अनुदानको १५९ बोरा मलको हिसाब नदेखाएपछि संजीवनी कृषि भण्डारलाई दुई लाख जरिवाना

ड्रागन मिडिया सम्वाददाता
झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित बुधबारे बजारको संजीवनी कृषि भण्डारले सरकारी अनुदानको १५९ बोरा रासायनिक मलको बिक्री वा मौज्दात विवरण पेश गर्न नसकेपछि जिल्ला प्रशासन कार्यालय झापाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। प्रशासनले मल बिक्रीवितरणका लागि तोकिएका शर्त उल्लंघन भएको जनाउँदै भण्डारलाई कार्यालयमा उपस्थित हुन पनि निर्देशन दिएको छ।
प्रशासनका अनुसार भण्डारले मंसिर ८ गते साल्ट ट्रेडिङ कर्पोरेसनको बिर्तामोड कार्यालयबाट १७० बोरा युरिया र ६० बोरा डीएपी खरिद गरेको थियो। भोलिपल्ट कृषि सामग्री कम्पनीको बिर्तामोड कार्यालयबाट थप १७० बोरा डीएपी किनेपछि दुई दिनको कुल खरिद ४०० बोरा पुगेको थियो।
बिहीबारको आकस्मिक अनुगमनमा टोलीले गोदाममा १२१ बोरा डीएपी र १२० बोरा युरिया गरी २४१ बोरा मल भेट्यो। बाँकी १०९ बोरा डीएपी र ५० बोरा युरियाको हिसाब भण्डारले देखाउन सकेन।
अनुदानको मल अनधिकृत रूपमा बिक्री भएको सूचनापछि सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा खटिएको संयुक्त टोलीले सोही वडाको ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरेको थियो। सहकारीको मल खरिद, बिक्री र मौज्दातको विवरण भने दुरुस्त भेटिएको प्रशासनले जनाएको छ।





