अमेरिकी सैन्य तैनाथी र क्षेत्रीय अस्थिरता: एक गम्भीर कुटनैतिक चिन्ता

# प्रेम सागर पाैडेल
विश्वको सैन्य रणनीतिमा पछिल्ला दशौं वर्षहरूको प्रवृत्ति र जटिलतासँगै, ठूलो शक्ति राष्ट्रहरूको सैन्य विस्तार र तैनाथीले क्षेत्रीय अस्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा मुद्दाहरूलाई अझ कमजोर बनाएको छ। हालको घटनाक्रममा, अमेरिकी सेनाले जापानमा टाइफन मिसाइल प्रणाली तैनाथ गर्ने निर्णय गरेको छ, जसले चीनको गम्भीर प्रतिक्रिया निम्त्याएको छ। चीनले यस तैनाथीलाई एक ठोस सामरिक चुनौतीको रूपमा हेरेको छ र अन्तर्राष्ट्रिय सुरक्षा संरचनामा ठूलो प्रभाव पार्ने सम्भावना देखाएको छ। चीनका तर्फबाट बारम्बार उठाइएका आपत्ति र चिन्ताले क्षेत्रीय र वैश्विक शान्तिको लागि गम्भीर प्रश्नहरू उठाउँछन्।
सैन्य उपकरणहरूको तैनाथी मात्र एक विशिष्ट सैन्य अभ्यास वा रणनीतिक आवश्यकताको कुरा होइन, यो एक गम्भीर कूटनीतिक र सामरिक सन्देश पनि हो। जापानमा अमेरिकी सेनाले टाइफन मध्यम-दूरी मिसाइल प्रणाली तैनाथ गर्न लागेको छ, जसको दायरा १,५०० देखि २,००० किलोमिटर सम्म रहेको छ। यसले न केवल चीनलाई प्रत्यक्ष रूपमा लक्षित गर्ने सम्भावना राख्छ, अपितु सम्पूर्ण दक्षिणपूर्व एशिया र प्रशान्त महासागर क्षेत्रको सामरिक सन्तुलनलाई पनि परिवर्तन गर्न सक्छ। यद्यपि अमेरिकी अधिकारीहरूले यसलाई निवारक र रक्षा तन्त्रको रूपमा प्रस्तुत गरेका छन्, चीनको दृष्टिकोणमा यो एक आक्रामक सैन्य कूटनीतिक कदमको रूपमा देखिएको छ, जसको दीर्घकालीन प्रभावहरू गम्भीर हुने संभावना छ।
सैन्य गतिविधिहरू र क्षेत्रीय अस्थिरता मात्र इतिहासको परिप्रेक्ष्यबाट मात्र होइन, समकालीन युद्ध र कूटनीतिक संघर्षका उदाहरणहरूसँग जोडेर हेरिनुपर्छ। यस्ता घटनाक्रमहरूलाई नबुझ्दा क्षेत्रीय सुरक्षा र स्थिरताको सही मूल्याङ्कन असम्भव हुन्छ। हालको मिसाइल तैनाथीका परिप्रेक्ष्यमा, एशियाली राष्ट्रहरू, विशेष गरी जापान र दक्षिण कोरिया, अमेरिकासँगको सञ्जाल र युध्दको लागि तयार रहनु पर्दा कतिको संवेदनशील स्थिति बनाउँछन् भन्ने कुरा महत्त्वपूर्ण छ।
चीनको प्रतिक्रिया, जसमा अमेरिकालाई “इतिहासबाट पाठ सिक्न” र “सही कदम चाल्न” सल्लाह दिएको छ, ऐतिहासिक दृष्टिले निकै गहिरो छ। द्वितीय विश्वयुद्धको अन्त्यसँगै जापानले आफ्नो सैन्य शक्ति घटाएको र शान्ति संविधानमा प्रतिबद्धता जनाएको थियो। यद्यपि, पछिल्ला दशकहरूमा जापानले केही सैन्य निर्माणमा सहभागी भएको छ, जसले चीन र अन्य एशियाली राष्ट्रहरूलाई चासोमा राखेको छ। चीनको परिप्रेक्ष्यमा, जापानका सैन्य विस्तार र अमेरिकी सैन्य सहयोगले उसलाई ऐतिहासिक सैन्यवादको पथमा फिर्ता ल्याउन सक्छ भन्ने चिन्ता छ।
चीनले यसलाई दक्षिण कोरियासँगको त्यसैगरी अमेरिकी सामरिक साझेदारी र तैनाथीकाे इतिहाससँग जोड्दछ। अमेरिकी सेनाले दक्षिण कोरियामा भएको तैनाथी र मिसाइल रक्षा प्रणालिहरूले चीन र उत्तर कोरियाको बीचमा एक नयाँ रणनीतिक तनाव सिर्जना गरेको छ। यसै प्रकार, जापानमा तैनाथ हुने टाइफन मिसाइल प्रणालीले चीनसँगको सामरिक सम्बन्धमा थप तनाव ल्याउन सक्छ। यसले केवल जापानको सुरक्षा नीति मात्र प्रभावित पार्दैन, अपितु सम्पूर्ण एशियाली महादेशको सामरिक र कूटनीतिक परिप्रेक्ष्यलाई पुन: परिभाषित गर्नुपर्ने आवश्यकता ल्याउँछ।
