वैकल्पिक आवास नदिई सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसले विस्थापित सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। सभापति गगनकुमार थापाको अध्यक्षतामा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले ती परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न आग्रह गरेको हो।
वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउने निर्णय संविधानले प्रत्याभूत गरेको आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ।
बैठकले होल्डिङ सेन्टरका विषयमा समन्वय र सहजीकरण गर्न केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र प्रबल थापा छन्।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंसिर ८ देखि जारी बैठकमा बिहीबार ८० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। सदस्यहरूले बोल्ने क्रम जारी रहेकाले अर्को बैठक शुक्रबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।





