यस वर्ष नेपालमा काठको उत्पादन वृद्धि

यस वर्ष काठको उत्पादन बढेको छ। काठको उत्पादन बढेको विषयलाई वन तथा वातावरण मन्त्रालयले आफ्नो महत्त्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरेको छ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको एकवर्षे कार्यकाल पूरा भएको अवसरमा मन्त्रालयले उपलब्धि हासिल गरेका प्रमुख काममध्ये काठ उत्पादन बढेको विषयलाई प्राथमिकताको साथ राखिएको छ। मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा तीन करोड रूपैयाँ बराबरको मात्र उत्पादन भएको थियो। आव २०८२/८३ को जेठ मसान्तसम्ममा तीन करोड ३५ लाख क्युफिट काठ उत्पादन भएको छ। ११ महिनामा ३५ लाख क्युफिट काठ बढेको मन्त्रालयको भनाइ छ।
वनको दिगो व्यवस्थापन गरी वनमा भएका ढलेका, सुकेका र बुढा रुख संकलन गरी काठ दाउराको उत्पादन बढाउने, काठ दाउराको आपूर्ति गर्ने र फर्निचर लगायत वनजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई सरल रूपमा कच्चा पदार्थ उपलब्ध गराउने नीति अनुरूप काठको उत्पादन बढेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार दिगो वन व्यवस्थापन भएको क्षेत्रफल चालु आवमा एक लाख हेक्टर पु¥याउने लक्ष्य राखेकोमा हालसम्म शतप्रतिशत प्राप्त भएको छ। मन्त्रालयका अनुसार यस वर्ष वनमा उद्यमशीलता तथा रोजगारीमा उल्लेख्य प्रगति भएको छ।
अहिलेसम्ममा ४१ हजार व्याक्ति अथवा एक करोड ४८ लाख ४२ हजार श्रमदिन बराबरको रोजगारी प्रदान गरिएको छ। सन् २०२० सम्म ४५.३१ प्रतिशत रहेको वन क्षेत्र सरकार र समुदायद्वारा संरक्षण तथा व्यवस्थापन गरी ४६.०८ प्रतिशत पुगेको नागरिकन्यूज डटकममा खबर छ ।
भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा पाँच अर्ब १२ करोड ६३ लाख ५२ हजार रूपैयाँको काठ र काठजन्य सामग्री आयात भएको थियो। चालु आवको २०८१/८२ को पुस मसान्तसम्म दुई अर्ब ३९ करोड ४२ लाख ४७ हजार रूपैयाँको काठ आयात भइसकेको तथ्यांक विभागसँग छ।
सरकारले हरेक वर्ष जसो काठ आयातलाई न्यून गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गर्नेगर्छ तर यो घोषणा धेरैजसो कागजमै सीमित हुने गथ्र्यो। यस वर्ष भने केही उपलब्धि देखिएको छ।
‘नेपालको धन, हरियो वन’ भनेर धेरै अघिदेखि भनिँदै आएको छ तर काठजन्य उत्पादनमा परनिर्भरता बढ्नु चिन्ताको विषय हो। वन विभागको तथ्यांकअनुसार कुनै बेला १४ लाख क्युफिटसम्म नेपालमा काठ आयात गरिएको थियो। आव २०७८/७९ मा नेपालमा विभिन्न देशबाट सात लाख आठ हजार २९३ क्युफिट र आव २०७९/८० को वैशाखसम्म १४ लाख ६ हजार १७७ क्युफिटसम्म काठ आयात भएको थियो।
वन विभागका अनुसार आव २०७४/७५ मा नेपालले करिब दुई अर्ब रूपैयाँ बराबरको काठ आयात गरेको थियो। त्यसपछि बर्सेनि काठ आयात बढ्दै गएको छ। आव २०७८/७९ मा सात अर्ब ४४ करोड ७८ लाख ७९ हजार रूपैयाँबराबार काठ आयात भएको थियो।
नेपालले लाइबेरिया, इन्डोनेसिया, मलेसिया, म्यान्मार, लाओस, जर्मनी, सुरिनाम, अमेरिकालगायतका देशबाट काठ आयात गर्दै आएको छ। सरकारले चिरान र गोलिया गरी दुई प्रकारका काठ आयात गर्दै आएको छ। विज्ञहरू वनलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्न सके काठमा आत्मनिर्भर हुने मात्र होइन, नेपालले विभिन्न देशमा निर्यात गरेर वर्षमा अर्बौ रूपैयाँ आम्दानी गर्न सक्ने बताउँछन्।
CGTN





