१४ मंसिर २०८३, आईतवार

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको लक्ष्य २० स्वर्णसहित ३५ पदक

ड्रागन मिडिया सम्वाददाता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्णसहित ३५ पदक जित्दै पदक तालिकाको चौथो स्थान हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटनअघि नै पौडीमा उत्कृष्ट प्रदर्शन गरेको एनआरएनए हाल पदक तालिकाको दोस्रो स्थानमा छ।

एनआरएनएका पौडी खेलाडी लिली बोहरा र मिखा थापाले मात्रै १२ स्वर्ण, चार रजत र चार कांस्यसहित २० पदक जितेका छन्। अमेरिकाबाट सहभागी लिलीले सात स्वर्ण, चार रजत र एक कांस्य जित्दै चार राष्ट्रिय कीर्तिमान स्थापित गरेकी छन्। अस्ट्रेलियाबाट सहभागी मिखाले पाँच स्वर्ण र तीन कांस्य जितेका छन्।

एनआरएनएले यस संस्करणमा १९ देशमा रहेका छ महिलासहित ५१ खेलाडीलाई ११ खेलमा प्रतिस्पर्धा गराउँदैछ। पौडी, एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराते, लन टेनिस, टेबलटेनिस, फुलकन्ट्याक्ट कराते र क्रिकेटमा संघको सहभागिता रहेको छ।

नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी एनआरएनए सात स्वर्ण, तीन रजत र पाँच कांस्यसहित नवौं स्थानमा थियो। पोखरामा सम्पन्न नवौं संस्करणमा १२ स्वर्ण, चार रजत र १० कांस्य जित्दै छैटौं स्थानमा उक्लिएको थियो।

यसपटक खेलतालिकामा भएको फेरबदलका कारण भने एनआरएनएका तीन बक्सर प्रतियोगितामा सहभागी हुन पाएनन्। बहराइनबाट आएका पूर्वस्वर्ण पदक विजेता प्रकाश लिम्बूसमेत प्रतिस्पर्धाबाट वञ्चित भएका छन्।

एनआरएन स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाले विगतका संस्करणभन्दा उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा उल्लेखनीय सुधार गर्ने लक्ष्य रहेको बताए।

एनआरएनएका अध्यक्ष हेमराज शर्माले प्रवासमा रहेका नेपाली खेलाडीको प्रतिभालाई राष्ट्रिय खेलकुदसँग जोड्दै नेपालको खेलकुद विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने संघको उद्देश्य रहेको बताए।

पदक प्राप्तिसँगै विदेशमा हुर्किएको नेपाली मूलको दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्ने र अन्तर्राष्ट्रिय अनुभव नेपाली खेलकुदमा हस्तान्तरण गर्ने अवसरका रूपमा एनआरएनएले यस प्रतियोगितालाई लिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button