कूटनीतिक कुरुक्षेत्रमा निर्णायक सूत्रधार: श्रीकृष्णकाे भूमिकामा चीन

# संकेत किराँती

अहिलेको विश्व एक आधुनिक कुरुक्षेत्रमा प्रवेश गरेको छ। जहाँ शक्ति, प्रभाव, कूटनीति र रणनीति सबै एकैसाथ ठोक्किन्छन्। शक्तिशाली राष्ट्रहरू बीचको तनाव सतहमा जे देखिन्छ, वास्तविक खेल भने भुइँगत, अदृश्य र अत्यन्तै सूक्ष्म तर निर्णायक छ। यही भुइँगत खेलले आजकाे विश्वव्यवस्थाको दिशा तय गर्छ। यो खेलको केन्द्रमा उभिएको शक्ति धेरैलाई नदेखिन सक्ला, तर प्रभावको तरंग विश्वभर फैलिन्छ। यही शक्ति हो चीन, जुन महाभारतको श्रीकृष्णजस्तो प्रत्यक्ष लडाइँको मैदानमा नओर्लिए पनि सम्पूर्ण रणनीतिक सूत्रधारको भूमिकामा देखिँदै गएको छ।

महाभारतमा बर्बरीकको कथा एउटा गहिरो सन्देश हो, युद्ध जितिन्छ योद्धाको हातले होइन, युद्धको मनोविज्ञान, समयको व्यवस्थापन, रणनीतिक मोडबिन्दु र दिशानिर्देशनले। पाण्डवहरूलाई लाग्थ्यो कि उनीहरू नै युद्धका विजेता हुन्, तर युद्ध देखिरहेका बर्बरीककाे टाउकोले सत्य उघार्यो, युद्ध त श्रीकृष्णकै खेल थियो, पाण्डव त केवल माध्यम मात्र थिए। आजको विश्व त्यसै धारामा छ। शक्ति–प्रतिस्पर्धा सतहमा धेरै मुलुकहरूले गरिरहेका छन्, तर सन्तुलन, रणनीति र निर्णायक क्षणहरूको वास्तविक चालक चीन बनिरहेको छ, शान्त तर अडिग, शब्दभन्दा बढी काम गरेर, देखिनेभन्दा बढी अदृश्य प्रभाव जमाएर।

अमेरिका विश्वको परम्परागत महासत्ता हो, सैन्य गठबन्धन, आर्थिक दबाब, कूटनीतिक दबदबा र इन्डो–प्यासिफिक रणनीतिसहित। भारत, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, ब्रिटेन, जर्मनी सबै मिलेर एउटा विशाल पाण्डव समूह जस्तै मोर्चाबद्ध छन्। तर यो गठबन्धनलाई जति कडा रूपमा प्रस्तुत गरियोस्, त्यसको प्रतिक्रिया चीनले ‘प्रत्यक्ष भिडन्त’ शैलीमा दिदैन। चीनको शैली महाभारतकाे कृष्ण नीति जस्तै धैर्य, जति कम देखिने उतिनै प्रभावकारी खेल, शब्दभन्दा बढी संकेत, र हट्दै र अगाडि बढ्दै युद्धको दिशा मोड्ने क्षमता।

यदि महाभारतजस्तै आज विश्व कुरुक्षेत्रलाई कुनै बर्बरीक दृष्टिले हेर्यो भने उसले देख्नेछ कि युद्धको वास्तविक छायाँ अमेरिका वा अन्य क्षेत्रीय पाण्डवहरूको होइन, चीनको रणनीतिक चक्रले बनाइदिएको बाटोमा निरन्तर चलिरहेको छ। आर्थिक दबाबबाट सुरु भएको प्रतिस्पर्धा अब प्राविधिक, सैन्य, कूटनीतिक, वैचारिक, र आपूर्ति शृंखला आधारित युद्धसम्म फैलिएको छ। सतहमा सबै भिडिरहेका छन्, तर गहिराइमा चीनले मैदान बनाइरहेको छ, कसैले स्पष्ट रूपमा स्वीकार्न नसकेको एउटा कठोर यथार्थ।