अमेरिकाले एशियामा आफ्नो सैन्य उपस्थिति बढाउँदै गर्दा, यसको वैश्विक असरलाई पनि विचार गर्नुपर्छ। अमेरिका र जापानको साझेदारीले चीनको लागि एक चुनौती प्रस्तुत गरेको छ, जुन केवल सैन्य सन्दर्भमा नभएर कूटनीतिक दृष्टिले पनि निकै गहिरो छ। अमेरिकाको एशिया प्रशान्त क्षेत्रमा सैन्य विस्तारले चीनसँगको आन्तरिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई जटिल बनाइरहेको छ। अर्को पक्षमा, रूसको सामरिक र कूटनीतिक सहभागीताले पनि यस संकटमा थप समस्या बनाउन सक्छ। रूसको दक्षिणी सीमामा अमेरिकाले यस्तै सैन्य तैनाथी गरेको इतिहास छ, जसले अन्य शक्ति राष्ट्रहरूको सैन्य रणनीतिमा अस्थिरता र प्रतिस्पर्धा उत्पन्न गरेको छ।
अमेरिकाको तैनाथी र युद्ध खेलमा गहिरो अर्थ छ। यसले चीन र रूससँगको द्वन्द्वका बाबजुद अमेरिका र पश्चिमी ब्लकको प्रभाव बढाउने प्रयासलाई दर्शाउँछ। यस्तो परिप्रेक्ष्यमा, अमेरिकाको कदमलाई विश्वव्यापी शान्ति र स्थिरताका लागि एक ठूलो रणनीतिक आन्दोलनको रूपमा हेर्न सकिन्छ। तर यसले क्षेत्रीय तनावलाई मात्र बढाउँछ, विशेष रूपमा दक्षिण चीन सागर, थाइवान र कोरियाली प्रायद्वीपको क्षेत्रमा।
जापानको यस निर्णयमा पनि दीर्घकालीन जोखिमहरू निहित छन्। यदि जापानले अमेरिकी सैन्य तैनाथीलाई अनुमति दिन्छ भने, त्यसले उसलाई एक सैन्य केन्द्रको रूपमा परिणत गर्न सक्छ, जसको परिणति युद्धमा संलग्न हुनसक्ने सम्भावना बढाउँछ। जापानले यसको परिणाम स्वरूप आफ्नो सुरक्षा अवस्थालाई थप जोखिममा राख्नेछ। एकातर्फ, यसले उसको आन्तरिक र बाह्य कूटनीतिक सम्बन्धहरूमा बलियो प्रतिस्पर्धा र सहयोगको सम्बन्ध सिर्जना गर्नसक्छ, भने अर्कोतिर, यसले क्षेत्रीय र वैश्विक सुरक्षा संरचनामा अस्थिरता ल्याउने खतरा पैदा गर्दछ।
यस अवस्थामा कूटनीतिक समाधानहरूको खोजी गर्नु अत्यन्त महत्त्वपूर्ण छ। चीन र जापानले ऐतिहासिक दृषटिकोनबाट पनि एक अर्कासँग आपसी संवाद र सहकार्यलाई प्राथमिकता दिनु आवश्यक छ। पश्चिमी विश्वको शान्ति र स्थिरता भनेको केवल सैन्य क्षमतामा निर्भर छैन, बरु कूटनीतिक समाधान र आपसी विश्वासको अभिवृद्धि नै सबैभन्दा प्रभावकारी उपाय हो। यो समय हो, जहाँ अतीतको द्वन्द्व र प्रतिस्पर्धालाई पार गरेर, भविष्यमा एक साझा सुरक्षा ढाँचामा सहयोग गर्नु अत्यन्त आवश्यक छ।
अन्ततः, जापान र चीन, दुवैलाई सामरिक स्थिरता र क्षेत्रीय शान्तिको लागि आपसी संवाद र सहकार्यमा ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ। केवल सैन्य शक्ति र मिसाइल तैनाथी मात्र होइन, कूटनीति र विश्वास निर्माणको मार्गबाट मात्र यस समस्याको समाधान सम्भव छ।
(लेखक वरिष्ठ पत्रकार, राजनीतिक विश्लेषक, नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष र अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ।)





