१३ मंसिर २०८३, शनिबार

दक्षिणी लेबनानबाट राष्ट्रसंघीय शान्तिरक्षक फिर्ता हुँदै, सुरक्षा व्यवस्थामा अन्योल

ड्रागन मिडिया समाचार कक्ष

दक्षिणी लेबनानमा झन्डै पाँच दशकदेखि तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति सेना (युनिफिल) फिर्ता हुने भएपछि त्यस क्षेत्रको भावी सुरक्षा व्यवस्थाबारे चिन्ता बढेको छ।

युनिफिलले सन २०२७ जनवरी १ देखि सात हजार पाँच सय शान्तिरक्षकलाई चरणबद्ध रूपमा फिर्ता लैजाने तयारी गरेको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको निर्णयअनुसार सन २०२६ डिसेम्बरको अन्त्यमा युनिफिलको कार्यादेश समाप्त हुँदै छ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार इजरायली सेनाको निरन्तर कब्जा, हिजबुल्लाहको निःशस्त्रीकरणसम्बन्धी विवाद र लेबनानी सेनाको सीमित क्षमताका कारण शान्तिरक्षकको बहिर्गमनपछि सुरक्षा रिक्तता उत्पन्न हुने जोखिम बढेको छ।

युनिफिलका कमान्डर मेजर जनरल डियोडाटो अबग्नाराले हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्नु नभई दक्षिणी क्षेत्रमा लेबनानी सेनाको नियन्त्रण स्थापित गर्न सहयोग पुर्‍याउनु शान्ति सेनाको जिम्मेवारी रहेको स्पष्ट पारेका छन्।

इजरायली सेनाको कब्जामा रहेका दक्षिणी लेबनानका क्षेत्रमा करिब ११ हजार नागरिक अझै बसोबास गरिरहेका छन्। उनीहरूको सुरक्षित आवागमनका लागि युनिफिलले सहयोग गर्दै आएको छ।

लेबनानी राष्ट्रपति जोसेफ आउनले युनिफिलको कार्यादेश विस्तार गर्नुपर्ने धारणा राखेका छन्। फ्रान्सले नयाँ अन्तर्राष्ट्रिय सुरक्षा बल गठन गर्ने प्रस्ताव तयार गरिरहेको छ भने अमेरिकाले नागरिक सुरक्षा बल वा निजी सुरक्षा ठेकेदार परिचालन गर्ने विकल्प अघि सारेको छ।

लेबनानले निजी सुरक्षा बल परिचालन र इजरायली सेनासँग प्रत्यक्ष सैन्य समन्वय गर्ने प्रस्तावको विरोध गरेको छ।

लेबनानी सेनाले गत जनवरीमा लिटानी नदीको दक्षिणी क्षेत्रमा हिजबुल्लाहका हतियार हटाइएको घोषणा गरे पनि हिजबुल्लाहले देशका अन्य क्षेत्रमा रहेका हतियार त्याग्न अस्वीकार गर्दै आएको छ।

हिजबुल्लाहले राष्ट्रसंघबाट स्वीकृत अन्तर्राष्ट्रिय सुरक्षा बलको उपस्थितिलाई स्वीकार गर्न सकिने तर निजी सुरक्षा ठेकेदार वा इजरायली कब्जालाई सहयोग गर्ने कुनै पनि शक्तिलाई स्वीकार नगर्ने जनाएको छ।

इजरायली सेनाको पूर्ण फिर्ती, हिजबुल्लाहको निःशस्त्रीकरण र वैकल्पिक सुरक्षा संयन्त्रबारे सहमति जुट्न नसक्दा युनिफिलको बहिर्गमनपछि दक्षिणी लेबनानको सुरक्षा व्यवस्था कसरी सञ्चालन हुन्छ भन्ने प्रश्न अनुत्तरित छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button