जेन-जेड आन्दोलनको ‘छायाँ नेतृत्व’ सुदन गुरुङको उदय र विवाद

# लक्की चन्द

जेन-जेड आन्दोलनले नेपालको राजनीतिक वृत्तमा जब नयाँ ऊर्जा ल्यायो, त्यही उर्जाबीच एक अपरिचित नाम एकाएक अगाडि आयो, सुदन गुरुङ। आन्दोलनको प्रारम्भमा उनी स्वयंसेवकका रूपमा देखा परे। युवा आन्दोलनमा पानी बाँडिरहेका थिए। दोस्रो दिन क्वाक्वा गर्दै रोएको भिडियो बाहिर आयो। तर केही दिनमै उनी संसददेखि सत्तासम्मको छलफलमा सहभागी हुन थाले। केवल तीन दिनमा मन्त्रिपरिषद विस्तारका निर्णयसम्म असर गर्न सक्ने तहमा पुग्न सक्ने नाम बने।

भदौ २५ सम्म सुरक्षा निकायका अधिकारीहरू पनि सुधनबारे बेखबर थिए। तर त्यसपछि प्राप्त भएको गोप्य सूचना र फाइलहरूले सबैलाई चकित बनायो। सुदन ‘स्वतन्त्र तिब्बत’ अभियानमा संलग्न संस्था, नेपालकै बदनाम बिचौलिया र केही विदेशी सहयोगी सञ्जालसँग जोडिएको रिपोर्ट आयो। यो अवस्थामा उनी ‘किङ्गमेकर’को भूमिकामा परिचालित भइसकेका थिए।

जेन-जेड आन्दोलनको पहिलो चरणमा सबल गौतम, पुरुषोत्तम यादव र मिराज ढुंगाना अग्रसर थिए। आन्दोलनको अनुमति लिन प्रशासन कार्यालय धाउँदा पनि उनीहरू थिए। तर आन्दोलन विस्तार र सफल हुन थालेपछि यी अग्रपंक्तिका नामहरू ओझेलमा परे। सुदन भने अग्रपंक्तिमा देखा परे। आन्दोलनमा पानी बाँड्ने भूमिकाबाट सुरु गरेका उनी, केही समयमै नेतृत्वकर्ताजस्तै प्रस्तुत हुन थाले।

उनले स्थापना गरेको ‘हामी नेपाल’ संस्था प्रारम्भमा सामाजिक कार्यका लागि भनेर चिनियो। तर विस्तारमा हेर्दा यो संस्था शंकास्पद आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय संस्थासँगको सम्बन्ध र राजनीतिक प्रभावकारितासँग गाँसिएको देखिन्छ। यो संस्थाले आफ्नो वेबसाइटमा भारतको ‘Students for a Free Tibet’ सँग सहकार्यको उल्लेख गरेको छ। त्यसैगरी अमेरिका स्थित ‘Himalayan Children’s Fund’ जस्ता संस्थाबाट सहयोग लिएको उल्लेख छ, जसको सम्बन्ध ‘Free Tibet’ अभियानसँग छ। नमोबुद्धको थांग्रु गुम्बासँग पनि यिनै सञ्जालको सहकार्य देखिन्छ।

‘हामी नेपाल’ ले दावी गरेको ५४ करोड रुपैयाँ सहयोगमध्ये कताबाट कति रकम आएको र कहाँ खर्च भयो भन्ने हिसाब प्रष्ट छैन। भनिएको छ ६३ लाख बाँकी छ, तर विवरण अस्पष्ट छन्। इसेवा, गोफन्डजस्ता माध्यमबाट चन्दा संकलन गरिएको देखिन्छ। संस्थामा दीपक भट्ट, सुलभ अग्रवाल, साहिल अग्रवाल जस्ता बिचौलिया र विवादित व्यापारिक घरानाको संलग्नता पनि देखिएको छ।

