नेपालमा भूकम्पीय जोखिम, वैज्ञानिक विश्लेषण र भविष्यका सम्भावनाहरू

# लक्की चन्द 

हालै गरिएको एक वैज्ञानिक अनुसन्धानले नेपालमा भूकम्पजन्य खतरा पहिलेभन्दा बढेको संकेत दिएको छ। यो अध्ययनले विशेषगरी हिमाली क्षेत्रमा ठूला भूकम्पको उच्च सम्भावना रहेको प्रमाणित गरेको छ। यसको मुख्य कारण पृथ्वीमुनिका टेक्टोनिक प्लेटहरूको सतत गति र अवस्थितिलाई मानिएको छ।

नेपालको भूगर्भीय संरचना दुई विशाल प्लेटहरू – इन्डियन प्लेट र युरेसियन प्लेटबीचको टकरावको प्रत्यक्ष परिणाम हो। इन्डियन प्लेट प्रतिवर्ष लगभग ४ सेन्टिमिटरको दरले उत्तरतर्फ युरेसियन प्लेटमुनि धकेलिँदैछ, जसले गर्दा हिमालय क्षेत्रमा भूगर्भीय तनाव निरन्तर बढ्दै गएको छ। यसै तनावको परिणामस्वरूप सगरमाथाको उचाई पनि निरन्तर बढिरहेको छ।

वैज्ञानिकहरूले भूगर्भीय तनावमा पहिलेभन्दा वृद्धि भएको पत्ता लगाएका छन्, जसले नेपालमा ठूलो भूकम्पको सम्भावना बढाएको हो। यो स्थिति लाखौं वर्षदेखि चलिआएको भूगर्भीय प्रक्रियाको अंग हो। भारतीय उपमहाद्वीप करोडौं वर्षअघि अफ्रिका र अन्टार्टिका नजिकै रहेको थियो, जुन कालान्तरमा उत्तरपूर्वतर्फ सर्दै एसियासँग टकराएको थियो। यही टकरावले हिमालयको निर्माण गरेको हो।

भूकम्प उत्पत्तिको प्रक्रियालाई वैज्ञानिक रूपमा यसरी व्याख्या गर्न सकिन्छ: इन्डियन प्लेटले एसियाली प्लेटमुनि धसेपछि दुवै प्लेटबीचको सामग्री विकृत हुँदै जान्छ। यो विकृति बढ्दै जाँदा एउटा यस्तो बिन्दु आउँछ जहाँ चिरा पर्छ र प्लेटहरू सन्तुलनको लागि तलमाथि गरी एडजस्ट हुन्छन्। यसै एडजस्टमेन्टले भूकम्प उत्पन्न गर्छ। यस प्रक्रियालाई सजिलै एक सिन्को बाँगिँदै जाँदा अन्त्यमा भाँचिने उदाहरणबाट बुझ्न सकिन्छ।

नेपाल भूकम्पीय दृष्टिले अत्यन्त सक्रिय क्षेत्रमा पर्दछ। २०७२ सालमा आएको विनाशकारी भूकम्पले थुप्रै मानिसको ज्यान लिएको थियो। भूकम्प एक प्राकृतिक घटना हो भने पनि यसबाट हुने क्षति मानवनिर्मित संरचना र पूर्वतयारीको अभावले नै बढी हुने गर्छ।

भूकम्प मापनको लागि सिस्मोग्राफ नामक यन्त्र प्रयोग गरिन्छ। यस यन्त्रको आधार जमिनसँग जोडिएको हुन्छ भने एउटा भारी वस्तु स्प्रिङ्ग वा स्ट्रिङमा झुन्ड्याइएको हुन्छ। भूकम्प आएमा आधार हल्लँदा पनि झुन्डिएको वस्तु स्थिर बस्थ्यो। यी दुवैबीचको गतिको भिन्नतालाई रेकर्ड गरेर भूकम्पको तीव्रता मापन गरिन्छ।

भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न तीनवटा मुख्य कदम चाहिन्छ: पहिलो, भवन तथा संरचनाहरू हलुका र होचा बनाउने; दोस्रो, भवन निर्माणमा भूकम्प प्रतिरोधी डिजाइनलाई प्राथमिकता दिने; तेस्रो, राष्ट्रिय र स्थानीय स्तरमा पूर्वतयारी कार्यक्रमहरू लागू गर्ने।

अन्तमा, नेपालमा भूकम्पको खतरा सधैं रहनेछ, किनभने यो हाम्रो भूगर्भीय अवस्थितिको अभिन्न अंग हो। तर उचित योजना, निर्माण र तयारीबाट यसबाट हुने क्षति लगभग ८० प्रतिशतसम्म कम गर्न सकिन्छ। वैज्ञानिक अनुसन्धानले देखाएको बढ्दो जोखिमले यस विषयमा अहिले नै गम्भीर हुन आवश्यकता रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button