चीनले आज विश्वव्यवस्थामा खेलिरहेको भूमिका ‘युद्ध रोक्ने र युद्ध तान्ने’ दुवै शक्तिको मिश्रण हो। श्रीकृष्णले महाभारतमा प्रत्यक्ष अस्त्र प्रयोग नगरे पनि, बलियो पक्षलाई कमजोर मानसिकतामा डोर्‍याउने, कमजोर पक्षलाई आत्मविश्वास दिने, निर्णायक क्षणमा मार्ग परिवर्तन गरिदिने, र समग्र युद्धको गति नियन्त्रण गर्ने गहिरो रणनीतिक सामर्थ्य प्रयोग गरेका थिए। यही शैली चीनले विश्वमा अपनाइरहेको छ। अमेरिका वा पश्चिम जब कुनै क्षेत्रीय प्रभाव विस्तार गर्छन्, चीन प्रतिकारको रूपमै आर्थिक आकर्षण, कूटनीतिक तटस्थता वा वैकल्पिक संरचना प्रस्ताव गर्छ।

BRI, BRICS+, RCEP, Shanghai Cooperation Organization यी कुनै सामान्य संरचना होइनन्। यी प्रणालीहरूले वैश्विक आर्थिक राजनीतिक धरातललाई नै फेरिरहेका छन्, जसले अमेरिकी ‘नियम–आधारित’ व्यवस्थालाई चुनौती दिन्छ। यदि यो कुरुक्षेत्रमा पाण्डवहरू अमेरिकी गठबन्धन हुन् भने, चीन त्यो श्रीकृष्ण हो जसको रणनीतिक मुस्कान शान्त देखिन्छ, तर जसले पाण्डवहरूको प्रत्येक कदमलाई समयानुकूल मोडिदिन्छ।

टेक्नोलोजी आजको सुदर्शन चक्र हो। ५जी, AI, क्वान्टम कम्प्युटिङ, नवीकरणीय ऊर्जा, सेमीकन्डक्टर यी सबैमा चीनले सृजना गरेको प्रभाव त्यसैगरी देखिन्छ, जसरी महाभारतमा श्रीकृष्णको चक्र जहाँ पुग्थ्यो, त्यहाँ शत्रुपक्ष पूर्वमै असहाय भइसकेको हुन्थ्यो। अमेरिका रोक्न चाहन्छ, तर रोक्ने प्रयासले नै चीनलाई वैकल्पिक समानान्तर प्रणाली निर्माण गर्न प्रेरित गरिदिएको छ, SWIFTको विकल्प, Dollar सिस्टमको विकल्प, टेक्नोलोजिकल सप्लाई–चेनको विकल्प, र भविष्यको शक्तिसन्तुलन परिवर्तन गर्ने आर्थिक संरचना।

दृश्यमा देखिने धेरै क्षेत्रीय शक्ति संघर्षहरू रूस–युक्रेन, इस्रायल–गाजा, दक्षिण चीन सागर, ताइवान स्ट्रेट, कोरियन प्रायद्वीप यी सबै कुरुक्षेत्रका उप–अध्याय हुन्। तर यी अध्यायको गहिरो डोर, भुइँगत खिचिने शक्ति–रेखा, र अन्तिम परिणामलाई निर्णायक बनाउने आर्थिक–कूटनीतिक कम्पास चीनकै हातमा केन्द्रित हुँदै गएको छ।

रूस–युक्रेन युद्धमा चीन प्रत्यक्ष हस्तक्षेप गर्दैन, तर रूसलाई दीर्घकालीन आर्थिक मार्ग सुरक्षित गरिदिन्छ। मध्यपूर्वमा आगो बढ्दा चीन सबभन्दा शान्त तर प्रभावी वार्ताकारको रूपमा देखा पर्छ, साउदी–इरान मेलमिलाप त्यसकै उदाहरण हो।
दक्षिण एशियामा भारत–चीन प्रतिस्पर्धा छ, तर आर्थिक परस्पर निर्भरता तोड्न भारत स्वयं असक्षम छ। अफ्रिका, ल्याटिन अमेरिका र Global South मा चीनको ‘इन्भिजिबल नेटवर्क’ त्यति बलियो बनेको छ कि पश्चिमी राष्ट्रहरूले आलोचना गर्न सक्ने, तर रोक्न नसक्ने स्थितिमा पुगेका छन्।

