पार्टीको नीति र अनुशासनविपरीत काम गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौं : सभापति थापा

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नीति, नियम, अनुशासन र घोषणापत्रविपरीत काम गरे फिर्ता बोलाउने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौं’ अभियानअन्तर्गत आइतबार आयोजित अभिमुखीकरण कार्यक्रममा थापाले आगामी स्थानीय निर्वाचनका उम्मेदवारले टिकट प्राप्त गर्दा नै पार्टीको नीति तथा अनुशासन पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए।
उनले आर्थिक अनियमिततामा संलग्न हुने जनप्रतिनिधिलाई पदबाट हटाउने पार्टीको नीति रहने स्पष्ट पारे।
स्थानीय सरकार सञ्चालनलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिको पाँच वर्षसम्म नियमित अनुगमन, मूल्याङ्कन र सहजीकरण गर्ने उद्देश्यले पार्टीले ‘गभर्नेन्स इन्स्टिच्युट’ स्थापना गरेको पनि उनले जानकारी दिए।
सभापति थापाका अनुसार उपसभापति पुष्पा भुसालको नेतृत्वमा रहेको निर्वाचन ब्युरोले आगामी स्थानीय निर्वाचनका लागि देशभरका ७५३ स्थानीय तहमध्ये केहीमा तथ्याङ्कमा आधारित प्रारम्भिक सर्वेक्षण गरिसकेको छ।
कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया परिवर्तन गर्दै सम्बन्धित तहका क्रियाशील सदस्यलाई डिजिटल मतदानमार्फत उम्मेदवार छनोटमा सहभागी गराउने योजना अघि सारेको छ।
थापाले उम्मेदवार छनोटमा पार्टीका तल्लो तहका समिति र क्रियाशील सदस्यको अधिकार तथा भूमिका बढाइने बताएका छन्।





