विश्व जनसङ्ख्या दिवसका अवसरमा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक

जुलाई ११ तारिख विश्व जनसङ्ख्या दिवस हो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइएको छ।
राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो। सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ। जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ। सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ।
यद्यपि, विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ। राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले चौध देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ।
यसै बीच, विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र जनसङ्ख्याको गतिसँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न समेत आग्रह गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
“मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ। जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन। हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्छ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन। कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरु यो धन्दा छोड। जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनासका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन। जनसाङ्ख्यिक असन्तुलनलाई कायम रहन दिनुहुँदैन।”
प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्मिन आग्रह गर्नुभयो।
उहाँले सन्ताले डाँडाकाँडा ढाकुन् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गर्दै विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो।





