भारतको कूटनीतिक व्यवहार र नेपाली आत्मसम्मान

# मुना चन्द

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, राजनीतिक, व्यापारिक र सामाजिक सन्दर्भमा निकै गहिरो रहँदै आएको छ। तर, यो सम्बन्ध सधैं समानताको आधारमा चलेको छ भन्न सकिन्न। पछिल्ला केही दशकको घटनाक्रमलाई नियाल्दा भारतले नेपालको सार्वभौमिकता, कूटनीतिक गरिमा र निर्णय लिने स्वतन्त्रता प्रति सतर्कता भन्दा पनि प्रभाव जमाउने नीति अपनाउँदै आएको देखिन्छ। नेपाली प्रधानमन्त्रीहरू र अन्य उच्चपदस्थ व्यक्तिहरूको भारत भ्रमण र भारतबाट आउने उच्च अधिकारीहरूको नेपाल भ्रमणमा देखिएको व्यवहारगत अन्तर, खासगरी कूटनीतिक मर्यादाको सन्दर्भमा उठेका प्रश्नहरू गम्भीर चिन्ताको विषय हुन्।

उपरखुट्टी कूटनीति : भारतको रणनीतिक व्यवहार

नेपालमा गणतन्त्र स्थापनापछि भारतको नेपालप्रतिको कूटनीतिक व्यवहार झनै हेपाहा शैलीमा परिणत हुँदै गएको देखिन्छ। भारतीय विदेशमन्त्री मात्र होइन, सचिव र सहसचिवले समेत नेपाली प्रधानमन्त्रीसँग “उपरखुट्टी” लगाएर भेट गर्नु कुनै संयोग मात्र होइन, यो भारतको जानाजान अपनाइएको “सफ्ट पावर” को मनोवैज्ञानिक रणनीति हो। भेटघाटको शैली र शारीरिक हाउभाउ (body language) कुनैपनि कूटनीतिक भेटमा गहिरो अर्थ राख्दछ। त्यसकारण, सहसचिव तहको अधिकारीले प्रधानमन्त्री स्तरको व्यक्तिसँग छलफल गर्नु, त्यो पनि शारीरिक भाषामा शिष्टता नदेखाउनु, अस्वाभाविक मात्र नभई अपमानजनक पनि हो।

यस्ता क्रियाकलापले नेपाल-भारत सम्बन्धलाई असन्तुलित बनाउँछ र नेपाली जनमानसमा भारतप्रतिको असन्तोष बढाउँछ। तर, यस्तो व्यवहारका लागि भारत मात्र दोषी छैन हामी नेपाली आफैं पनि त्यति नै जिम्मेवार छौं। किनभने हामीले आत्मसम्मान र राष्ट्रियताको भावना लत्याएर, भारतका कूटनीतिक व्यवहारलाई सामान्य मानेर, बारम्बार झुक्न थालेका छौं।

आत्मनिर्भरतालाई तिलाञ्जली !

नेपालको राजनीतिक नेतृत्वले दशकौंसम्म भारतप्रति आवश्यकता भन्दा बढी निर्भरता देखाउँदै आएको छ। चाहे त्यो व्यापार होस्, नीति निर्माण, सरकार गठन, सरकार ढाल्ने प्रक्रिया वा विदेशनीति सबैमा भारतीय हस्तक्षेपको छायाँ देखिनु आफैंमा हाम्रो असक्षमता र परनिर्भरता झल्काउँछ।

भारतले गराएको होइन, हामीले आफैं भारतलाई आह्वान गरेर ल्याएका हौं। सत्ताको मोहमा राष्ट्रहितलाई बेचेका हौं। जब प्रधानमन्त्री स्तरका व्यक्तिहरू भारत भ्रमणको लागि महिनौं दौडधूप गर्छन्, र भारतबाट निमन्त्रणा नपाउँदा मानसिक तनावमा पर्छन्, त्यो राष्ट्रियता होइन, त्यो आत्मसमर्पण हो।

ट्रम्पले जेलेन्स्कीलाई हप्काएझैं भारतीय सचिवले प्रधानमन्त्रीसँग गफ गर्न आए भने त्यो हाम्रो कमजोरी हो। किनभने हामी आफैंले भारतलाई त्यो अधिकार दिएका छौं। जब प्रधानमन्त्रीले स्वदेशमा लिएको निर्णय भारतको सहमतिबिना लागू गर्न सक्दैनन्, तब उपरखुट्टी मात्रै होइन, थप अपमानित व्यवहार पनि सहन बाध्य हुनुपर्ने अवस्था आउँछ।

आरजुको दिल्ली यात्राः एक व्यक्तिगत प्रयास कि संस्थागत कमजोरी?

डा. आरजु देउवाको भारतमा गरिएको दौडधूप नेपाली प्रधानमन्त्रीको “इज्जत” जोगाउन गरिएको भनेर टिप्पणी गरिएको छ। यहाँ प्रश्न उठ्छ के एक सार्वभौम राष्ट्रको प्रधानमन्त्रीको गरिमा कायम राख्न परराष्ट्रमन्त्री आरजुले दिल्लीका गल्ली चहार्नुपर्ने हो? के यसले नेपाल सरकार, परराष्ट्र मन्त्रालय वा प्रधानमन्त्री कार्यालयको औपचारिकता र सक्षमतामा प्रश्नचिह्न खडा गर्दैन?

