१४ मंसिर २०८३, आईतवार

दशौं राष्ट्रिय खेलकुद : विभागीय र प्रदेश टोलीबीच तीव्र प्रतिस्पर्धा

ड्रागन मिडिया सम्वाददाता

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय र प्रदेश टोलीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। शनिबार सम्पन्न खेलमा पुरुष क्रिकेटतर्फ बागमती र गण्डकी प्रदेश विजयी भएका छन् भने पुरुष फुटबलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब सेमिफाइनल पुगेका छन्। सहआयोजक कर्णाली प्रदेशले महिला बास्केटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ।

महिला थ्री बाइ थ्री बास्केटबलमा कर्णालीले एपीएफलाई ११–१० अंकले पराजित गर्दै कम्तीमा रजत पदक सुनिश्चित गरेको छ। कर्णालीकी एन्जल गुप्ताले पाँच अंक जोडिन्। अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १५–४ अंकले हराएको छ। स्वर्ण पदकका लागि आइतबार कर्णाली र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

महिला फुलकोर्ट बास्केटबलमा त्रिभुवन आर्मी र एपीएफ फाइनल पुगेका छन्। आर्मीले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गरेको हो।

पुरुष फुटबलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। पुलिसका सुजन बलम्पाखी मगरले निर्णायक गोल गरेका थिए। एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ। एपीएफ सेमिफाइनल पुग्दा सुदूरपश्चिम लिग चरणबाटै बाहिरिएको छ।

पुरुष क्रिकेटमा बागमतीले कोशी प्रदेशलाई ८४ रनले पराजित गरेको छ। बागमतीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७९ रन बनाएको थियो। जवाफमा कोशी १६.३ ओभरमा ९५ रनमै समेटियो। बागमतीका रोशन झाले ६३ र रिनजिन लामाले ५७ रन बनाए। बागमतीको स्कोर जारी प्रतियोगिताकै सर्वाधिक हो।

अर्को खेलमा गण्डकी प्रदेशले गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीलाई पाँच विकेटले पराजित गरेको छ। एनआरएनएले दिएको १२६ रनको लक्ष्य गण्डकीले १४.३ ओभरमा पूरा गरेको हो।

महिला क्रिकेटतर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, बागमती र सुदूरपश्चिम प्रदेश सेमिफाइनल पुगेका छन्। गण्डकीलाई पराजित गरेको सुदूरपश्चिमले रनरेटका आधारमा अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

यसैबीच, फुलकन्ट्याक्ट करातेका विभिन्न तौल समूह तथा काता विधाका प्रारम्भिक चरणका खेल सम्पन्न भएका छन्। बक्सिङमा नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफका खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button