स्थायी आवास सुनिश्चित नभएसम्म आश्रयस्थल नछाड्ने सुकुमवासीको अडान

ड्रागन मिडिया सम्वाददाता
भक्तपुरको बोडेस्थित अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) मा बसिरहेका सुकुमवासी परिवारले जग्गाधनी प्रमाणपुर्जा वा वैकल्पिक आवासको सुनिश्चितता नभएसम्म आश्रयस्थल नछाड्ने अडान लिएका छन्। उनीहरूले भूमि व्यवस्थामन्त्री प्रतिभा रावललाई शनिबार ज्ञापनपत्र बुझाउँदै स्थायी आवास, उचित क्षतिपूर्ति र जीविकोपार्जनको व्यवस्था गर्न माग गरेका छन्।
आश्रयस्थलमा पुगेकी मन्त्री रावलले १५ सुकुमवासी परिवारका समस्या सुन्दै आश्रयस्थल खाली गर्न आग्रह गरेकी थिइन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मन्त्री रावलले चाँडै जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने आश्वासन दिएकी छन्।
सुकुमवासी परिवारले गत वैशाख १२ गते जारी सूचनापछि घरटहरा खाली गर्न बाध्य हुँदा आवास, सम्पत्ति र जीविकोपार्जनका आधार गुमाएको बताएका छन्। घरटहरा भत्काएपछि १५ दिनभित्र व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको उनीहरूको गुनासो छ।
बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीहरू अस्थायी आश्रयस्थलमा कष्टकर जीवन बिताउन बाध्य भएको ज्ञापनपत्रमा उल्लेख छ।
उनीहरूले आश्रयस्थल खाली गराउने सूचना तत्काल फिर्ता लिन, वैकल्पिक आवासको सुनिश्चितताबिना जबर्जस्ती विस्थापन नगर्न तथा प्रत्येक परिवारको वास्तविक भूमि, आवास र आर्थिक अवस्थाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
त्यसैगरी, भत्काइएका घरटहरा, नष्ट भएका सम्पत्ति र गुमेको जीविकोपार्जनका लागि उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विस्थापनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही गर्न माग गरिएको छ।
प्रभावित परिवारले सरकारसँग प्रत्यक्ष संवाद, सहमति र समयसीमासहितको पुनर्स्थापना कार्ययोजना सार्वजनिक गर्नसमेत आग्रह गरेका छन्।
ज्ञापनपत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, भूमि समस्या समाधान समिति र बागमती प्रदेश सरकारलगायत सम्बन्धित निकायलाई पठाइएको छ।