यसरी व्यक्तिगत पहुँचलाई संस्थागत कूटनीतिको विकल्प बनाउनु आफैंमा दुर्भाग्यपूर्ण हो। यस्तो अभ्यासले नेपालको परराष्ट्र नीतिलाई ‘सिस्टम’ भन्दा ‘सम्बन्ध’मा निर्भर बनाएको छ, जसले दीर्घकालीन हितमा नोक्सानी मात्र पुर्‍याउँछ।

गद्दाफी शैलीको आत्मसम्मान : सिक्न लायक पाठ

लिबियाका पूर्व राष्ट्रपति गद्दाफीले आफ्नो आत्मसम्मान जोगाउन विदेशी पाहुनालाई होचो ढोका भएको टेन्टमा भेट्थे। यो केवल पाखण्ड होइन, एक मनोवैज्ञानिक रणनीति थियो, जसले उनी आफ्नै भूमि, आफ्नै हैसियत र गर्वको परिचय दिन्थे। नेपालले पनि आफ्नो कूटनीतिक अभ्यासमा गद्दाफी शैलीको आत्मगौरव देखाउनुपर्ने अवस्था आइसकेको छ। विदेशी पाहुनासँग समानताको आधारमा व्यवहार गर्न सक्ने साहस, आत्मबल र सोच राख्नु पर्दछ।

“ऐतिहासिक नक्सा”को बेमौसमी नारा

नेपाल सरकारले ल्याएको “चुच्चे नक्सा”लाई राजनीतिक नक्सा नभई ऐतिहासिक नक्सा भन्नु आफैंमा एक खिसीट्युरी हो। ऐतिहासिकता प्रमाणित गर्नुभन्दा बढी नाटकीय शैलीमा “फोटोसहितको करेन्सी छपाउन” भन्ने सोच व्यंग्यात्मक जस्तो लागे पनि यसमा सत्यको अंश छ, राजनीतिक निर्णयहरू केवल जनभावनालाई रिझाउने साधन बन्न थालेका छन्।

यदि नक्सा साँच्चिकै आत्मसम्मानको विषय हो भने, त्यसलाई ऐतिहासिक वा राजनीतिक भन्नुको सट्टा अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रस्तुत गर्नुपर्छ, कूटनीतिक छलफलमार्फत समाधान खोज्नुपर्छ। संसदमा उठेका प्रश्नहरूबाट प्रधानमन्त्रीको पन्छिन खोज्ने प्रवृत्ति, राष्ट्रिय मुद्दालाई नाटक बनाएर प्रस्तुत गर्ने प्रचलनले हाम्रो आन्तरिक कमजोरीलाई झनै गहिरो बनाइरहेको छ।

समाधान कहाँ छ?

आत्मनिर्भरता बढाउनैपर्छ: आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा भारतमा निर्भरता घटाउन नीति निर्माण गर्नुपर्छ। साना-मझौला उद्योग, कृषि आत्मनिर्भरता, वैकल्पिक व्यापार मार्ग (चीन वा बंगलादेश) विकास गर्नु अनिवार्य छ।

परराष्ट्र नीति पुनःसंरचना: देशको परराष्ट्र नीति स्पष्ट, दिगो र स्वाभिमानी हुनुपर्छ। भारतसँगको सम्बन्ध सद्भावमै आधारित होस्, तर समानताको आधारमा।

कूटनीतिक प्रशिक्षण र मर्यादा: कूटनीतिक आचरण र मर्यादामा कसैको खुट्टा हेर्ने होइन, आफ्नो पौरख देखाउने समय आएको छ। ‘क्रस्ड लेग डिप्लोमेसी’ को जवाफ ‘क्रस्ड हार्ट नेसनलिज्म’ बाट दिनुपर्छ।

राष्ट्रियता नारा होइन, अभ्यास हो: राष्ट्रियताका नाममा नारा लगाउनु होइन, ठोस कदम चाल्न सक्नुपर्छ चाहे त्यो संसदमा जवाफदेही बन्नु होस् वा अन्तर्राष्ट्रिय मञ्चमा नेपालका हितहरू प्रष्ट राख्नु।

निष्कर्ष :

भारतको कूटनीतिक व्यवहारलाई बदल्न भारतलाई भनिरहनु पर्दैन, आफू बदल्न सकियो भने नै भारतले व्यवहार बदल्नेछ। परनिर्भरता हटाएर आत्मनिर्भरता, आत्मसमर्पण हटाएर आत्मगौरव, र सम्बन्धको ‘पर्खाल’ हटाएर सम्मानित सहकार्य बनाउने हो भने मात्र नेपाल साच्चै सार्वभौम बन्न सक्छ।

नेपालको प्रधानमन्त्रीलाई भेट्न सहसचिव आएर उपरखुट्टी लगाउँछन् भने त्यो भारतको होइन, हाम्रो आत्मसम्मानको पराजय हो। अब गुनासो होइन, निर्णय लिने समय आएको छ। देशभक्तिले अब भाषण होइन, व्यवहार खोजिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button