यो विध्वंस कुनै आन्दोलन होइन, इतिहास मेटाउने षड्यन्त्र हो

#मुना चन्द 

अहिलेको समय नेपाली राष्ट्र र यहाँको जनताको निम्ति गहिरो दुःख, पीडा, निराशा र क्षोभको क्षण हो। देशभक्त नागरिकको रूपमा यो लेख लेख्नु मेरो निम्ति अत्यन्तै कष्टदायी छ, तर पनि सत्यलाई आवाज दिनु जरुरी छ। जब देशकै इतिहास, सभ्यता र गौरवको प्रतीकहरू जल्दैछन्, जब देशको शासन प्रणाली ध्वस्त हुँदैछ, जब जनताको आशा-आकांक्षा र सम्पत्तिको लुट हुँदैछ, तब मौन बस्नु अपराध हो।

यो कुनै सामान्य राजनीतिक उथलपुथल होइन, यो इतिहासमा कालो अध्यायको सुरुवात हो। यस्तो समयमा देशप्रतिको प्रेमले नै हामीलाई बोल्न बाध्य पार्छ। यो लेख देशप्रतिको मेरो गहिरो प्रेम, चिन्ता र एक देशभक्त नागरिकको चित्कार हो ।

नेपाली जनताले आजसम्म धागोको धर्सो पनि प्राप्त गरेका छैनन् भन्ने कुरा स्पष्ट छ। तर आज जो भइरहेको छ, त्यो जनताको लागि अझ ठूलो विपत्तिको सुरुवात हो। कथित जेन-जी पुस्ता भनिएका व्यक्तिहरूले देशलाई जे-जति आश्वासन दिए, जे-जति सपना देखाए, आज त्यो सबै खरानीमा परिणत भएको छ। उनीहरूको विध्वंसक मानसिकताले देशलाई बंगलादेश, युक्रेन र प्यालेस्टाइन जस्तो युद्धग्रस्त र अस्थिर राष्ट्रको रूपमा परिणत गरिदिएको छ। यो कुनै अतिशयोक्ति होइन, यो एक तितो यथार्थ हो।

सिंहदरबार जलाउनुपर्छ भन्ने बालेन्द्रको माग आज पूरा भएको छ। सिंहदरबार मात्र होइन, देशको न्यायको अन्तिम आशा सर्वोच्च अदालत जस्तो पवित्र संस्था पनि आगोको ज्वालामा परेको छ। यो केवल ईटामाटाेको भवन जल्नु होइन, यो नेपाली राष्ट्रियताको गौरवशाली इतिहास जल्नु हो। यो देशको प्रशासनिक र न्यायिक स्मृति मेटिनु हो। जसरी प्राचीन नालन्दा विश्वविद्यालयको पुस्तकालय जलेर पूर्वीय दर्शनको इतिहास ध्वस्त भयो, त्यसरी नै आज नेपालको सयौं वर्षको इतिहास अग्निसमर्पण गरिएको छ। अब आउने पुस्ताहरूले आफ्नो इतिहास, आफ्नो कानून, आफ्नो सन्धिसम्झौताको अभिलेख कहाँबाट पढ्ने? यो अपूरणीय क्षति हो।

देश बंगलादेश बन्छ भन्ने धम्की दिनेहरूको माग पनि पूरा भएको छ। देश अराजकताको एउटा उदाहरणमा परिणत भएको छ। सडकमा हिंसा, अदालतमा आगजनी, सरकारी कार्यालयमा लुटपाटले गर्दा नेपाल अन्तर्राष्ट्रिय समुदायमा हेपिएको र असफल राष्ट्रको रूपमा चित्रित हुँदैछ। यसले सामान्य नागरिकको ज्यानमाथि नै संकट ल्याएको छ। उद्योगी, व्यापारीहरू विदेश पलायन हुन लागेका छन्। देशमा लगानी गर्न कसैको इच्छा छैन, किनभने सम्पत्ति सुरक्षित छैन। विनोद चौधरी जस्ता दूरदर्शी उद्योगपतिहरूले पहिल्यै नै यो अन्धकार देखेर विदेशमा लगानी सारिसकेका छन्। देशको अर्थतन्त्र ध्वस्त अवस्थामा पुगेको छ।

यो विध्वंसको पृष्ठभूमिमा कुख्यात राजनीतिक सांठगांठ रहेको छ। मान्छे मारेर, बलात्कार गरेर, लुटेर अपराधको सजाय भुक्तान गर्न जेलमा बसेका कास्की र कैलालीका हजारौं अपराधी छुटेका छन्। उनीहरूलाई साम्यवाद आयो। अब उनीहरू स्वतन्त्र छन् र देशमा अराजकता फैलाउनमा संलग्न छन्। यसले सामान्य नागरिकको जीवन अस्तव्यस्त बनाएको छ। कथित जेन-जी भन्दै उफ्रिने प्रचण्ड, बाबुराम भट्टराई, गगन थापा, विश्वप्रकाश शर्मा, सुशीला कार्की, राजेन्द्र लिङ्देन, कुलमान घिसिङहरूको माग पनि पूरा भएको छ। उनीहरू विजयी भएको ढोंग गर्दैछन्, तर वास्तवमा उनीहरूले देशलाई ज्वालामुखीको मुखमा धकेलेका छन्। उनीहरू कुनै राजनीतिक शक्ति होइनन्, बरु कुख्यात ठगी गिरोहका नाइके हुन्।

