११ मंसिर २०८३, बिहीबार

रणनीतिक साझेदारीका लागि रुस र ब्रुनाइद्वारा संयुक्त घोषणापत्र स्वीकृत

ड्रागन मिडिया समाचार कक्ष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्रुनाइका सुल्तान हसनल बोल्कियाले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको तहमा उकास्ने संयुक्त घोषणापत्र स्वीकृत गरेका छन्। रुसी समाचार संस्था तासका अनुसार बुधबार मस्कोमा भएको वार्तापछि पुटिनले घोषणापत्रले दुवै देशका लागि महत्त्वपूर्ण क्षेत्रमा सहकार्यका दीर्घकालीन लक्ष्य र योजना तय गरेको बताए।

पुटिनले वार्ता फलदायी भएको बताउँदै अधिकांश क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा दुई देशका धारणा मिल्ने वा नजिक रहेको उल्लेख गरे। उनका अनुसार रुस र ब्रुनाइले अन्तर्राष्ट्रिय कानुनको सर्वोच्चता, राष्ट्रिय सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तलाई समर्थन गर्छन्। एसिया–प्रशान्त क्षेत्रमा दिगो विकासका पक्षमा पनि दुवै देशको साझा धारणा रहेको उनले बताए।

ऊर्जा क्षेत्रमा पुटिनले कठिन भौगर्भिक अवस्थाबाट तेल र प्राकृतिक ग्यास निकाल्ने रुसी अनुभव र प्रविधि ब्रुनाइसँग बाँड्न तत्पर रहेको बताए। उनका अनुसार रुसी कम्पनीहरूले ब्रुनाइलाई खाद्यान्न, रासायनिक मल र हलाल मापदण्डअनुसारको मासुसहित विभिन्न वस्तु आपूर्ति गर्ने प्रस्ताव गरेका छन्।

वित्तीय सहकार्यबारे पुटिनले रुसले बैंकिङ तथा कर्जा कारोबारका भरपर्दा माध्यम विकास गर्दै अन्तर्राष्ट्रिय भुक्तानीमा राष्ट्रिय मुद्राको प्रयोग बढाइरहेको बताए। यसले विश्व राजनीतिका प्रतिकूल प्रभाव र अन्तर्राष्ट्रिय बजारको उतारचढावबाट व्यापार तथा लगानी जोगाउन मद्दत गर्ने उनको भनाइ थियो।

पुटिनका अनुसार दुई देशबीच लागू भिसामुक्त व्यवस्थाले व्यावसायिक सम्पर्क, जनस्तरको सम्बन्ध र पर्यटन विस्तारमा सहयोग गरेको छ। वार्तामा दुवै पक्षले विज्ञान, शिक्षा, स्वास्थ्य र खेलकुदमा आदानप्रदान बढाउन तथा युवा र धार्मिक संस्थाबीच सम्पर्क विस्तार गर्न तत्परता जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button