सुदनको पृष्ठभूमि पनि त्यत्तिकै जटिल देखिन्छ। गोर्खाको चुम्नुब्री गाउँपालिका स्थायी बासिन्दा मानिए पनि सुरुमा उनी नेपाली हुन् कि होइनन् भन्ने चर्चा उठेको थियो। आमा-बुबाको सम्बन्ध विच्छेदपछि उनी चितवनमा हजुरआमा–हजुरबुबासँग बसेर पढे। एसएलसी दिए। A Level मा भर्ना भए, तर पास हुन सकेनन्। करिअरको सुरुआत झम्सिखेलको इन्टरनेशनल क्लबमा डिजे भएर गरे। पछि ठमेलमा ‘ओएमजी’ नामक क्लब खोले। त्यसैबेला बालेन साहसँगको मित्रता देखियो। त्यसपछि विज्ञापन, कोरियोग्राफी हुँदै सेलिब्रिटी घेरासम्म पुगे। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आन्दोलनमा जोडिए। त्यहीँ हर्क साम्पाङसँग भेट भयो, जुन पछि विवादमा गयो।

उनको विदेश भ्रमण पनि शंकास्पद देखिन्छ। सन २०२३ मा टर्की र चीन, २०२४ मा थाइल्यान्ड भ्रमण गरे। हरेक ठाउँमा एक–एक महिना बिताए, तर भ्रमणको उद्देश्य प्रष्ट गरिएको छैन। आन्दोलनका बीच उनी बारम्बार प्रहरी प्रशासन, र जाँचबुझ आयोगका सदस्यहरूसँग भेट गरेर जेन-जेड आन्दोलनमा संलग्न केही समूहमाथि कारबाही नगर्न दबाब दिने प्रयासमा लागेका देखिन्छन्।

जेन-जेड आन्दोलनको आरम्भमा शान्तिपूर्ण रूपमा अघि बढिरहेका युवाहरूको पहलमा जब बाइकर्स समूह, ‘हामी नेपाल’का ज्याकेट लगाएका कमाण्डो शैलीका स्वयंसेवक, वाकी–टकी र भीडमा प्रभाव जमाउने शैली प्रकट हुन थाल्यो, आन्दोलनको संरचना नै परिवर्तन हुन थाल्यो। आन्दोलनमा प्रयोग गरिएको वाकी–टकी ‘विपद व्यवस्थापन’ को नाममा जिल्ला प्रशासन कार्यालयबाट लिइएको भए पनि प्रयोग भने आन्दोलनमा भयो।

यति मात्र होइन, अहिले सुदन आफैं ‘जेन-जी पुस्ताको नेता’ को रूपमा स्थापित हुने अभियानमा छन्। तर तथ्यगत रूपमा हेर्दा उनी २०४४ सालमा जन्मिएका हुन् अहिले ३८ वर्षका भए। जेन-जेड भन्ने पुस्ता भने २८ वर्षमुनिका युवालाई जनाउने शब्द हो। अर्थात उमेरले उनी त्यस पुस्तामा परेका छैनन्। तर उनी आफैंलाई जेन-जेडको प्रतिनिधि मात्रै होइन, अन्तर्राष्ट्रिय मिडियामार्फत ‘भावी प्रधानमन्त्री’को छवि निर्माणमा सक्रिय देखिएका छन्।

सुदनको राजनीति प्रवेश कुनै पार्टीको नेतृत्वमा नभई, स्वतन्त्र आन्दोलनबाट सुरु भएको देखिए पनि अहिलेको भूमिकाले उनी आन्दोलनको ‘हाइज्याक’ मा संलग्न भएको आरोप खेपिरहेका छन्। यो आरोपको जरामा उनको पृष्ठभूमि, उनी संलग्न संस्थाहरूको विवादास्पद सम्बन्ध, र आन्दोलनलाई नियन्त्रण गर्न खोज्ने शैली रहेका छन्।

वास्तवमा, सुदनको उदय केवल व्यक्तिगत चरित्रको कथा होइन यो नेपालको युवा आन्दोलन, अन्तर्राष्ट्रिय सञ्जाल, र सत्ता समीकरणबीचको जटिल सम्बन्धको प्रतिबिम्ब हो। नेतृत्व कसले गर्छ? निर्णायक शक्ति कसको हातमा जान्छ? र यो सबै प्रक्रियामा जनता कति साक्षी छन् र कति प्रयोग भइरहेका छन् यी प्रश्नहरूमाथि अब गम्भीर बहस आवश्यक देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button