सिंहदरबार, अदालत जस्ता खरबौंको सम्पत्ति जलेर ध्वस्त भएपछि ठेक्का पाउने ठेकेदार, ठेक्का लगाउने नेता र कर्मचारीहरूको माग पनि पूरा भएको छ। अरबौं रुपैयाँको भ्रष्टाचार गर्ने इतिहासकै सबैभन्दा ठूलो राजमार्ग तयार भएको छ। जनताको करको पैसाले बनेका भवनहरू ध्वस्त भएका छन्, र अब त्यही जनताको पैसाले फेरि बनाउनुपर्छ। यो भ्रष्टाचारको चक्र हो, जसले गर्दा गरिब नेपालीले फेरि आफ्नो घामपानीको पैसा यसैमा खर्च गर्न बाध्य हुनेछ।

केही सम्पादक र पत्रकारहरूको पाखण्ड र उक्साहट सामान्य थिएन। धेरै सम्पादक र पत्रकारको माग भयंकर पूरा भएको छ। किनभने तिनीहरूलाई ध्वंसको रिपोर्टिङ गरेर टीआरपी बटुलेर ज्यान पाल्नु थियो। उनीहरू विक्रीका मालबाहेक केही थिएनन्। उनीहरूले सत्य पत्रकारिताको आड लिएर जनतालाई झुक्याए, आगोमा घिउ हाल्ने काम गरे। यसले नेपाली पत्रकारिताको विश्वसनीयतामै प्रश्नचिन्ह लगाएको छ।

भाटभटेनीमा आगो लगाएपछि रोजगारी गर्नै परेन। टन्टै साफ भयो। देश लुटेरा भन्दै तिरस्कार गरिएका मिनबहादुर गुरुङलाई ध्वस्त बनाइयो। अरबौंको चन्द्रागिरी केबुलकार ध्वस्त बनाइयो। अरबौं कर तिर्ने चन्द्र ढकाललाई स्वाहा पारियो। यो देशलाई मिनबहादुर गुरुङ र चन्द्र ढकालहरू चाहिएकै होइनन् भन्ने सिद्ध गरिएको छ। यी मानिसहरू देशको अर्थतन्त्रका आधारस्तम्भ थिए, र आज उनीहरूको सम्पत्ति र उद्योगहरू लुटिएका छन्। यसले देशको आर्थिक भविष्यमा गहिरो प्रश्न उठाएको छ।

सामाजिक सञ्जाल हेर्दा मेरा बाहेक सबैका माग पूरा भएको देखियो। कथित जेन-जीहरूको विध्वंसलाई समर्थन गर्ने व्यक्तिले क्षति भयो, घुसपैठ भयो, सिंहदरबार, सर्वोच्च जलाउनु गलत भयो भन्ने कोही कसैसँग कुनै नैतिकता बाँकी छैन। फेसबुक, ह्वाटसएप, भाइबरमा खोलिएका सयौं ग्रुपमा कहाँ कहाँ जलाउने भनेर योजना बनेकै थियो, गुगल म्याप शेयर भएकै थियो। जसरी ती ग्रुपमा योजना बनेको थियो, त्यसरी नै जलाउने र ध्वस्त गर्ने काम सम्पन्न भएकै छ। यो सुनियोजित षडयन्त्र हो, जसलाई केही निहित स्वार्थी तत्वहरूले रचेका हुन।

तर मैले ठोकेर भन्छु, मैले त्यो नैतिकता बाँकी राखेको छु। किनभने मैले यो विध्वंसको कहिल्यै पनि समर्थन गरेको थिइन। यो जनताले धागोको धर्सो पनि प्राप्त नगरेको इतिहासकै सबैभन्दा ठूलो विध्वंस हो। सारा दुनियाँ एकातिर हुँदा पनि सत्यको पक्षमा एक्लै उभिन सक्नुपर्छ भन्ने मान्यता राख्छु। मलाई केपी ओलीको कुशासनको पक्षमा देख्नेहरू रतन्धो लागेकाहरू हुन् भन्ने पूरापूर दृढ छु। एक थान केपी ओलीलाई चुनावबाट हराउन सकिन्थ्यो भन्ने मान्यतामा विश्वास गर्ने व्यक्ति हुँ।

