१२ मंसिर २०८३, शुक्रबार

मलेसिया रोजगारी प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

ड्रागन मिडिया सम्वाददाता

काठमाडौं जिल्ला अदालतले मलेसिया रोजगारी प्रकरणमा पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित १० जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार ब्यूरोले श्रमिकबाट उठाइएको रकमको कारोबार र त्यससँग सम्बन्धित निर्णयमा पक्राउ परेकाहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।

हिरासतको म्याद थप भएकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्। कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीको पनि म्याद थप भएको छ।

ब्यूरोका अनुसार मलेसिया जाने नेपाली श्रमिकलाई ठगी गरी उठाएको भनिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको आरोप छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटलगायतले दिएको जाहेरीका आधारमा ब्यूरोले ठगी र सङ्गठित अपराधसम्बन्धी अनुसन्धान अघि बढाएको हो।

ब्यूरोले मंसिर २ गते पक्राउ पुर्जीका लागि अदालतको अनुमति लिएपछि काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट ती १० जनालाई पक्राउ गरेको थियो। यही प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पनि बिहीबार पक्राउ गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button