भोटेकोशीको बाढीले ३५० मेगावाटको जलविद्युत् आयोजना निर्माण रोकियो

भोटेकोशीमा गत मंगलबार आएको बाढीले ३५० मेगावाट भन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको निर्माण कार्य रोकिएको छ। बाढीका कारण २५० मेगावाट बराबरको जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादहकरुको संस्था, नेपाल (इप्पान) ले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।
‘बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत् आयोजनाको उत्पादन बन्द र ३५० मेगावाट भन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको छ,’ इप्पानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
इप्पानका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए जलविद्युत्, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ। यसमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३बी हब सबस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो।
‘देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत् आयोजना हुन्,’ इप्पानको विज्ञप्तीमा उल्लेख छ।
निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ।
त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण उत्पादन हुने विद्युत आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने इप्पानले जनाएको छ।





