१४ मंसिर २०८३, आईतवार

स्थानीय निर्वाचनअघि तराईमा राजनीतिक दलहरूको सक्रियता बढ्यो

ड्रागन मिडिया सम्वाददाता

स्थानीय तह निर्वाचनको मिति घोषणा नहुँदै राजनीतिक दलहरूले तराईका जिल्लामा चुनावी तयारी तीव्र बनाएका छन्। सत्तारूढ दलदेखि प्रतिपक्षी दलसम्मले विभिन्न अभियान, पदयात्रा र जनसम्पर्क कार्यक्रममार्फत आफ्नो राजनीतिक प्रभाव विस्तार गर्न थालेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसद सदस्य डा. अमरेशकुमार सिंहले कात्तिक ३० गतेदेखि हुलाकी राजमार्ग हुँदै मेची–महाकाली पदयात्रा सञ्चालन गरिरहेका छन्। उनले आफ्नो अभियान चुनावलक्षित नभई नागरिकका समस्या, आवश्यकता र अपेक्षा बुझ्न केन्द्रित रहेको दाबी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद सदस्य खुश्बु ओलीको नेतृत्वमा तराई केन्द्रित यात्रा सम्पन्न गरेको छ। पार्टीले आफ्ना नीति, विचार र सिद्धान्तबारे जनतालाई स्पष्ट पार्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।

विभिन्न राजनीतिक दलबाट अलग भएका युवाहरूको समूह ‘हुँकार मधेस’ ले नेतृत्व परिवर्तन, पूर्ण समानुपातिक तथा समावेशी निर्वाचन प्रणाली, गैरदलीय स्थानीय निर्वाचन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलगायतका मागसहित हुलाकी यात्रा शुरु गरेको छ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल पनि तराई केन्द्रित अभियानको तयारीमा छ। उपेन्द्र यादव नेतृत्वको अग्रगामी मोर्चाले विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरिरहेको छ भने राष्ट्रिय एकता दलले मंसिर २६ गतेदेखि पदयात्रा शुरु गर्ने जनाएको छ।

तर, दलहरूको बढ्दो राजनीतिक सक्रियताप्रति स्थानीय सामाजिक तथा राजनीतिक अभियन्ताहरूले प्रश्न उठाएका छन्। जनकपुरका अभियन्ता डा. सोहन साहले नयाँ विचार, स्पष्ट कार्ययोजना र विकासका ठोस कार्यक्रमबिना सञ्चालित राजनीतिक यात्राले जनतालाई लाभ नपुर्‍याउने टिप्पणी गरेका छन्।

सप्तरीका शैक्षिक अभियन्ता डा. सूर्य यादव र सिरहाका सामाजिक अभियन्ता रामकुमार यादवले पनि राजनीतिक दलहरूले निर्वाचनका बेला तराईलाई प्राथमिकता दिए पनि शिक्षा, स्वास्थ्य, रोजगारी र आवासका आधारभूत समस्या समाधानमा पर्याप्त ध्यान नदिएको बताएका छन्।

राष्ट्रिय राजनीतिमा तराईको मत निर्णायक मानिने भएकाले निर्वाचनअघि दलहरूको सक्रियता बढ्ने गरेको छ। तर, चुनावी अभियान र राजनीतिक प्रतिबद्धतालाई जनजीवनमा ठोस सुधार ल्याउने कार्यक्रमसँग जोड्नुपर्ने स्थानीय सरोकारवालाको माग छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button