नेपालमा ‘सेन्टिमेन्ट–आधारित राजनीति’ र विदेशी शक्तिहरूप्रति दोहोरो चरित्रको उभार

# पासाङ ल्हामु
नेपालको समकालीन राजनीतिक संस्कृतिमा एउटा अजीब तर खतरनाक चरित्र तीव्र गतिमा मजबुत हुँदै गएको देखिन्छ; जनतालाई राष्ट्रवाद, भावनात्मक उत्तेजना र “विदेश–विरोधी” नाराले उचाल्न लगाउने तर आफु भने त्यही विदेशी शक्तिहरूका सामान्य कर्मचारीदेखि उच्च अधिकारी, राजनीतिक तथा विभिन्न अन्तर्राष्ट्रिय संरचनासँग निर्बाध सम्बन्ध र।सहकार्य बनाइरहने राजनीतिक प्रवृत्ति। यो विरोधाभास केवल व्यक्ति–स्तरको दम्भ होइन; यो संरचनात्मक दोग्लापन (structural duplicity) हो, जसले नेपालजस्तो भूराजनीतिक संवेदनशील राज्यलाई दीर्घकालीन रूपमा कमजोर बनाउने गहिराे आधार तयार गर्छ।
नेपालको भू–राजनीतिक अवस्थाले स्वाभाविक रूपमा भारत र चीनजस्ता महाशक्ति छिमेकीसँग सन्तुलित सम्बन्ध माग्छ। त्यहीसँगै पश्चिमी मुलुकहरूले नेपालको आर्थिक, प्राविधिक तथा सुरक्षा–संरचनामा दशकौँदेखि गहिरो उपस्थिति बनाइरहेका छन्। यति स्पष्ट वास्तविकता हुँदाहुँदै पनि नेपालका कतिपय दलहरू र नेताहरूले आन्तरिक सत्ता–खेलमा भावनात्मक राष्ट्रवादलाई हतियार बनाउने तर बाह्य शक्तिसँग सघन सहकार्यलाई निजी लाभका लागि उपयोग गर्ने दोहोरो व्यवहार अपनाए। उनीहरू जनतालाई “विदेशी हस्तक्षेप विरोधी” भाषण सुनेर ताली बजाउन बाध्य पार्छन्, तर पछाडिबाट विदेशी शक्ति–केंद्रसँग आर्थिक, कूटनीतिक वा व्यक्तिगत स्वार्थका लेनदेन गर्छन्।
अन्तर्राष्ट्रिय राजनीति बुझ्ने जो–कसैले थाहा पाउँछ कि सार्वभौमिक सम्बन्ध–सन्तुलन भनेको रूपमा सधैं पारदर्शितामा टिक्छ, दोग्लापनमा होइन। जब कुनै देशका दलहरू आफ्नो आन्तरिक राजनीति चलाउन विदेशी आलोचना, भावनात्मक राष्ट्रवाद र “एकका–विरुद्ध–अर्को” को विभाजित चेतना बेच्न थाल्छन्, त्यो देश अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीय भागिदारको रूपमा कम ठहरिन थाल्छ।
नेपालमा यो परिस्थिति बढ्नुका केही गहिरा कारणहरू छन्।
पहिलो, राजनीतिक अस्थिरता र सत्ता–केन्द्रित मानसिकता, संस्था निर्माणभन्दा तत्कालीन सत्ता–नियन्त्रण महत्त्वपूर्ण मानियो। जनता लामो समयसम्म विफलताबाट थकित हुँदा दलहरूलाई “भावनात्मक भाषण” छोटो मार्गजस्तो लाग्यो। दोस्रो, विदेश–नीति र राष्ट्रिय हितको स्पष्ट परिभाषा अभाव, नेपालले आफ्नो रणनीतिक प्राथमिकताहरूलाई संस्थागत गर्ने, राष्ट्रिय हित कसरी पुरा हुन्छ भन्ने स्पष्ट ढाँचा बनाउने काममा ध्यान दिएन। यसले दलहरूलाई बाह्य शक्तिसँग अनियन्त्रित तर निजी लाभमुखी सम्बन्ध बनाउन छुट दियो। तेस्रो, जनतामा राजनीतिक चेतना कमजोर पार्ने दीर्घकालीन अभ्यास। जब नागरिकलाई तथ्य, नीति र विश्लेषणभन्दा भावना, रिस र राष्ट्रियता–नामक उत्तेजना प्राथमिक रूपमा प्रस्तुत गरिन्छ, उनीहरूले पनि यिनै कुरालाई राजनीतिक मूल्यको रूपमा ग्रहण गर्न थाल्छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति