तपाईं हामी कति मूर्ख ! एउटा ऐतिहासिक दृष्टिकोण र चेतनाको पुकार

# संकेत किराँती

इतिहासलाई बुझ्ने, त्यसबाट सिक्ने र यथार्थका आँखाले वर्तमान हेर्ने सामर्थ्य हामी नेपालीमा कहिल्यै प्रष्टसँग देखिएन। यही कमजोरीका कारण हामी विगतका भूलहरूलाई पुन: पुन: दोहोर्याइरहेका छौं। ‘तपाईं हामी कति मूर्ख’ भन्ने प्रश्न केवल भावनात्मक होइन, चेतनात्मक पुकार पनि हो। यो लेख यही ऐतिहासिक बोधको सन्दर्भमा आधारित छ, खासगरी अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले भारतलाई दिइएको नेपाली सैन्य सहयोग र त्यसको पृष्ठभूमिमा लुकेको यथार्थबोधको प्रसङ्गमा।

नेहरूको शासन बचाउन पठाइएको नेपाली सेना

१९५० को दशकमा भारतको राजनीतिक अवस्था अस्थिर हुँदै थियो। चीन र पाकिस्तानबाट चाप बढिरहेको थियो। त्यही समय, नेहरू सरकार संकटमा परेको थियो र त्यसलाई जोगाउनका लागि भारतले नेपालसँग सैन्य सहयोग माग्यो । र, मोहन शमशेरले बिना हिचकिचाहट १४,००० नेपाली सैनिकहरू पठाइदिए। यो प्रसङ्ग चर्चित लेखक लियो रोजको पुस्तक Strategy for Survival को पृष्ठ १८२ मा उल्लेखित छ, जसले यस घटनाको ऐतिहासिक प्रमाण दिन्छ ।

सोचौं; नेपाली सेना, जुन स्वाभाविक रूपमा हाम्रो राष्ट्रिय स्वाभिमानको प्रतीक हो, त्यसलाई विदेशी शासनको संरक्षणका लागि प्रयोग गरियो, त्यो पनि त्यस्तो राष्ट्रको लागि जसले अहिलेसम्म पनि नेपालीको योगदानलाई केवल “भाडाका सिपाही”को रूपमा मात्र चित्रण गर्छ। जब कि सोही बेलासम्म नेहरूका सेनामा ८०,००० गोर्खाली सैनिक थिए, तब अझै १४,००० थप नेपाली फौज किन चाहियो? यसको उत्तर केवल भारतको सामरिक आवश्यकता मात्र थिएन, नेपाली राजनीतिमा भारतको प्रभाव विस्तार गर्ने कुटनीतिक चाल पनि थियो।

हल्ला र भ्रममा हिँड्ने प्रवृत्ति

नेहरूले नेपाललाई जोगाए, पटेलले नेपाललाई हडप्न खोजे, यस्ता किम्बदन्तीहरू आजसम्म पनि नेपाली जनमानसमा गहिरोसँग गाँसिएका छन्। तर यस्ता कथनहरू इतिहासको आधिकारिक दस्तावेज वा कूटनीतिक पत्राचारमा होइन, बाहिरी प्रचार र अफवाहमा आधारित छन्। वास्तविकता भनेको यो हो। भारतले कहिल्यै नेपालको सार्वभौमिकता स्वीकृत गर्न चाहेको थिएन, केवल आफ्ना स्वार्थ पूर्ति गर्न खोजेको थियो। त्यसैले ‘नेहरूले वचाए’ भन्ने भ्रम हामीले छिट्टै त्याग्नुपर्छ।

जङ्गबहादुर र गुमेको भूभाग

यदि जङ्गबहादुर राणा जस्ता दूरदर्शी र राष्ट्रवादी नेतृत्व पचासको दशकमा पनि हुन्थे भने, सुगौली सन्धिले गुमाएको मात्र नभएर थप भूभागहरू पनि नेपालले फिर्ता लिन सक्थ्यो। जङ्गबहादुरले क्राइमियन युद्धको बेला बेलायतलाई सहयोग गरी नेपालको अन्तर्राष्ट्रिय हैसियत बढाएका थिए। त्यस्तै रणनीतिक सोच १९५० मा पनि प्रयोग भएको भए, नेपालले केवल दिल्लीको आदेश पालक बन्नु पर्दैनथ्यो। तर, मोहन शमशेरको कदम आत्मसमर्पणको नमुना बन्यो।

आज पनि गोर्खाली सेना भारतीय मेरुदण्ड

भारतको मुख्य सेनामा आज पनि गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण छ। तिनीहरू केवल सैनिक मात्र होइनन्, भारतको सामरिक संरचनाको मेरुदण्ड हुन्। तर ती सैनिकहरू नेपाली छन् हाम्रा आफ्नै। के तिनीहरू आफ्नै आमामाथि, आफ्नै मातृभूमिमाथि आक्रमण गर्न सक्छन्? यो भावनात्मक प्रश्न होइन, यथार्थको कडा चित्रण हो। भारतलाई थाहा छ नेपालमाथि सैनिक हमला गर्नु भनेको आफ्नै मेरुदण्ड भाँच्नु हो। त्यसैले उसले कहिल्यै खुला युद्ध गर्ने आँट गर्दैन।

निष्कर्ष: ब्वासोको हल्लामा नहिँडौं

आज हामीलाई भ्रममा पार्ने, इतिहासलाई तोडमोड गर्ने, साँचो तथ्यबाट टाढा लैजाने प्रवृत्तिहरू मौलाइरहेका छन्। यसैमा आधारित लेख, किताब, यूट्युबका भाषणहरू आदिले हामीलाई बारम्बार दिग्भ्रमित गरिरहेका छन्। हामीले हाम्रो इतिहास, हाम्रो योगदान, र हाम्रो सामर्थ्यलाई बुझ्न सकेनौं भने हामी अझै मूर्ख बन्नेछौं। देशप्रतिको कर्तव्य भनेको केवल राष्ट्रभक्ति गाउने होइन, सही तथ्यको आधारमा चेतनाको बाटो समात्ने हो।

अब समय आइसकेको छ — इतिहास बुझौँ, आत्ममूल्यांकन गरौँ, र भविष्य निर्माणको लागि सही निर्णय गरौँ । किनभने, “तपाईं हामी कति मूर्ख!” भन्ने प्रश्न बारम्बार दोहोरिन नपरोस् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button