बाजुरामा ट्र्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चालकसहित पाँच घाइते

ड्रागन मिडिया सम्वाददाता
बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका अन्दाजी ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ट्र्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का अन्दाजी २१ वर्षीय नवीन बोहरा, बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४० वर्षीय बिउरा ओड, २२ वर्षीया सङ्गीता शाही, ४५ वर्षीय सिद्धा ओड र ५२ वर्षीया रामसरादेवी सिंह घाइते भएका छन्।
घाइते पाँचै जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पिलुचौर बजारबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरी निरीक्षक भाटले जानकारी दिएका छन्।
दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाको विस्तृत विवरण सङ्कलन गर्नुका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ।





