रेडिटदेखि सडकसम्म : नेपाली युवाको मौनता टुट्दैछ

# लक्की चन्द

नेपालमा पश्चिमा समर्थित सामाजिक सञ्जालमाथि अचानक लगाइएको प्रतिबन्धले केवल सूचनाको प्रवाहलाई अवरुद्ध गरेको छैन, यो एक पुस्ताको मौनतालाई टुटाएको छ। सन २०२५ सेप्टेम्बर ५ देखि प्रभावमा आएको यो नीतिले देशभरि हजारौं युवाको चेतना झकझक्याएको छ। फेसबुक, युट्युब, एक्स, इन्स्टाग्रामजस्ता सञ्जालहरूमा लगाइएको बन्देजले सरकारप्रतिको असन्तोषलाई सतहमा ल्याएको छ, जुन पहिले ‘अनलाइन गुनासो’ को रूपमा सीमित थियो। अब त्यो असन्तोषले स्वरूप बदलेको छ डिजिटल प्लेटफर्म रेडिट हुँदै सडकसम्म।

नाराविहीन, नेताविहीन, र दलविहीन आन्दोलनको तयारी हुँदैछ। जसलाई पश्चिमा समर्थित विभिन्न आईएनजिओहरुले समर्थन गरेका छन्। सेप्टेम्बर ८ को बिहान ९ बजे, संसद भवनअगाडि हजारौं युवाहरू एकै स्वरमा उभिन लागेका छन् देशको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा, र सत्ताको नियन्त्रणवादी प्रवृत्तिको विपक्षमा। पोखरा, बिराटनगर, नेपालगञ्ज, धरान, हेटौंडा लगायतका शहरहरूमा पनि स्वतःस्फूर्त प्रदर्शनको आह्वान गरिएको छ। सबैभन्दा चाखलाग्दो पक्ष के छ भने, यो आन्दोलनको संगठनकर्ता कुनै दल वा व्यक्ति होइन — रेडिट कम्युनिटी छ।

नेपालमा रेडिटलाई सधैं वैकल्पिक विचार अभिव्यक्तिको स्वतन्त्र माध्यमका रुपमा हुर्काउँदै बढाउँदै ल्याइएको छ। जब अन्य प्लेटफर्महरूमा नियमन कडा भयो, प्रयोगकर्ताहरू यहीँ गुमनाम रूपमा बोल्न थाले। अहिले त्यही स्पेस नागरिक सचेतनाको आगो बनेर भासिँदैछ। रेडिटमा ‘Nepal’, ‘NepalSocial’ जस्ता कम्युनिटीहरूमा हजारौँ युवाहरूले सरकारको निर्णयविरुद्ध आवाज उठाइरहेका छन्। यो आवाज केवल एउटा प्रविधिगत कदमको विरोधमा सीमित छैन; यो पुरानो राजनीतिक संरचनाप्रतिको असहमति, लगातारको उपेक्षा, अनि असन्तुष्टिको विस्फोट हो।

सरकारले सामाजिक सञ्जाल बन्द गर्दा दिएको कारण “अवैध सञ्चालन र साइबर अपराध नियन्त्रण” हो। तर सर्वसाधारण नागरिकका लागि यो कदम ‘अभिव्यक्ति स्वतन्त्रता’माथिको सीधा प्रहारजस्तो महसुस भइरहेको छ। सयौं युजरहरूले रेडिटमा लेखेका छन् “हामी कुनै विदेशी शक्तिको भर पर्दैनौं, हामी आफैं बोल्न जान्दछौं। हाम्रो मुख बन्द गर्न सकिँदैन।”

