुई वर्षका लागि स्थगन गरेको छ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै जनआस्थाले जनाएअनुसार, छनमाथि पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय सुपरिवेक्षण आयोगले अनुसन्धान गरिरहेका छन्। सन २०२२ मा वर्तमान नेतृत्वको कार्यकाल शुरु भएयता अनुसन्धानको दायरामा परेका उनी चौथो पोलिटब्युरो सदस्य हुन्। समाचारअनुसार, करिब दुई दशकपछि सांघाईका बहालवाला पार्टी प्रमुखमाथि यस्तो अनुसन्धान भएको हो।
चच्याङ प्रान्तीय जनकांग्रेसको स्थायी समितिका पूर्वउपाध्यक्षसमेत रहेका गाओले सन २००४ देखि २०२५ सम्म विभिन्न पदमा रहँदा अधिकारको दुरुपयोग गरी अनुचित आर्थिक लाभ लिएको अदालतले ठहर गरेको छ। यस अवधिमा उनले चच्याङ कन्स्ट्रक्सन इन्भेस्टमेन्ट ग्रुपमा उपमहाप्रबन्धक, महाप्रबन्धक र अध्यक्ष तथा चच्याङ कम्युनिकेसन्स इन्भेस्टमेन्ट ग्रुपमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
अदालतले गाओको राजनीतिक अधिकार आजीवन खोस्ने र उनको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ। फैसलाअनुसार घुस तथा अन्य अनुचित लाभबाट प्राप्त रकम राज्यकोषमा दाखिला गरिनेछ। असुल हुन बाँकी रकमको असुली पनि जारी रहनेछ।





