तिलौराकोट विश्व सम्पदा सूचीमा पर्ने संभावना

फ्रान्सको राजधानी पेरिसमा जारी युनेस्कोको वार्षिक बैठकमा प्रस्तुत नेपालको तिलौराकोटलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्ने एजेण्डाले मूर्तरुप लिने सम्भावना बढ्दो छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को को इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स आइसीएमएस सिफारिस समितिले तिलौराकोटलाई सूचीकृत गर्न नेपाल सरकारलाई सात बुँदे निर्देशन दिएको जनआस्था अनलाइनले लेखेको छ।
यसबाट प्राचीन शाक्यवंशी राज्यको पुरातात्विक दरबारको अवशेषलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्ने नेपालको प्रयासले मूर्तरुप लिने सकारात्मक संकेत देखिएको छ। तिलौराकोटको ऐतिहासिक महत्वलाई थप प्रष्ट पार्न दुई मुख्य पुरातात्विक अनुसन्धानहरू आवश्यक रहेको जनाइएको छ। पहिलोमा उक्त दरबार क्षेत्रको वैज्ञानिक अनुसन्धान पूरा गरी यसको मिति निर्धारण र ऐतिहासिकता पुष्टि गर्नुपर्नेछ। दोस्रो,बुध्दको जीवनसँग सम्बन्धित धार्मिक संरचनाहरूमा थप अध्ययन गर्दै आदिमकालदेखि नै तिलौराकोटमा तीर्थयात्रा भइरहेको प्रमाणित गर्नुपर्ने छ।
इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्सले तिलौराकोटको नामांकनलाई सन् १९९७ मा सूचीकृत लुम्बिनी, भगवान बुध्द जन्मस्थलको महत्वपूर्ण सीमा परिमार्जनलाई पुनः पेश गर्न सुझाव दिएको छ। उक्त प्रस्तापछि युनेस्को टोलीले स्थलगत निरीक्षण गर्ने छ।
सूचीमा पर्नुअघि गर्नुपर्ने कार्यबारे चार वटा अतिरिक्त सुझाव पनि दिइएको छ। पहिलो, तिलौराकोट क्षेत्रलाई बाढीको सम्भावित जोखिमबाट जोगाउन जल प्रवाहसम्बन्धी मोडलिङ गर्नुपर्ने,बफर जोनमा पुरातात्विक जोखिम नक्साङ्कन पूरा गर्नुपर्ने,विकास परियोजनाहरू अघि सम्पदा प्रभाव मूल्याङ्कन अनिवार्य रहेको र त्यो प्रक्रिया युनेस्कोको अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने उल्लेख छ।
त्यस्तै कुनै पनि विकास कार्यअघि यस्ता मूल्याङ्कन कार्य सम्पदा क्षेत्र तथा आसपासका पुरातात्विक सम्भावना रहेको भू–भागमा अनिवार्य रूपमा गरिनुपर्ने युनेस्कोको सुझाव छ। ती सुझावलाई तिलौराकोटको विश्व सम्पदासूचीमा सूचीकरणतर्फ मार्गचित्रको रूपमा लिइएको छ। यता,नेपाल सरकारले आवश्यक अनुसन्धान,अध्ययन र व्यवस्थापन योजना सुधार गरेर संशोधित नामांकनको प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको छ।
यसअघि लुम्बिनी र गौतम बुध्दसँग सम्बन्धित प्रमुख स्थानको रुपमा उत्खनन् र ऐतिहासिक प्रमाणका आधारमा तिलौराकोटलाई पनि विश्व सम्पदासूचीमा सूचीकृतका लागि नेपालले गरेको प्रयासमा भारतले भाँजो हाल्न खोजेको थियो। बैठकमा भारतीय अधिकारीहरुले तिलौराकोटको परिचयमा कपिलवस्तु जोड्न नपाइने अडान राखेका थिए। यस्तो अवस्थामा “कपिलवस्तु“ भन्ने शब्द झिकेर भए पनि “तिलौराकोट“लाई प्राचीन सम्पदासूचीमा राख्न लगाउनुपर्ने हो कि भन्ने दोमनमा केही दिनअघि एकाध नेपाली प्रतिनिधिसमेत पुगेको खबर बाहिरिएको थियो।
बुध्दको अस्तु धातु र बुद्धसँग सम्बन्धित केही स्थान अहिलेको भारतमा रहेको सन्दर्भलाई जोड्दै भारतले लुम्बिनी,तिलौराकोट र कपिलवस्तुको महत्वलाई संकुचित पार्ने प्रयास गरेको धेरैले बुझेका थिए। गौतम बुद्धको बाल्यकाल र यौवनकाल बितेको शाक्यवंशीय दरबार रहेको स्थान तिलौराकोटलाई विश्व सम्पदा सूचीमा पर्नबाट रोक्न भारतले गरेको व्यवहार अशोभनीय भएको सहभागी अन्य मुलुकका प्रतिनिधिहरुले पनि ठानेका छन्।
यसअघि जर्मन विशेषज्ञहरुले धेरै वर्षको उत्खननपछि तिलौराकोटको ऐतिहासिक र प्राचीन पक्षलाई सप्रमाण उजागर गरिदिएका थिए। यसले बुद्धसँग सम्बन्धित अर्को ऐतिहासिक सम्पदा पनि नेपालमा छ भन्ने मान्यतालाई पुष्टि गरेपछि बुद्धलाई सोलोडोलो भारतीय देखाउने मनशाय र प्रयास भारतीय अधिकारीहरुको रहँदै आएको थियो। जबकि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक दशकअघि नेपाल भ्रमणको क्रममा संसदलाई सम्बोधन गर्दै बुद्ध नेपालमा जन्मेको र नेपाल बुद्धभूमि रहेको बताएका थिए। उक्त सम्बोधन रेकर्डमा सुरक्षित छ। तर,भारतले प्राचीन प्रमाण र सत्यबारे सानो चित्त देखाउँदा फ्रान्समा केही दिनअघि समस्या उत्पन्न भएको हो।





