भाषा राष्ट्रको अस्मिता र संस्कृतिको वाहक हो

#लक्की चन्द 

नेपाली भाषाको विकासक्रममा आयातीत शब्दहरूको प्रवेश एउटा स्वाभाविक प्रक्रिया हो। तर आजको परिप्रेक्ष्यमा यसले एउटा गम्भीर सांस्कृतिक संकटको रूप लिइरहेको छ। हिजो नेपाली शब्दकोषमा आयातीत शब्दहरू थुपार्दा “शब्द भण्डार विशाल हुन्छ थप्न देऊ” भन्नेहरूको संख्या धेरै थियो। आज स्थिति यस्तो छ कि ५० प्रतिशतभन्दा धेरै आयातीत शब्दहरूले हाम्रा मौलिक शब्दहरूलाई विस्थापित गरेर हाम्रा भैसकेका छन्। यो केवल शब्दहरूको प्रतिस्थापन मात्र होइन, हाम्रो सांस्कृतिक अस्मिताको क्षरण पनि हो।

नेपाली साहित्यिक परिदृश्यमा अहिले एउटा विचित्र प्रवृत्ति देखिन्छ। नेपाली मौलिक शब्दहरू नजान्ने नचिन्ने तर अंग्रेजी, उर्दू र हिन्दी फिल्मी शब्दहरू प्रयोग गरेर कथा कविता गजल लेख्दा वाह वाह भन्नेहरू यहाँ थुप्रै छन्। यसले गर्दा नेपाली साहित्यको मौलिकता संकटमा परेको छ। साहित्यिक अभिव्यक्तिको नाममा भाषाको सौन्दर्यशास्त्रलाई नैं बेवास्ता गरिँदैछ। केवल बाह्य प्रभावमा परेर रचना गर्नु साहित्य होइन, यो त भाषिक आत्मसमर्पण हो।

न्यायालयलाई अदालत बनाएर नेपालको न्यायसेवालाई उर्दु र फारसी भाषाका शब्दहरूको प्रचारक बनाउँदा केही विद्वानहरूले “नेपाली शब्दकोषमा न्यायसेवामा प्रयोग गर्न सुहाउने शब्दहरू नभएकोले अरु भाषाका शब्दहरू ल्याएर प्रयोग गर्नु ठिकै हो” भनेर तर्क दिन्छन्। यो तर्क पूर्ण रूपमा गलत छ। नेपाली भाषामा समृद्ध कानूनी शब्दावली छ र यसलाई विकास गर्न सकिन्छ। भारत जस्तो देशमा हिन्दी र अन्य क्षेत्रीय भाषाहरूमा कानूनी शब्दावलीको विकास गरेर न्यायिक कार्य सम्पादन गरिँदैछ। नेपालले पनि यस्तो गर्न सक्छ।

बैंकिंग, विमान, सञ्चार, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरूमा त अंग्रेजीको वर्चस्वले नेपाली भाषालाई पूर्ण रूपमा विस्थापित गरिसकेको छ। बैंक सेवा, हवाई सेवा, सञ्चार सेवा, आवासीय विद्यालय र स्वास्थ्य सेवाका सबै लेखापढी र अभिलेखहरूमा अंग्रेजी भाषाको प्रयोग गरिँदैछ। यसको लागि “हाम्रा सेवाहरू आधुनिक र स्मार्ट हुनुपर्छ” भन्ने तर्क दिइन्छ। तर कुनै पनि देश आफ्नै भाषामा आधुनिक र स्मार्ट हुन सक्दैन भन्ने कुनै नियम छैन। चीन, रुस, जापान, कोरिया, जर्मनी, फ्रान्स लगायतका विकसित देशहरू आफ्नै भाषामा सबै आधुनिक कार्य सम्पादन गर्छन्।

आज इम्बोस्ड नम्बर अंग्रेजीमा लेख्ने निर्णय हुँदा पनि “हामी अन्तर्राष्ट्रिय स्तरमा उक्लिनु पर्छ” भन्दै ताली पिट्नेहरू देखिनु पनि अनौठो होइन। यस्ता निर्णयहरूले हामी आन्तरिक रूपमा आत्मविश्वासको अभावमा छौं भन्ने संकेत गर्छ। अन्तर्राष्ट्रियस्तरमा पुग्नको लागि आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो पहिचानलाई बेवास्ता गर्नु आवश्यक छैन। बरु आफ्नो भाषालाई सुदृढ बनाएर नैं हामी विश्वमा आफ्नो स्थान बनाउन सक्छौं।

