Gen Z: विद्रोही चेतना कि युगान्तकारी शक्ति?

# लक्की चन्द

Gen Z भन्नाले सन १९९७ देखि २०१२ सम्म जन्मिएका व्यक्तिहरूलाई जनाइन्छ। उनीहरू मिलेनियल्स पुस्तापछि आएका युवा हुन् जसले डिजिटल दुनियाँसँगै होस सम्हालेका छन्। सन २०२५ सम्म आइपुग्दा, यो पुस्ता आजको विश्व राजनीतिमा अत्यन्तै प्रभावशाली शक्ति बनेको छ कुनै राष्ट्रका सडकमा प्रदर्शनरत, त कतै अनलाइन प्लेटफर्महरूमा बहसको नेतृत्व गर्दै। उनीहरूको शैली फरक छ, दृष्टिकोण स्पष्ट छ, र आन्दोलनको प्रविधि क्रान्तिकारी छ।

Gen Z कुनै निश्चित राष्ट्रको सीमाभित्र सीमित छैन। अमेरिकी Black Lives Matter आन्दोलन होस् वा हङकङको कथित लोकतन्त्रको पक्षमा उठेको विद्रोह; भारतको नागरिकता कानुनको विरोध होस् वा नेपालमा Enough is Enough अभियान सर्वत्र Gen Z को उपस्थिति निर्णायक रह्यो। यिनीहरू पुराना पुस्ताको राजनीतिक चक्रब्यूहभित्र पर्न मान्दैनन्, बरु आफ्नै मूल्य, प्रविधि र विचारधारासँग नयाँ मोर्चा खोल्छन्।

अमेरिकामा George Floyd को हत्या पछि उठेको BLM आन्दोलनलाई तीव्रता दिन डिजिटल प्लेटफर्मको प्रयोग, हङकङमा QR code र सन्देश अनुप्रयोगहरू प्रयोग गरेर प्रदर्शन सञ्चालन, चिलीमा सार्वजनिक यातायात शुल्क वृद्धिको विरोधमा भएको आन्दोलन, भारतमा CAA–NRC विरुद्धको विद्यार्थी प्रदर्शन, नेपालमा MCC र पर्यावरणीय मुद्दामा उठेको विद्रोह यी सबैमा नेतृत्वकर्ता वा मूख्य सहभागि अधिकांश Gen Z नै थिए। उनीहरूले केवल नारामात्र उठाएनन्, आन्दोलनको रणनीति, सन्देश प्रवाह र अभियान सञ्चालनमा अग्रपंक्तिमा उभिए।

यो पुस्ताले अमेरिकी नीतिभित्र रहेर मानवअधिकार, लैङ्गिक समानता, जलवायु न्याय, मानसिक स्वास्थ्य र विविधता जस्ता मुद्दामा परम्परागत राजनीतिक शक्तिलाई समेत जवाफदेही बनाउन थालेको छ। Greta Thunberg, Malala Yousafzai, Emma González जस्ता व्यक्तित्वहरूले विश्व राजनीतिको ढोका घच्घच्चाएका छन्। यस्तो पुस्ता कुनै दल वा दर्शनको अन्ध समर्थन गर्दैन; बरु मुद्दामाथि आधारित समर्थन वा विरोध गर्छ। उनीहरूको दृष्टिकोण समावेशी, उदार, र अधिकार–आधारित छ।

तर यिनीहरूका सीमितताहरू पनि छन्। सामाजिक सञ्जालमा अत्यधिक निर्भरता, “performative activism” को प्रवृत्ति (सिर्फ पोस्ट गरेर समर्थन जनाउने), र मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू पनि बढिरहेका छन्। ट्रेन्ड पछ्याउने प्रवृत्तिले दीर्घकालीन प्रतिबद्धता कम गर्न सक्छ। कतिपय आन्दोलन केवल डिजिटल ट्रेन्डमा सीमित हुने खतरा पनि रहन्छ।

Gen Z अत्यधिक आदर्शवादी देखिन्छ। उनीहरू तत्काल परिणाम चाहन्छन्, तत्काल न्याय खोज्छन्। तर राजनीतिक प्रणालीहरू जटिल, ढिलो प्रतिक्रियाशील र अक्सर प्रतिरोधात्मक हुने भएकाले यिनीहरूको निराशा पनि छिटै देखिन्छ। यसले उनीहरूलाई राजनीतिक रूपले निष्क्रिय तुल्याउने सम्भावना रहन्छ, यदि संस्थागत समर्थन र रणनीतिक दिशा प्रदान गरिएन भने।

नेपालमा हेर्ने हो भने, Enough is Enough आन्दोलनमा युवा पुस्ताले सरकारलाई झस्काउने गरी दबाब सिर्जना गरे। सामाजिक सञ्जालबाट सुरु भएको अभियान सडकमा पुग्यो र सरकारले प्रतिबद्धता गर्न बाध्य भयो। MCC सम्बन्धी बहसमा पनि व्यापक जनमत निर्माणमा यही पुस्ताको निर्णायक भूमिका देखियो। तर ती सबै आन्दोलनको दीर्घकालीन उपलब्धि सुनिश्चित गर्न अझै संस्थागत र नीतिगत प्रयास आवश्यक छ।

आजको राजनीतिक, सामाजिक र जलवायु संकटको युगमा Gen Z एउटा चेतना मात्र होइन, परिवर्तनको एक सम्भावित युगान्तकारी शक्तिकाे रुपमा अगाडि सारिएको छ। उनीहरूको विद्रोहलाई केवल आवेगको रूपमा हेर्नु गम्भीर भूल हुनेछ भन्ने सन्देश दिइँदैछ। यिनीहरूको आवाज सुन्न सक्ने, दिशा दिन सक्ने र प्रणालीभित्र समाहित गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो। यस पुस्ताले साँचो अर्थमा विश्वलाई पुनः परिभाषित गर्न सक्छ यदि तिनीहरूको प्रश्नलाई उत्तर दिने आँट पुरानो पुस्तासँग छ भने।

Gen Z को ऊर्जा अनियमित छ, तर शक्तिशाली छ। त्यसलाई दबाउने होइन, दिशा दिने हो। किनकि यिनीहरू विद्रोही मात्र होइनन् यिनीहरूलाई सही मार्गदर्शन गर्ने हो भने युगान्तकारी पनि हुन सक्छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button