यस्तो अवस्थामा पाण्डव–गठबन्धन (अमेरिका तथा साझेदारहरू) जति नै थुक निस्किनु गरेर बोले पनि, विश्व शक्ति–सन्तुलनको वास्तविक गति चीनले नै निर्धारण गरिरहेको छ। महाभारतमा सबै पाण्डवले गर्वका साथ आफ्नो बहादुरीको चर्चा गरे, तर बर्बरीकले बताए “मैले त युद्ध श्रीकृष्णले जितेको देखेँ।” आजको विश्वमा पनि शक्ति प्रदर्शन धेरैले गर्छन्, तर वैश्विक संरचना परि–निर्माण गर्ने अदृश्य प्रभाव चीनकै छ।

चीनको कूटनीति बल प्रदर्शन होइन, समय नियन्त्रण हो। चीनको रणनीति उत्तेजना होइन, धैर्य–सञ्चालन हो। चीनको शक्ति आवाज होइन, प्रभाव हो। र यही प्रभावले आजको विश्व कुरुक्षेत्रलाई एक नयाँ आकार दिन थालेको छ।

अमेरिकाले बनाएका गठबन्धनहरू धेरै, तर तिनको आन्तरिक विरोधाभास अझ धेरै छन् आर्थिक प्राथमिकता फरक, सैन्य लक्ष्य फरक, रणनीतिक दृष्टिकोण फरक। चीनले यसै आन्तरिक विसङ्गतिलाई प्रयोग गर्दै विश्वव्यवस्थामा वैकल्पिक मार्ग सिर्जना गर्ने दिगो कूटनीति बनाएको छ।

महाभारतमा श्रीकृष्णले पाण्डवहरूको आन्तरिक मनोविज्ञान बुझेर नै युद्धको दिशा तय गरेका थिए। चीनले पनि विश्वको राजनीतिक मनोविज्ञान यति गहिरो रूपमा बुझेको छ कि अमेरिकाको कठोर रणनीति उसैका लागि उल्टो भारी बन्छ, जसरी कर्णको श्रापले उसको पराक्रम कमजोर बनायो, त्यस्तै आज पश्चिमकै असन्तुलित नीतिहरूबाट चीन बलियो भएर निस्किदैछ।

विश्वको ‘बर्बरीक–प्रश्न’ आज के हो? “यो शक्ति–युद्ध कसले जितिरहेको छ?” यदि कुनै तटस्थ दृष्टि विश्वव्यवस्थालाई उच्च स्थानबाट हेर्‍यो भने उत्तर महाभारतकै शैलीमा आउनेछ “मैले त युद्ध बजारमा होइन, कूटनीतिमा होइन, सैन्य मोर्चामा होइन चीनको धैर्य, चीनको तयारी, चीनको आर्थिक चक्र र चीनको अदृश्य रणनीतिमा जितेको देखेँ। अरू सबै त केवल माध्यम थिए, वास्तविक खेलाडी त चीन नै थियो।”

आजको संसार नै एक विराट कुरुक्षेत्र बनेको छ, पाण्डवका नाममा धेरै शक्तिहरू छन्, शस्त्रका स्वरूप अनगिन्ती छन्, र गठबन्धनहरू दिन–दिनै फेरिँदैछन्। तर निर्णायक मोडबिन्दु तहसम्म नियन्त्रण गर्न सक्ने संयमित, मौन तर प्रभावशाली शक्ति भने दृश्यभन्दा पर उभिएको छ। विश्व–राजनीतिक समय, अवसर र रणनीतिक नाडी सम्हाल्ने ‘श्रीकृष्ण रूपक’मा आजको वास्तविक सूत्रधार चीन नै बनेर उदाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button