७५३ स्थानीय तहमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै कांग्रेस

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानका लागि आज प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दैछ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे कार्यक्रम शुरु हुनेछ। अभियानमा खटिने प्रतिनिधिहरूलाई जिम्मेवारी, कार्यदिशा र सञ्चालन प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको कांग्रेसले जनाएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध सबै प्रतिनिधिलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि जुममार्फत सहभागिताको व्यवस्था मिलाइएको छ।
देशभर अभियानलाई एकरूपता, स्पष्ट कार्यदिशा र प्रभावकारी समन्वयका साथ सञ्चालन गर्न अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने कांग्रेसले जनाएको छ।





