आठ वर्षको अन्तरिक्ष यात्रा पूरा गर्दै बेपीकोलोम्बो बुध ग्रहको कक्षमा प्रवेश

ड्रागन मिडिया समाचार कक्ष
युरोप र जापानको संयुक्त अन्तरिक्ष अभियान ‘बेपीकोलोम्बो’ आठ वर्ष लामो यात्रा पूरा गर्दै बुध ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ। युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले सन २०२६ नोभेम्बर २१ मा अन्तरिक्षयान बुधको कक्षमा प्रवेश गरेको पुष्टि गरेको हो। एक दशकभन्दा लामो समयपछि बुधको कक्षमा पुग्ने यो पहिलो अन्तरिक्ष अभियान हो।
युरोपेली अन्तरिक्ष एजेन्सी र जापान अन्तरिक्ष अन्वेषण एजेन्सी (जाक्सा) को संयुक्त अभियानअन्तर्गत दुई वैज्ञानिक अन्तरिक्षयान पठाइएका छन्। हाल एकसाथ जोडिएका यी यानलाई आगामी डिसेम्बर ९ र १० मा अलग गर्ने योजना छ। त्यसपछि दुवैले फरक कक्षबाट बुध ग्रहको अध्ययन गर्नेछन्।
ईएसएका अनुसार कक्ष प्रवेशका क्रममा सफ्टवेयरमा समस्या देखिएपछि निर्धारित समयभन्दा अगावै यानको प्रणोदन प्रणाली बन्द भएको थियो। तथापि, अन्तरिक्षयान सुरक्षित रूपमा बुधको कक्षमा स्थापित भएको छ। वैज्ञानिकहरूले आगामी कक्षीय समायोजनको योजना परिमार्जन गरिसकेका छन्।
सन २०१८ अक्टोबर २० मा प्रक्षेपण गरिएको बेपीकोलोम्बोले बुधसम्म पुग्न पृथ्वीको एकपटक, शुक्रको दुईपटक र बुधको छ पटक नजिकबाट उडान गर्दै गुरुत्वाकर्षणको सहायता लिएको थियो।
बुध ग्रहसम्म पुग्ने यो तेस्रो र त्यसको कक्षमा प्रवेश गर्ने दोस्रो अन्तरिक्ष अभियान हो। यसअघि अमेरिकी अन्तरिक्ष संस्था नासाको मेरिनर–१० ले सन १९७० को दशकमा बुधको अध्ययन गरेको थियो। सन २०११ मा बुधको कक्षमा पुगेको मेसेन्जर अन्तरिक्षयानको अभियान सन २०१५ मा समाप्त भएको थियो।
बेपीकोलोम्बोअन्तर्गत युरोपको मर्करी प्लानेटरी अर्बिटर र जापानको मियो अन्तरिक्षयानले बुधको आन्तरिक संरचना, सतह, खनिज संरचना, चुम्बकीय क्षेत्र तथा सौर्य वायुसँगको अन्तरक्रियाबारे अध्ययन गर्नेछन्।
सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहको सतहमा तापक्रम ४३० डिग्री सेल्सियससम्म पुग्ने भएकाले अन्तरिक्षयान र वैज्ञानिक उपकरणलाई सुरक्षित राख्नु प्रमुख प्राविधिक चुनौती हो।
नियमित वैज्ञानिक अनुसन्धान सन २०२७ अप्रिलबाट शुरु गर्ने योजना छ। दुई अन्तरिक्षयानबाट एकै समयमा गरिने अध्ययनले बुध ग्रहको उत्पत्ति, संरचना र विकासक्रमसँगै सौर्यमण्डलको निर्माणसम्बन्धी महत्त्वपूर्ण वैज्ञानिक रहस्य उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





