नेपालमा सबैभन्दा धेरै चीनबाट छाता आयात

नेपाली बजारमा बर्सेनि औसतमा ४५ लाखभन्दा बढी छाता भित्रने गरेको छ। पछिल्ला पाँच वर्षको छाता आयातको विवरण हेर्दा यसको माग क्रमिक रूपमा बढेको देखिन्छ। तीन वर्षयता यसको माग अझ तीव्र रूपमा बढेको तथ्याङ्कले पुष्टि गर्दछ। बर्सेनि लाखौँ छाताको माग हुने भए पनि मुलुकभित्र यसको उत्पादन भने हुने नगरेको गोरखापत्रअनलाइले लेखेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना नेपालले ४६ लाख ५६ हजार थान छाता आयात गरेको छ । यसमा छाताका लागि आवश्यक प्रेम, डन्डी र टेलिस्कोप छाता जोडिएको छैन । त्योसमेत जोड्दा छाता आयातको सङ्ख्या थप ५० हजार थानले बढ्छ । वर्षायाम सुरु हुन थालेको चालु आवको बाँकी एक महिनामा पनि यसको आयात थप बढ्ने देखिन्छ । छाता मात्र आयात गर्दा नेपालबाट ११ महिनामा ६२ करोड रुपियाँ बाहिरिएको छ । छाता आयातबापत सरकारले साढे १८ करोड रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।
गत आवमा नेपालले ५२ लाख ३१ हजार छाता आयात गरेको थियो जसबापत ६५ करोड रुपियाँ नेपालबाट बाहिरिएको छ । त्यसअघि आव २०७९/८० मा ४९ लाख २७ हजार थान छाता आयात गर्दा ६० करोड रुपियाँ खर्च भएको छ । परिणामको हिसाबले छाता आयात त्यसअघिका वर्षमा केही कम नै देखिन्छ । यद्यपि आयातको प्रवृत्ति भने बढ्दो नै छ ।
भन्सार विभागका अनुसार आव २०७८/७९ मा ३३ लाख ६३ हजार थान छाता आयात हुँदा ३६ करोड रुपियाँ बाहिरिएको थियो । त्यसअघि आव २०७७/७८ मा २९ लाख ४९ हजार छाता आयात हुँदा करिब ३१ करोड रुपियाँ नेपालबाट बाहिरिएको तथ्याङ्कले देखाउँछ ।
तथ्याङ्क अनुसार पछिल्ला पाँच वर्षमा मात्रै नेपालले दुई करोड ११ लाख थान आयात गरेको छ । यसबापत नेपालबाट दुई अर्ब ५४ करोड रुपियाँ बाहिरिएको छ । नेपालमा सबैभन्दा धेरै छिमेकी मुलुक चीनबाट छाता आयात हुने गर्छ । विभागको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा आयात हुने कुल छातामध्ये ९० प्रतिशत हिस्सा चीनले नै ओगट्छ । यसबाहेक बाँकी एक दर्जन देशबाट पनि नेपालमा छाता आयात भएको भन्सार विभागले जनाएको छ । भारत, थाइल्यान्ड, मलेसिया नेपालले छाता आयात गर्ने अन्य प्रमुख देशमा पर्छन् । यसबाहेक अस्ट्रेलिया, कम्बोडिया, इजरायल, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, ब्रुनाईबाट पनि थोरै परिणाममा छाता आयात भएको देखिन्छ ।
छाता आयात गर्दा मुलुकबाट बर्सेनि करोडौँ रुपियाँ पनि बाहिरिन्छ । ठुलो प्रविधि पनि आवश्यक नपर्ने र कम जनशक्तिबाटै पनि छाता बनाउन सकिने भए पनि नेपालभित्र एउटा पनि छाता उद्योग छैन । विगतमा राजधानीका न्युरोड तथा असनमा ठुलो सङ्ख्यामा छाता एसेम्बल गर्ने, मर्मत गर्ने पसल सञ्चालनमा रहे पनि अहिले तिनको समेत अस्तित्व छैन । छातालक्षित ठुला पसल पनि धेरै छैनन् ।
बजार भए पनि उद्योगी छाताकै लागि नेपालमा उद्योग सञ्चालनको अवस्था भने देख्दैनन् । छाता उद्योग तुलनात्मक लाभको वस्तु नहुँदा पनि यस्तो उद्योग सञ्चालन प्राथमिकतामा नपर्ने नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष एवं स्वदेशी वस्तु प्रवर्धनका लागि संस्थाले गठन गरेको ‘मेक इन नेपाल–स्वदेशी नीति’ समितिका संयोजक वीरेन्द्रराज पाण्डे बताउनुहुन्छ । “कुनै पनि उद्योग सञ्चालन गर्दा त्यसको उत्पादन लागत, प्रतिस्पर्धात्मकता र तुलनात्मक लाभ हेर्ने गरिन्छ,” उहाँले भन्नुभयो, “त्यसो नहुँदा लगानी गर्ने अवस्था हुँदैन ।” छाताको सन्दर्भमा पनि मुलुकभित्र उत्पादन गर्दाभन्दा आयात नै सस्तो हुने र लागत पनि कम पर्ने भएकोले यसको उद्योग सञ्चालन गर्ने प्राथमिकतामा नपरेको हुन सक्ने उहाँको भनाई छ । नेपालमा आयात हुने छातामध्ये अधिकांश चीनबाट नै आयात हुने र त्यहाँको बजारबाट सस्तोमै नेपालमा ल्याउन सकिने हुँदा पनि मुलुकभित्र छाता उद्योग सञ्चालनमा नआएको हुन सक्ने उहाँको अनुमान छ ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button