१३ मंसिर २०८३, शनिबार

हलेसीमा बहुसांस्कृतिक सङ्ग्रहालय : मौलिक सम्पदा संरक्षणसँगै सांस्कृतिक पर्यटन प्रवर्द्धन

ड्रागन मिडिया सम्वाददाता

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरेको बहुसांस्कृतिक सङ्ग्रहालयका लागि परम्परागत सामग्री सङ्कलन शुरु गरेको छ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको साझा आस्थाको केन्द्र हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङलुङ पार्क परिसरमा स्थापना गरिएको सङ्ग्रहालयलाई स्थानीय सभ्यता, संस्कृति, इतिहास र परम्पराको अध्ययन तथा अवलोकन केन्द्रका रूपमा विकास गर्ने नगरपालिकाको योजना छ।

कोशी प्रदेश सरकार र हलेसी तुवाचुङ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको सङ्ग्रहालयले विभिन्न समुदायका मौलिक संस्कार, सांस्कृतिक पहिचान, परम्परागत ज्ञान र जीवनशैलीलाई संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।

राष्ट्रिय समाचार समितिका अनुसार नगरपालिकाले सङ्ग्रहालयका लागि विभिन्न समुदायका परम्परागत पोशाक, गरगहना, बाजागाजा, कृषि तथा घरेलु औजार, धार्मिक अनुष्ठानमा प्रयोग हुने सामग्री, ऐतिहासिक भाँडाकुँडा तथा हस्तकलाका सामग्री सङ्कलन गर्न सार्वजनिक सूचना जारी गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले इच्छुक समुदाय, सङ्घसंस्था, गुठी, क्लब तथा व्यक्तिलाई ३५ दिनभित्र सम्बन्धित सामग्रीको विवरणसहित नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेका छन्।

सङ्ग्रहालयलाई उपलब्ध गराइने सामग्रीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व, सम्बन्धित जातजाति वा समुदाय, अनुमानित प्राचीनता र दाताको परिचयसमेत अभिलेखीकरण गरिनेछ। सामग्री स्थायी रूपमा हस्तान्तरण गर्ने वा निश्चित अवधिका लागि प्रदर्शनमा राख्ने दुवै विकल्प खुला गरिएको नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिएका छन्।

सङ्ग्रहालयमा राखिने सामग्रीको उचित संरक्षण गर्नुका साथै दाता र सम्बन्धित समुदायको पहिचान तथा योगदान झल्किने गरी विवरण सुरक्षित राखिने नगरपालिकाले जनाएको छ।

सङ्ग्रहालयका भवन निर्माणका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले एक–एक करोड रुपैयाँ विनियोजन गरेका थिए। प्रदेश सरकारको बजेटअन्तर्गत ९० लाख रुपैयाँ तथा नगरपालिकाको बजेटअन्तर्गत ८० लाख ८१ हजार रुपैयाँको निर्माण सम्झौता गरिएको थियो। हाल तीनवटा सङ्ग्रहालय भवनको निर्माण सम्पन्न भएको छ।

आवश्यक सांस्कृतिक तथा ऐतिहासिक सामग्री सङ्कलन भएपछि नगर कार्यपालिकाले सङ्ग्रहालय उद्घाटनको मिति निर्धारण गर्ने जनाइएको छ।

नगरप्रमुख विमला राईले बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षण गर्दै हलेसीलाई सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको बताएकी छन्।

नगरपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको यस परियोजनाले हलेसीको धार्मिक पर्यटनलाई सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटनसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा विकास भइरहेको बुङलुङ पार्क प्राकृतिक ढुङ्गाको संरचना, कलात्मक सौन्दर्य र सांस्कृतिक सम्पदाको संयोजनमा निर्माण भइरहेको छ।

प्राकृतिक ढुङ्गाको मौलिक स्वरूपलाई यथासम्भव सुरक्षित राख्दै पार्कमा कलात्मक प्रवेशद्वार, ढुङ्गे धारा, सिँढी, फूलबारी, मूर्तिकला तथा विश्रामस्थल निर्माण गरिँदै छ। हिन्दु धार्मिक किंवदन्तीसँग सम्बन्धित महादेव र भस्मासुरको प्रसङ्ग झल्काउने मूर्तिसमेत निर्माण भइरहेको छ।

पार्क परिसरमा विद्युत, पिउने पानी, भोजनालय, कफीघर, विश्रामस्थल तथा केबलकारलगायत पर्यटकीय पूर्वाधार विकास गर्ने योजना नगरपालिकाले अघि सारेको छ।

हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने ककनीडाँडाबाट सगरमाथासहित उच्च हिमाली श्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। निर्माणाधीन अवस्थामै बुङलुङ पार्क आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको स्थानीय बासिन्दाले बताएका छन्।

बुङलुङ पार्क नेपाल सरकारले पहिचान गरेका एक सय पर्यटकीय गन्तव्यमध्ये एक मुन्दुम पदमार्गको प्रवेशस्थलमा पर्दछ। किरात सभ्यता, इतिहास, संस्कृति र प्रकृतिसँग जोडिएको उक्त पदमार्ग हलेसीबाट रूपाकोट, टेम्के र मैयुङ हुँदै साल्पा–सिलिचुङसम्म विस्तारित छ।

हलेसी र ककनीडाँडानजिकै किरात सभ्यताको उद्गमस्थल मानिने ऐतिहासिक तुवाचुङ–जायजुमसमेत अवस्थित छ। यी धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थललाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहेको छ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा अघि बढाइएको बुङलुङ पार्क तथा बहुसांस्कृतिक सङ्ग्रहालय सञ्चालनमा आएपछि स्थानीय सम्पदाको संरक्षण, सांस्कृतिक अध्ययन, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button