१२ मंसिर २०८३, शुक्रबार

पोखराको नौबीसेमा शनिबार तेस्रो दाइँ महोत्सव, हलगोरुले दाइँ गर्ने परम्परा देखाइने

ड्रागन मिडिया सम्वाददाता

पोखरा महानगरपालिका–२९, लेखनाथको नौबीसे टोलमा शनिबार, मंसिर १२ गते तेस्रो दाइँ महोत्सव हुने भएको छ। महोत्सवमा हलगोरुले धानको दाइँ गर्ने परम्परागत विधि देखाइनेछ। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलका अनुसार महोत्सवमा सहभागी हुन ५० जना विदेशी पर्यटकले नाम दर्ता गराइसकेका छन्।

पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषदले ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागेका हुन्। नेपाल पर्यटन बोर्डले महोत्सवको प्रवर्द्धन गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा भुजेलले रोपाइँ महोत्सवमा सहभागी पर्यटकले धान कसरी भित्र्याइन्छ भनेर चासो देखाएपछि तीन वर्षअघि दाइँ महोत्सव शुरु गरिएको बताए। परिषदले हालसम्म रोपाइँ महोत्सवका २३ संस्करण आयोजना गरिसकेको छ।

कार्यक्रम संयोजक तथा परिषदका प्रथम उपाध्यक्ष हरिराम अधिकारीका अनुसार महोत्सवमा धान चुट्ने, दँदेरा गर्ने, गुन्द्री बुन्ने र लट्टो तान्ने प्रतियोगिता हुनेछन्। धेरै धान फलाउने किसानलाई सम्मान गरिनेछ। प्रतियोगिताका विजेतालाई पुरस्कार र पाहुनालाई स्थानीय उत्पादन उपहार दिइनेछ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले शहरीकरण र खेतीमा यन्त्रको बढ्दो प्रयोगसँगै ओझेलमा परेका कृषि सीप नयाँ पुस्तासम्म पुर्‍याउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण र कृषि पर्यटनको विकासमा पनि महोत्सवले सहयोग पुर्‍याउने अपेक्षा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button