पण्डित नन्दराम टिक्कु : अफगानिस्तानका अन्तिम हिन्दु प्रधानमन्त्री इतिहासमा विस्मरण

# पासाङ ल्हामु
इतिहास कहिलेकाहीँ यस्ता पात्रहरूलाई बिर्सन्छ, जसको योगदान अपार हुन्छ तर स्मृतिमा तिनको स्थान न्यून रहन्छ। पण्डित नन्दराम टिक्कु त्यही श्रेणीका एक ऐतिहासिक पात्र हुन्, जसले १९औँ शताब्दीको आरम्भमा अफगानिस्तानजस्तो अशान्त राष्ट्रको केन्द्रिय सत्तालाई स्थायित्व दिने उल्लेखनीय प्रयास गरे। हिन्दु धर्मावलम्बी भई मुस्लिम बहुल देश अफगानिस्तानको प्रधानमन्त्री बन्नु आफैँमा एक अद्वितीय घटना थियो, जुन आजका दिनमा स्मरण गरिनु अत्यन्त आवश्यक छ।
१८औँ शताब्दीको अन्त्य र १९औँ शताब्दीको सुरुवाततिर अफगानिस्तान जातीय संघर्ष र सरदारीय विभाजनले आक्रान्त थियो। पश्तुन, ताजिक, उजबेक, हजारा जस्ता जातीय समुदायहरूबीचको असहमति र आन्तरिक युद्धले देश अस्थिर बनिरहेको अवस्थामा पण्डित नन्दराम टिक्कु मात्र २९ वर्षको उमेरमा प्रधानमन्त्री बने। यिनको शासनकाल नेपाली प्रधानमन्त्री भीमसेन थापाको उदयभन्दा दुई वर्ष अघिदेखि सुरु भएको थियो। जहाँ नेपालमा भीमसेन थापाले सैन्य र प्रशासनिक सुदृढीकरणमार्फत राज्य निर्माणमा भूमिका खेल्दै थिए, उता अफगानिस्तानमा टिक्कुले जातीय एकता र सुदृढ केन्द्रीय सरकार स्थापनामा अग्रसर भूमिका निभाइरहेका थिए।
नन्दराम टिक्कुले अफगान प्रशासनमा सुधार ल्याउन महत्त्वपूर्ण कदमहरू चाले। उनले आन्तरिक कर प्रणालीको पुनर्संरचना गरे, अदालत र प्रशासनमा अनुशासन र जवाफदेहिताको अभ्यास सुरु गराए, र जातीय समुहबीचको संवादलाई बल पुर्याउँदै केन्द्रीय सत्तालाई बलियो बनाउने प्रयास गरे। तिनका यस्ता कदमहरू आजको दृष्टिबाट हेर्दा पनि साहसी र दूरदर्शी ठहरिन्छन्।
यिनको कार्यकालले केवल हिन्दु समुदायको हित होइन, समग्र अफगान राष्ट्रको हितमा कार्य गरेको स्पष्ट देखिन्छ। उनी कुनै एक समुदायको प्रतिनिधि भएर होइन, राष्ट्रको हितमा समर्पित एक कुशल राजनेता भएर उदाएका थिए। त्यस समयको सामाजिक संरचना र धार्मिक विभाजनबीच पनि उनी राष्ट्रव्यापी स्वीकृति प्राप्त गर्न सफल भएका थिए, जुन बहुसांस्कृतिक सहिष्णुताको उत्कृष्ट उदाहरण हो।
पण्डित नन्दराम टिक्कुको निधन सन १८५६ तिर ७५ वर्षको उमेरमा भयो, जुन नेपालमा जङ्गबहादुर राणाले सत्ता सम्हालेको चार वर्षपछिको समय हो। उनको मृत्युपछि अफगानिस्तानमा हिन्दूहरूको अवस्था क्रमशः कमजोर बन्दै गयो। धार्मिक कट्टरताको बढ्दो प्रभाव, सत्ता र प्रशासनबाट हिन्दूहरू बाहिरिनु, र सामाजिक सहिष्णुताको ह्रासका कारण हिन्दूहरूको पलायन तीव्र हुँदै गयो। त्यसयता पछिल्ला १७५ वर्षमा अफगानिस्तान हिन्दु र सिखविहीन प्रायः भएको छ। हालका दशकहरूमा पनि बाँकी रहेका केही हिन्दू र सिख समुदायले अफगानिस्तान छोडेर भारत, अमेरिका, क्यानाडा जस्ता देशमा शरण लिन बाध्य भएका छन्।
पण्डित नन्दराम टिक्कुको योगदान केवल राजनीतिक दृष्टिकोणले होइन, सांस्कृतिक, धार्मिक र मानवताको दृष्टिले पनि उल्लेखनीय छ। उनले धर्मभन्दा माथि उठेर राज्य सञ्चालनको आदर्श प्रस्तुत गरे, बहुसंस्कृति राष्ट्रमा सहअस्तित्व सम्भव छ भन्ने प्रमाण दिए। उनका प्रयास र योगदानलाई इतिहासले अपेक्षाकृत कम स्थान दिएको भए पनि आजका दिनमा उनीमाथि पुनर्विचार गरिनु आवश्यक छ।
उनीजस्ता विस्मृत पात्रहरूलाई पुनः स्मरण गर्नु केवल ऐतिहासिक न्याय होइन, आजको असहिष्णुता, विखण्डन र ध्रुवीकरणको युगमा सहिष्णुता, समावेशी नेतृत्व र साझा राष्ट्रनिर्माणको प्रेरणा पनि हो। अफगानिस्तानका प्रधानमन्त्रीका रूपमा एक हिन्दु विद्वानको उपस्थितिले आजको दक्षिण एशिया र विश्व राजनीति समक्ष गहिरो प्रश्न पनि उठाउँछ—के धर्म भन्दा माथि राष्ट्र र मानवताको सोच अझै सम्भव छ?