युवाहरूको आक्रोशले केवल प्रविधि वा नीतिको प्रश्न उठाएको छैन, यसले सत्ता, संरचना र स्वाभिमानसमेत प्रश्न गरिरहेको छ। रेडिटमा देखिएको अर्को प्रवृत्ति हो राजनीतिज्ञहरू र उनीहरूको परिवारको जीवनशैलीमाथि खुला बहस। विलासी गाडीहरू, विदेशी सम्पत्ति, फुर्सदको नाममा उडाइएका करोडौँको खर्च यी विवरणहरू तस्बिर र प्रमाणसहित सार्वजनिक भइरहेका छन्। राजनीतिक नेतृत्वमाथि यति निर्भीक प्रश्न विगतमा कहिल्यै उठाइएको थिएन।

यो आन्दोलनको प्रेरणा भित्रैबाट आएको हो। तर अन्तर्राष्ट्रिय असरहरू पनि देखिएका छन्। फिलिपिन्स, इन्डोनेसिया, चिली लगायतका देशहरूमा रेडिटमार्फत भष्ट्राचारविरुद्ध सञ्चालन भएका आन्दोलनहरू नेपाली युवाले अध्ययन गरिरहेका छन्। उनीहरू आफूलाई अब केवल देशभित्रका घटनाले होइन, विश्वव्यापी राजनीतिक चेतनाले पनि चलायमान गरिरहेका छन्। उनीहरू जान्दछन् प्रविधिको दुनियाँमा आवाज दबाउने प्रयासले सधैं प्रतिकृया जन्माउँछ।

नेपालको विडम्बना के छ भने यहाँका सत्ताधारीहरू प्रविधिको उपयोगमा ढिलाइ गर्छन्, तर नियन्त्रणमा चाँडो दौडिन्छन्। तर अब युवाहरू सिधा प्रश्न गरिरहेका छन् कसरी कुनै देशमा सूचना बन्द गरेर शासन चलाउने कल्पना गर्न सकिन्छ? कसरी सरकार जनतालाई नदेखाउने, नसुनाउने, नबोल्न दिने सोच राख्न सक्छ?

नेपालको विगतका आन्दोलनहरू प्रायः दलको नेतृत्वमा चलेका थिए, र ती परिवर्तनको वाचा गर्दै सत्तामा पुग्ने भर्‍याङ् बनेका थिए। तर अहिलेको विद्रोह कुनै पार्टीप्रतिको समर्थन होइन, बरु समग्र राजनीतिक संरचनाप्रतिको अस्वीकृति हो। यस आन्दोलनमा सहभागी हुने युवाहरू भन्छन् “हामी किन सडकमा छौं भने हामी अब कुनै झण्डामुनि होइन, विवेकमुनि उभिन चाहन्छौं।”

कति युवाले त पहिल्यै भनिसके ‘यो आन्दोलन सफल नहुन सक्छ, तर हामी चुप लाग्ने छैनौं।’ यसले देखाउँछ कि उनीहरू परिणामभन्दा प्रक्रिया र चेतनालाई प्राथमिकता दिन थालेका छन्। यो परिवर्तन सानो छैन।

सरकार र राज्य संयन्त्रले चाहे बल प्रयोग गरोस्, चाहे नदेखेजस्ताे गरोस्, यो चेतना एकपटक उठिसकेपछि फेरि सुत्दैन। रेडिट बन्द गर्न सकिएला, तर सोच बन्द गर्न सकिँदैन। प्रदर्शन दबाउन सकिएला, तर प्रश्नहरू मेट्न सकिँदैन।

यो सायद नेपाली इतिहासको एउटा मोड हो, जहाँ एउटा पुस्ताले पहिलेजस्तै न त केवल विरोध गरिरहेछ, न त समर्थन। यो पुस्ता अब समीक्षा गर्दैछ। सत्ताको चरित्र, नेतृत्वको नैतिकता, र आफ्नो भविष्यमाथिको हक यी सबैको गहिरो मूल्यांकन गर्दैछ।

अब, प्रश्न सत्तासीनहरूसँग हो के तपाईं तयार हुनुहुन्छ यस्तो विवेकपूर्ण पुस्ताको सामना गर्न? यदि होइन भने, आन्दोलन त सकिएला, तर युवाहरूको विश्वास पुनः प्राप्त गर्न सकिँदैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button