पर्यटकीयस्थल छिल्लीकोट जोड्ने सडक स्तरोन्नतिका लागि ६९ लाख विनियोजन

ड्रागन मिडिया सम्वाददाता
दाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नतिका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका–१९ मा अवस्थित छिल्लीकोटसम्म पर्यटकको सहज पहुँच सुनिश्चित गर्न सडक स्तरोन्नति गर्न लागिएको हो।
वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार विजौरी–स्यालापानी–छिल्लीकोट सडक स्तरोन्नतिका लागि तुलसीपुर उपमहानगरपालिकाले २८ लाख र प्रदेश सरकारले ४१ लाख रुपैयाँ विनियोजन गरेका छन्। विनियोजित बजेटबाट सडक विस्तार तथा नाला निर्माण गरिनेछ। कालोपत्रेका लागि भने थप बजेट आवश्यक पर्ने उनले बताए।
छिल्लीकोट पुग्ने दूधरास–सङ्ग्राम र विजौरी–स्यालापानी दुवै सडक कच्ची छन्। दूधरास खण्डमा सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने ट्रकको नियमित आवागमन तथा विजौरी–स्यालापानी खण्डमा साँघुरो र ठाडो उकालोका कारण पर्यटक र स्थानीयबासीले सास्ती खेप्दै आएका छन्।
समुन्द्र सतहबाट करिब एक हजार ४२० मिटरको उचाइमा अवस्थित छिल्लीकोट बाइसे–चौबिसे राज्यकालीन ऐतिहासिक सम्पदाका लागि परिचित छ। यहाँ राजा मेघनाथ शाहको प्राचीन दरबारका भग्नावशेष तथा कालिका र मालिका देवीका मन्दिर छन्। छिल्लीकोटबाट दाङ उपत्यका र उत्तरतर्फका हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
छिल्लीकोटमा घरबास सेवा सञ्चालनमा छन् भने साहसिक पर्यटनका लागि निर्माण गरिएको जीपलाइन सञ्चालनमा आउन बाँकी छ। पछिल्लो समय पर्यटन क्षेत्रमा व्यावसायिक लगानीसमेत बढ्दै गएको छ।
सडक पूर्वाधारमा सुधारसँगै पर्यटकको आगमन बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा स्थानीयबासीले गरेका छन्।





