म्यानमारमा सैन्य हवाई आक्रमणबाट दर्जनौं नागरिकको मृत्यु
ड्रागन मिडिया समाचार कक्ष
म्यानमारमा सेनाले विवाह समारोह, विद्यालय तथा आवासीय क्षेत्रमा गरेको हवाई आक्रमणबाट दर्जनौं सर्वसाधारणको मृत्यु भएको छ। पछिल्ला आक्रमणमा विद्यार्थी, शिक्षक र बौद्ध भिक्षुसमेत मारिएका छन्।
बीबीसीका अनुसार दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह समारोह भइरहेको स्थलमा गरिएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।
मध्य म्यानमारको मग्वे क्षेत्रस्थित इन योन गाउँको विद्यालयमा गरिएको अर्को हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको सैन्य शासनविरोधी राष्ट्रिय एकता सरकार (एनयूजी) ले जनाएको छ। मृतकमध्ये विद्यार्थी, शिक्षक र युवा बौद्ध भिक्षुसमेत छन्।
पश्चिमी राखाइन राज्यको म्राउक–यू शहरस्थित आवासीय क्षेत्रमा गरिएको हवाई आक्रमणमा पनि नागरिकको मृत्यु हुनुका साथै कैयौं घाइते भएका छन्। उक्त क्षेत्र सैन्य शासनविरुद्ध संघर्षरत जातीय सशस्त्र समूह अराकान आर्मीको नियन्त्रणमा छ।
सन २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा चर्किएको सशस्त्र द्वन्द्वका कारण नागरिक सुरक्षा र मानवीय अवस्था गम्भीर बन्दै गएको छ।
पछिल्ला आक्रमणबारे म्यानमारको सैन्य नेतृत्वले कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। मानवीय क्षतिको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।