चुनावमा रक्सी, मासुमा विक्री भएर भोट हालेको कथित जेन-जी पुस्ताको अबको गन्तव्य अरबको खाडी, मलेसिया, जापान वा कहाँ कहाँ जान मन लागेको छ त्यहीँ हो। जापानी र कोरियन भाषाको तयारी गर्दै गर्नु, म्यानपावर धाउँदै गर्नु। उनीहरूले देशलाई लुटेर, बर्बाद गरेर आफ्नो भविष्य बनाउन खोजेका छन्। तर उनीहरूलाई थाहा छ कि उनीहरूले गरेको विध्वंसको जिम्मेवारी लिने कोही छैन, र इतिहासले उनीहरूलाई कहिल्यै माफ गर्नेछैन।

खरबौंको विध्वंस भएको छ। देश अर्को एक दशक पछि धकेलिएको छ। खरानीमा केही भेटिंदैन, नखोजे हुन्छ। अबको परिणाम यत्ति हुनेछ: देशको न्याय र प्रशासनिक इतिहास जलेको असर सयौं वर्षसम्म रहनेछ। अध्ययन, अनुसन्धान गर्ने इतिहासकार, अनुसन्धानकर्ताले कहिल्यै कुनै सामग्री प्राप्त गर्ने छैनन्। एक थान नयाँ प्रधानमन्त्री, दुई दर्जन मन्त्री, केही दर्जन व्यक्तिलाई पीएको जागिर खुल्यो। लुटको नयाँ स्वर्गको सुरुआत भएको छ। शासकहरू स्कर्टिङका साथ जलेर ध्वस्त भएको सिंहदरबार-बालुवाटार ओहोरदोहोर गर्नेछन्। शिक्षा, स्वास्थ्य र विकासको लागि छुट्याइएको अरबौं रकम सिंहदरबार, बालुवाटार, सर्वोच्च अदालतलगायत भवन बनाउन खर्च हुनेछ। जनताको लागि धागोको धर्सो पनि प्राप्त भएको छैन। आज ज-जसले बैंक, कार्यालय लुटेर नगद र कम्प्युटरलगायत सामान प्राप्त गरेका छन्, त्यत्ति हो।

प्रचण्डलाई सत्तामा पुर्याउनेहरू अहिले अरबको खाडी र मलेसियामा पसिना बगाउँदै छन्। किनभने तिनीहरू यस्तै विध्वंस गरेर आएका थिए। ओलीलाई सत्तामा पुर्याउने छोराछोरीहरूको पनि त्यही हालत भएको छ। किनभने तिनीहरू मासुभातमा विक्री भएका थिए। कथित जेन-जीहरूले पनि पासपोर्ट बनाएकै होलान्, एक थान प्रधानमन्त्री र दुई दर्जन मन्त्री फेरेर विदेश जान तयार भएर बसे हुन्छ। किनभने तिमीहरूलाई हजारौं वर्षको इतिहासले पनि माफी दिने छैन। यो विध्वंसको जिम्मेवारी लिने कोही छैन। जनता कोही कसैले धागोको धर्सो पनि प्राप्त गरेका छैनन्। देशले अरबौंको क्षति व्यहोरेको छ। देश बंगलादेश, युक्रेन, प्यालेस्टाइन बनेको छ। धेरैलाई यही चाहिएको थियो। किनभने तिनीहरूको व्यापार खरानीमा फस्टाउँछ। तिनीहरूलाई बारम्बार खरानी चाहिन्छ।

शान्ति, सम्बृद्धि, इतिहास, संस्कार, संस्कृति, सभ्यता चाहिने मजस्ता लाखौंको मन रोएको छ। हामीले खरानीमा केही पनि भेटाउने छैनौं! जुन देशको इतिहास मेटिन्छ, त्यो देश कहिल्यै काम लाग्दैन। त्यहाँका जनता कहिल्यै सुखी हुन सक्दैनन्।

यो लेख देशप्रतिको मेरो गहिरो प्रेमको परिणाम हो। म विध्वंसको कहिल्यै पनि पक्षमा थिइनँ, र हुँदैन। म एक्लै भए पनि सत्य बोल्न छोड्दिनँ। किनभने सत्य नै अन्त्यमा विजयी हुन्छ भन्ने मेरो दृढ विश्वास छ। देशभक्ति भनेको केवल झण्डा हल्लाउनु मात्र होइन, देशको खातिर सत्य बोल्नु पनि हो। आज देश आगोमा जलिरहेको छ, तर आशाको किरण अझै बाँकी छ। युवा पुस्ता, शिक्षित समाज, र देशप्रेमी नागरिकहरू उठ्नुपर्छ। हामीले देशलाई यस अधःपतनबाट जोगाउनुपर्छ। हामीले आफ्नो इतिहास, आफ्नो संस्कृति, आफ्नो गौरवलाई पुनः स्थापित गर्नुपर्छ।

खरानीमा सम्बृद्धि खोज्ने कथित जेन-जीहरू त्यही खरानी बटुलेर निधारमा लगाउन जानू! बुद्धि, विवेक सबै गुमाएर इतिहास मेटाएको कलंकित पुस्तालाई खरानी बाहेक केही पनि प्राप्त भएको छैन। हामीले देशलाई फेरि उठ्न दिनुपर्छ। हामीले आफ्नो भविष्य आफैले निर्माण गर्नुपर्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button