१३ मंसिर २०८३, शनिबार

विश्वका १६ क्षेत्रमा खाद्य सङ्कट गहिरिने राष्ट्रसंघको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

सशस्त्र द्वन्द्व, प्रतिकूल मौसमी अवस्था, खाद्यान्न तथा इन्धनको मूल्यवृद्धि र मानवीय सहायतामा व्यापक कटौतीका कारण आगामी छ महिनामा विश्वका १६ क्षेत्रमा खाद्य सङ्कट थप गम्भीर बन्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले शुक्रबार सार्वजनिक गरेको ‘हङ्गर हटस्पट्स’ प्रतिवेदनले सुडान, यमन, दक्षिण सुडान, सोमालिया र उत्तरी नाइजेरियालाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका क्षेत्रका रूपमा पहिचान गरेको छ।

प्रतिवेदनअनुसार सुडानका करिब एक करोड ९५ लाख मानिस अर्थात कुल जनसङ्ख्याको ४१ प्रतिशत गम्भीर खाद्य असुरक्षाबाट प्रभावित छन्। उत्तरी डार्फर र दक्षिण कोर्डोफानका १३ क्षेत्रमा भोकमरीको जोखिम कायमै छ। सशस्त्र द्वन्द्व र इन्धनको मूल्यवृद्धिका कारण सुडानमा प्रमुख खाद्यान्न ज्वार र डिजेलको मूल्य एक वर्षमै दोब्बरभन्दा बढी भएको छ।

एल निनोसँग सम्बन्धित खडेरीका कारण सुडानका प्रमुख कृषि क्षेत्र सेन्नार र गेदारेफ राज्यमा क्रमशः ५५ र ७० प्रतिशतसम्म खेतीयोग्य जमिन प्रभावित भएको छ।

यमनमा सशस्त्र द्वन्द्व पुनः चर्किएपछि तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारको नियन्त्रणमा रहेका क्षेत्रमा मात्रै १८ लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा छन्। यसअघिको राष्ट्रव्यापी मूल्याङ्कनअनुसार यमनका एक करोड ८३ लाख मानिस गम्भीर खाद्य असुरक्षाबाट प्रभावित थिए।

खाद्यान्न र इन्धन आयातमा अत्यधिक निर्भर यमनमा लालसागरको समुद्री ढुवानी अवरुद्ध हुँदा आपूर्ति सङ्कट थप चर्किएको छ। हर्मुज जलमार्ग, लालसागर र कालासागरमा उत्पन्न अवरोधले अन्तर्राष्ट्रिय खाद्यान्न, इन्धन तथा रासायनिक मलको आपूर्तिसमेत प्रभावित भएको छ।

गाजामा सन २०२५ अक्टोबरमा युद्धविराम भएपछि खाद्य आपूर्तिमा केही सुधार देखिए पनि त्यहाँको ६७ प्रतिशत जनसङ्ख्या अझै खाद्य सङ्कट वा त्योभन्दा गम्भीर अवस्थाबाट प्रभावित छ।

यसैबीच, प्रमुख दातृ राष्ट्रहरूले मानवीय सहायता कटौती गर्दा सङ्कट व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका पाँच देशमा खाद्य तथा पोषणसम्बन्धी सहायता सन २०२२ देखि सन २०२५ सम्म ६२ प्रतिशतले घटेको छ। यमनमा यस्तो कटौती ७९ प्रतिशत पुगेको छ।

एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले सशस्त्र द्वन्द्वबाट प्रभावित कृषि उत्पादन प्रणालीलाई खडेरी र सहायता कटौतीले थप कमजोर बनाउने चेतावनी दिएकी छन्।

राष्ट्रसंघले भोकमरी रोक्न सशस्त्र द्वन्द्व अन्त्य, अवरोधरहित मानवीय सहायता, कृषि उत्पादनको संरक्षण तथा सम्भावित खाद्य सङ्कटको पूर्वानुमान गरी समयमै आर्थिक श्रोत परिचालन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button