आजको संसारमा अत्यन्त जटिल छन्। कुनै मुलुकसँग मित्रता, सहयोग वा प्रतिस्पर्धा हुनु स्वाभाविक हो। तर प्रस्ट रुपमा देखिएको समस्या भनेको, नेपालका कतिपय राजनीतिज्ञले राष्ट्रिय हितलाई होइन, निजी हितलाई आधार बनाएर विदेशी शक्तिसँग सम्बन्ध बनाउने तर जनतालाई यसको उल्टो कथा सुनाउने चरित्र। विदेशभ्रमण, सम्मेलन, साझेदारी कार्यक्रम, अनुदान, ‘नरम दबाब’ र राजनीतिक पहुँच, यी सबै लाभ राजनीतिक नेतृत्वले उपयोग गर्छ तर जनता भने “विदेशीको प्रभावको खतरा” भनेर उचालिन्छन्।
यो प्रवृत्तिले दीर्घकालीन रूपमा नेपाललाई तीन तरिकाले कमजोर बनाउँछ। पहिलो, नीति–अस्पष्टता; जब दलहरू भावनामा आधारित भाषा बोल्छन् तर व्यवहारमा विपरीत दिशा लिन्छन्, अन्तर्राष्ट्रिय समुदायले नेपालको दीर्घकालीन हस्ताक्षरमा विश्वास गर्न कठिन मान्छ। यसले लगानी, साझेदारी र रणनीतिक परियोजनाहरूलाई अनिश्चित बनाउँछ।
दोस्रो, सत्ता–निर्भर विदेशी सम्बन्ध – देश होइन, व्यक्तिको प्रभावमा सम्बन्ध चल्दा विदेश–नीति स्थायी हुँदैन। सरकार फेरिएसँगै प्राथमिकता उल्टिने वातावरण बनिन्छ, जसले नेपाललाई अस्थिर भागिदार बनाउँछ। तेस्रो, जनताको राजनीतिक चेतनाको ह्रास। राष्ट्रवाद र भावनात्मक नारामात्र बेचेर राज्य सञ्चालन हुन सक्दैन। जब नागरिकलाई तथ्य होइन, केवल ‘भावना’ बेचिन्छ, समाज लामो समयसम्म विभाजित, अविश्वासी र प्रतिक्रियाशील बन्छ।
वैश्विक कूटनीतिमा एउटा मूल सिद्धान्त मानिन्छ, जो नेता घरभित्र अत्यधिक विदेशी–विरोधी भाषा बोल्छ, त्यही नेता प्रायः परराष्ट्र शक्तिसँग समझौतामा सबैभन्दा टेकेर बसिरहेको हुन्छ। यही दोहोरो चरित्र नेपालमा पनि वर्षौंदेखि दोहोरिँदै आएको छ। यस्तो व्यवहारले नेपाललाई न त भारतसँग सम्मानजनक मित्रता दिन सक्छ, न चीनसँग रणनीतिक समानता, न पश्चिमसँग भरोसायोग्य साझेदारी।
नेपाललाई अन्तर्राष्ट्रिय शक्ति–प्रतिस्पर्धाको अविश्वसनीय खेलौना होइन, स्वाभाविक–सन्तुलित भागिदारका रूपमा अघि बढाउन तीन कुरा अत्यावश्यक छन्। पहिलो, विदेश–नीति संस्थागत पारदर्शिता; दोस्रो, जनतालाई तथ्य–आधारित राजनीतिक शिक्षामा फर्काउने संरचना; र तेस्रो, दलहरूले निजी हित होइन, राष्ट्रिय हित केन्द्रित कूटनीति अपनाउने राजनीतिक संस्कार।
विदेशी शक्तिको प्रभावलाई नकारेर होइन, पारदर्शितापूर्वक सन्तुलित ढंगले व्यवस्थापन गरेर मात्र राष्ट्रको स्वाधीनता सुरक्षित हुन्छ। तर जब नेता–दलहरू आफू विदेशी शक्तिसँग घनिष्ठ भएर बस्छन् र जनतालाई “विदेशप्रति घृणा” बेचेर उचाल्छन्, त्यहाँ राष्ट्रवाद होइन केवल ढोंग, अवसरवाद र सत्ता–केन्द्रित भावनात्मक व्यापार मात्र बाँकी रहन्छ। यही व्यापारलाई आज धेरै नेपालीले “सेन्टिमेन्ट बेच्ने राजनीति” भनेर बुझ्न थालेका छन्, र यसलाई सुधार्ने जिम्मेवारी अब दलहरूको होइन, जनताको राजनीतिक चेतनाको स्तरले नै निर्वाह गर्नुपर्ने अवस्था आउँदैछ।





