रुसको कृत्रिम बुद्धिमत्ता रणनीति अद्यावधिक गरी २०३६ सम्मको कार्यदिशा तय गर्न पुटिनको प्रस्ताव

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी राष्ट्रिय रणनीति अद्यावधिक गरी सन २०३६ सम्मको कार्यदिशा तय गर्न र त्यसका लागि राष्ट्रिय कार्ययोजना अपनाउन प्रस्ताव गरेका छन्। नोभेम्बर २६ मा कजाखस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभसँगै ‘आर्टिफिसियल इन्टेलिजेन्स जर्नी’ सम्मेलनको पूर्ण सत्रमा सहभागी पुटिनले रुसका सबै आर्थिक क्षेत्र र नागरिकको दैनिक जीवनमा एआईको प्रयोग विस्तार गर्ने लक्ष्य सुनाए।
पुटिनले झन्डै एक दशकअघि एआई विकासमा नेतृत्व लिने देशले विश्वमा शासन गर्नेछ भनी आफूले दिएको अभिव्यक्ति स्मरण गरे। त्यसयता परिस्थिति बदलिएको र अत्याधुनिक एआई प्रविधि उपलब्ध हुँदैमा कुनै देशले प्राविधिक अग्रता वा दीर्घकालीन विकास सुनिश्चित गर्न नसक्ने उनको भनाइ थियो।
पुटिनका अनुसार एआईमा अग्रता लिन मानिस र स्वायत्त प्रणालीले सहज रूपमा सँगै काम गर्न सक्ने वातावरण बनाउनुपर्छ। त्यसका लागि व्यवस्थापन र उत्पादनका प्रक्रिया बदल्नुका साथै आर्थिक गतिविधि र सामाजिक सेवामा प्रविधि कसरी प्रयोग गर्ने भन्नेबारे पनि पुनर्विचार गर्नुपर्ने उनले बताए।
पूर्ण सत्रअघि पुटिन र तोकायेभले रुस र कजाखस्तानमा शिक्षा, स्वास्थ्य सेवा, सार्वजनिक प्रशासन, उद्योग र यातायातमा एआईको प्रयोग देखाइएको प्रदर्शनी अवलोकन गरेका थिए। कार्यक्रमपछि दुवै राष्ट्रपतिले एआईका क्षेत्रमा काम गरिरहेका रुस, भारत र कजाखस्तानका विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीसँग भेट गरे।





