चिया निर्यात ४० प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ। कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा निर्यात तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजार पुगेको छ।
चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभएको छ। गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो।
कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/८२ को जेठ मसान्तसम्म अलैँची निर्यात तीन दशमलव ८० प्रतिशतले घटेको छ। चालु आवको ११ महिनामा रु सात अर्ब १८ करोड १० लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको छ। गत आव २०८०/८१ को सोही अवधिमा रु सात अर्ब ४६ करोड ६८ लाख ७६ हजारको अलैँची निर्यात भएको थियो।
तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ६७ प्रतिशत, फलामेपाता नौ दशमलव ६, प्लाइउड ११ दशमलव ६० प्रतिशत र मोलासिस निर्यातमा ४०० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ।
यसैगरी, सिमेन्ट क्लिङ्कर १२ दशमलव ६० प्रतिशत, अदुवा ५९ दशमलव ७० प्रतिशत, अम्रिसो १५ दशमलव दुई प्रतिशत र छुर्पी निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको छ। मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजारको मालवस्तु निर्यात भएको राससले जनाएको छ।





