गुल्मीमा असारमै ढकमक्क सयपत्री

गुल्मीमा असारमै सयपत्री फूल ढकमक्क फुलेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–६, सिमाघाटमा कृषक प्रेम नेपालीले बेमौसमी सयपत्री फूल उत्पादन गर्नुभएको हो। सामन्यतया दसैँतिहारमा सयपत्री फुल्ने भए पनि नेपालीले असारमै फुलाएर बेमौसमी उत्पादन सम्भव रहेको उदाहरण प्रस्तुत गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
करिब दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाउनुभएका नेपालीको बगैँचामा अहिले फूल फुलिरहेका छन्। बेमौसमी सयपत्री फूलको माग विवाह, पूजाआजा, विशेष समारोहमा यसको प्रयोग हुने नेपालीले बताउनुभयो। मौसमी समयभन्दा बाहिर फूल उत्पादन गर्दा बजारमा प्रतिस्पर्धा कम हुने र मूल्य राम्रो पाइने भएकाले बेमौसमी सिजनमा फूल उत्पादन गरेको उहाँको भनाइ छ।
सयपत्री फूल सफलतापूर्वक बेमौसमी रूपमा फुलाउनका लागि नेपालीले आधुनिक कृषि प्रविधिको प्रयोग गर्नुका साथै मलजल व्यवस्थापन, सिँचाइको व्यवस्था, किरा नियन्त्रण र उन्नत बिउ प्रयोग गर्दै फूल बगैँचा व्यवस्थित बनाएको उहाँले बताउनुभयो। नेपालीले उत्पादन गरेको फूल स्थानीय बजारसँगै तम्घास पठाउने योजना छ।
करिब १२० रोपनी खेत लिजमा लिएर विगत १० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका नेपालीले चार वर्षदेखि सिजनको समयमा उहाँले फूल खेती गर्दै आएको बताउनुभयो। आफूले गरेको व्यवसायबाट आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।
पछिल्लो समयमा युवा विदेश जाने लहर नै चलिराखेको समयमा उहाँले युवालाई विदेश नजान र स्वदेशमै श्रम गर्नका लागि आग्रह गर्नुभएको छ।
विदेशमा गएर गर्ने श्रम नेपालमै गरेमा राम्रो आम्दानी गर्न सक्ने उहाँले सुझाव दिनुभयो। नेपालीले मौसमी र बेमौसमी गरी १२ जनालाई रोजगारी प्रदान गर्दै आएको बताउनुभयो।





