१४ मंसिर २०८३, आईतवार

कोरला नाकाबाट चार महिनामै १२ अर्ब राजस्व, पूर्वाधार निर्माण अझै अलपत्र

ड्रागन मिडिया सम्वाददाता

नेपाल–चीन व्यापारको महत्त्वपूर्ण वैकल्पिक मार्गका रूपमा स्थापित मुस्ताङको कोरला नाकामा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको झन्डै चार वर्ष बितिसक्दा पनि प्रस्तावित एकीकृत पूर्वाधार निर्माण शुरु हुन सकेको छैन। व्यापारिक कारोबार र राजस्व सङ्कलन उल्लेखनीय रूपमा बढे पनि आवश्यक पूर्वाधारको अभावमा नाका व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

सरकारले २०७९ फागुनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा चौकी निर्माणका लागि विस्तृत परियोजना अध्ययन अघि बढाएको थियो। एक करोड रुपैयाँ लागतमा सितारा इन्टुसीप–फुलराइट जेभीले भौगर्भिक अध्ययन तथा माटो परीक्षणसहित प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको थियो।

गत आर्थिक वर्षमा कोरला नाकाबाट छ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामै राजस्व सङ्कलन १२ अर्ब रुपैयाँ नाघेको छ। पछिल्लो समय दैनिक ६० देखि ७० कन्टेनर र करिब १०० विद्युतीय सवारीसाधन यस नाकाबाट नेपाल भित्रिने गरेका छन्।

तातोपानी र रसुवागढी नाका बन्द रहेका कारण कोरलामा व्यापारिक चाप थप बढेको छ। सुक्खा बन्दरगाह, व्यवस्थित पार्किङ र चार्जिङ केन्द्रको अभावमा कन्टेनर सडकमा तथा विद्युतीय सवारीसाधन खोला किनार र भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले कोरला नाकालाई व्यवस्थित व्यापारिक तथा पारवहन केन्द्रका रूपमा विकास गर्न सरकारले तत्काल पूर्वाधार निर्माण अघि बढाउनुपर्ने बताएका छन्।

कोरला क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको छ। न्हेचुङमा भन्सार, अध्यागमन तथा सुरक्षा निकायका लागि छुट्टै जग्गा व्यवस्था गरिएको भए पनि भन्सार र अध्यागमन कार्यालयका भवन निर्माण हुन सकेका छैनन्। सशस्त्र प्रहरीले भने आफ्नो भवन निर्माण सम्पन्न गरिसकेको छ।

यसै साता कोरला नाकाको निरीक्षणमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिसमक्ष स्थानीय जनप्रतिनिधिले राजस्व सङ्कलनसँगै पूर्वाधार निर्माण र बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई प्राथमिकता दिन माग गरेका छन्।

नेपाल–चीन व्यापार विस्तार, पारवहन विविधीकरण तथा गण्डकी प्रदेशको आर्थिक विकासका दृष्टिले महत्त्वपूर्ण कोरला नाकाको बढ्दो व्यापारिक सम्भावनाअनुरूप पूर्वाधार विकास गर्न सरकारमाथि दबाब बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button