१४ मंसिर २०८३, आईतवार

स्थानीय निर्वाचनका लागि देशभरका मतदानस्थल र केन्द्रको पुनरावलोकन

ड्रागन मिडिया सम्वाददाता

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन शुरु गरेको छ। आयोगले यसका लागि सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरेको छ।

निर्वाचन आयुक्त सगुनशमशेर जबराका अनुसार मतदाता सङ्ख्यामा आएको परिवर्तन, भौतिक पूर्वाधार, सुरक्षा व्यवस्था र मतदाताको पहुँचलाई आधार बनाएर मतदानस्थल तथा केन्द्रको पुनरावलोकन गर्न लागिएको हो। गत वर्ष फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र कायम गरिएको थियो।

पुनरावलोकनका क्रममा यातायात, खानेपानी, शौचालय, विद्युत, टेलिफोन, इन्टरनेट तथा सुरक्षा व्यवस्थाको मूल्याङ्कन गरिनेछ। आयोगले सामान्यतया एक हजारसम्म मतदाताका लागि एउटा मतदान केन्द्र निर्धारण गर्दै आएको छ।

प्राकृतिक विपदबाट क्षतिग्रस्त तथा भौतिक संरचना जीर्ण भएका मतदानस्थलको विकल्प खोजिनेछ। रसुवागढीको बाढीबाट रसुवामा मात्रै १२ वटा मतदानस्थल बगेकाले तिनका लागि वैकल्पिक स्थान पहिचान गरिनेछ।

आयोगको कार्यविधिअनुसार प्रत्येक वडामा कम्तीमा एउटा मतदानस्थल कायम रहनेछ। पूर्वाधार, सुरक्षा वा पहुँचका दृष्टिले अनुपयुक्त मतदानस्थललाई सम्बन्धित वडाभित्रै अर्को उपयुक्त स्थानमा सार्न सकिनेछ।

वडाध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले स्थलगत अध्ययन र सरोकारवालासँगको छलफलपछि स्थानीय तहमार्फत जिल्ला समितिमा प्रस्ताव पेश गर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला समितिले एकीकृत विवरण तयार गरी आयोगसमक्ष सिफारिस गर्नेछ।

प्राप्त सिफारिसको अध्ययनपछि निर्वाचन आयोगले नयाँ मतदानस्थल तथा केन्द्र निर्धारण, स्थानान्तरण वा खारेजीसम्बन्धी अन्तिम निर्णय गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button