१४ मंसिर २०८३, आईतवार

पोखरामा दाइँ महोत्सव : कृषि संस्कृतिमा रमाए विदेशी पर्यटक

ड्रागन मिडिया सम्वाददाता

नेपालको परम्परागत कृषि संस्कृति संरक्षण र कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका–२९, नौबिसेटोलमा शनिबार तेस्रो दाइँ महोत्सव सम्पन्न भएको छ। महोत्सवमा विदेशी पर्यटकले धान चुट्ने र गोरु धपाउने लगायतका परम्परागत कृषि गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाएका छन्।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषदको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव सञ्चालन गरिएको हो।

हिमाली दृश्यको पृष्ठभूमिमा गोरु नारेर दाइँ गर्ने, धान चुट्ने र परालबाट गुन्द्री बुन्ने नेपाली मौलिक कृषि परम्परा विदेशी पर्यटकका लागि विशेष आकर्षण बनेको थियो। बेलायत, जापान र चीनका पर्यटकले परम्परागत कृषि गतिविधिमा प्रत्यक्ष सहभागिता जनाउँदै आफ्ना अनुभव साटेका थिए।

चिनियाँ पर्यटकले नेपाल र चीनको परम्परागत कृषि प्रणालीमा समानता रहेको उल्लेख गर्दै बढ्दो यान्त्रिकीकरणका बीच नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिबारे जानकारी गराउनुपर्नेमा जोड दिएका थिए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन विकास प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिमा मात्र सीमित नभई मौलिक संस्कृति, परम्परा र स्थानीय जीवनशैलीसँग पनि जोडिनुपर्ने बताए।

पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पोखरालाई बाह्रै महिना आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्य रहेको बताए।

महोत्सवमा धान चुट्ने, दँदेरी गर्ने, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगितासमेत आयोजना गरिएको थियो। उत्कृष्ट धान उत्पादक किसानलाई सम्मान पनि गरिएको थियो।

बढ्दो शहरीकरण र कृषि यान्त्रिकीकरणका कारण ओझेलमा पर्दै गएको मौलिक कृषि परम्पराको संरक्षण, नयाँ पुस्तामा ज्ञान हस्तान्तरण तथा कृषि पर्यटनको विकासमा महोत्सवले योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button