हाम्रो दैनिक व्यवहारमा पनि मौलिक शब्दहरूको ह्रास भैरहेको छ। हाम्रो “अभिवादन” हराएर “सलाम” भयो, हाम्रो “भन्छु” हराएर “बताउँछु” भयो, हाम्रो “आश्चर्य” हराएर “गजब” भयो, हाम्रो “पुस्तक” हराएर “किताब” भयो, हाम्रो “सिंह” हराएर “शेर” भयो, हाम्रो “अपरिचित” हराएर “अञ्जान”भयो, हाम्रो “दु:ख” हराएर “दर्द” भयो, हाम्रो “उत्सर्गी” हराएर “शहीद” भयो, हाम्रो “अनुहार” हराएर “चेहरा” भयो, हाम्रो “समाचार” हराएर “खबर” भयो, हाम्रो “यात्रा” हराएर “सफर” भयो, हाम्रो “चिकित्सक” हराएर “डक्टर” भयो, हाम्रो “निर्णय” हराएर “फैसला” भयो, हाम्रो “आवश्यक” हराएर “जरुरी” भयो, हाम्रो “धेरै” हराएर “ज्यादा” भयो, हाम्रो “कठै” हराएर “काश” भयो, हाम्रो “ढुङ्गो” हराएर “पत्थर” भयो, हाम्रो “आनन्द” हराएर “मज्जा” भयो, हाम्रो “बाटो” हराएर “सडक” भयो, हाम्रो “परिणाम” हराएर “नतिजा” भयो, हाम्रो “सहयोग” हराएर “मदत” भयो, हाम्रो “दण्ड” हराएर “सजाय” भयो, हाम्रो “बानी” हराएर “आदत” भयो। यी उदाहरणहरूले हाम्रो भाषिक संकटको गम्भीरतालाई उजागर गर्छन्।

केहीले भन्छन् कि “आज अर्काको पराइ जस्तो लाग्ने इम्बोस्ड पनि प्रयोग गर्दै गएर शब्दकोषमा थप्ने हो भने त्यो हाम्रो भैहाल्ने छ र हामी हाम्रै पदावली ‘उत्कीर्ण सङ्ख्या’ पनि भन्न नजानेर त्यो पनि ‘इम्बोस्ट नम्बर’को नामले हाम्रो आफ्नै भैहाल्ने छ”। यो एक भ्रामक तर्क हो। भाषाको विकास भनेको आफ्नै भाषाको आधारमा हुनुपर्छ, अर्को भाषाको आधारमा हैन। हामीले आवश्यकता अनुसार नयाँ शब्दहरू सिर्जना गर्न सक्छौं वा पुराना शब्दहरूलाई नयाँ अर्थ दिन सक्छौं।

नेपाली भाषालाई बचाउनको लागि सबै स्तरमा प्रयास गर्नु आवश्यक छ। सरकारले भाषा नीति ल्याउनु पर्छ, शिक्षा प्रणालीमा नेपाली भाषालाई प्राथमिकता दिनुपर्छ, सार्वजनिक संस्थानहरूमा नेपाली भाषाको प्रयोगलाई प्राेत्साहन दिनुपर्छ र मिडियाले पनि नेपाली भाषाको प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। हामी सबैले आफ्नो दैनिक व्यवहारमा नेपाली शब्दहरूको प्रयोग गर्ने बानी विकास गर्नुपर्छ।

भाषा कुनै राष्ट्रको अस्मिता हो, संस्कृतिको वाहक हो, ज्ञानको भण्डार हो। हामीले आफ्नो भाषालाई बचाउनु केवल हाम्रो दायित्व मात्र होइन, हाम्रो अस्तित्वको प्रश्न हो। आउँनुस, हामी सबैले मिलेर नेपाली भाषाको गौरवलाई कायम राखौं र यसलाई समृद्ध बनाउनको लागि काम गरौं।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button