७५० जनाको क्षमताको झापा कारागारमा १ हजार ७१० कैदीबन्दी

ड्रागन मिडिया सम्वाददाता
झापा कारागारमा क्षमताभन्दा ९६० जना बढी कैदीबन्दी छन्। कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार ७५० जना राख्न मिल्ने कारागारमा अहिले ९२९ जना कैदी र ७८१ जना थुनुवा छन्। भिडका कारण उनीहरू छ दशक पुरानो भवनका साँघुरा कोठामा बस्न बाध्य छन्।
विसं २०२० मा बनेको कारागारको सुरुको क्षमता ३५० जना थियो। पछि संरचना थपेर क्षमता ७५० पुर्याइएको हो। हाल कारागारमा १ हजार ६२६ पुरुष र ८४ महिला छन्। महिला र पुरुषका लागि छुट्टाछुट्टै भवन छन्। कैदीबन्दीमध्ये २४ जना ६५ वर्षमाथिका छन् भने एक जना महिला गर्भवती छन्। कारागारमा एक आश्रित बालक पनि छन्।
कारागार प्रशासनका अनुसार झन्डै आधा कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका छन्। यस्ता मुद्दामा ७९४ पुरुष र ५६ महिला गरी ८५० जना कारागारमा छन्। जबर्जस्ती करणीसम्बन्धी मुद्दामा ३५९, चोरीमा १३५, कर्तव्य ज्यानमा ११४, ठगीमा १६ र अभद्र व्यवहारसम्बन्धी मुद्दामा १३ जना छन्।
कारागार प्रशासनले भद्रपुर नगरपालिका–१० को कलबलगुढीमा नयाँ कारागार बनाउन कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा छुट्याइएको जनाएको छ। नयाँ कारागारको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढेको छ।





