रौतहटमा सीमापार अपराध रोक्न सशस्त्र प्रहरीले माग्यो स्थानीयको सहयोग

ड्रागन मिडिया सम्वाददाता
सशस्त्र प्रहरी बल नेपालले रौतहटको नेपाल–भारत सीमाक्षेत्रमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, चोरीपैठारी र राजस्व चुहावट रोक्न स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग सूचना र सुझाव मागेको छ। बिहीबार बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा आयोजित ‘सीमावासीसँग सशस्त्र प्रहरी बल’ अन्तरक्रियामा बौधीमाई र ईशनाथ नगरपालिकाका जनप्रतिनिधिले सुरक्षाकर्मीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
महोत्तरीस्थित छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रणमा स्थानीयको सहयोग जुटाउन कार्यक्रम आयोजना गरिएको बताए। अन्तरक्रियामा सशस्त्र प्रहरी अधिकारीहरूले हातहतियार तथा खरखजानाको अवैध कारोबारसहित सीमापार अपराध रोक्न स्थानीय तह र नागरिक समाजसँग सहकार्य आवश्यक रहेको बताए।
रौतहटमा सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सीमा सुरक्षालाई प्रभावकारी र भरपर्दो बनाउन स्थानीय बासिन्दाबाट प्राप्त सूचना र सुझाव महत्त्वपूर्ण हुने बताए। कार्यक्रममा सुरक्षाकर्मीले नाकाबाट हुने अवैध गतिविधि रोक्ने उपायबारे बासिन्दा र जनप्रतिनिधिका सुझाव संकलन गरे।
बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल र ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवीले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षाकर्मीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।





