पुटीन–माेदी भेट : दक्षिण एसियाको शक्ति–नक्सा फेरिने संकेत

# मुना चन्द

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दिवसीय भारत भ्रमण केवल औपचारिक सौजन्य भेट होइन, दक्षिण एसियाको शक्ति–समीकरण परिवर्तनको सुरुआत जस्तै हो। नयाँदिल्लीमा पुटिनको आगमनसँगै भारतले अपनाएको कडाइपूर्ण सुरक्षा व्यवस्था, उच्चस्तरीय कूटनीतिक सर्तकता र अन्तर्राष्ट्रिय शक्तिहरूको तीव्र प्रतिक्रिया स्वयंले संकेत गर्छ कि यो भेटघाटले विश्वलाई कस्तो सन्देश दिन्छ भन्ने सबैको चासो रहेकाे छ। विश्व अहिले एकध्रुवीय अमेरिकी प्रभुत्वबाट बहुध्रुवीय प्रतिस्पर्धात्मक युगमा प्रवेश गर्दैछ र त्यही प्रक्रियाको केन्द्रमा आज भारत–रूस सम्बन्ध पुनः निर्माण हुँदैछ।

शीतयुद्धपछि केही समय फिक्का बनेको मस्को–नयाँदिल्ली साझेदारी युक्रेन युद्ध, चीनको तीव्र उदय र अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिका कारण फेरि निर्णायक मोडमा पुगेको छ। भारतका लागि रूस ऊर्जा, रक्षा, अन्तरिक्ष र प्राविधिक विकासका क्षेत्रहरूमा अझै अपरिहार्य साझेदार हो भने रूसका लागि भारत पश्चिमी प्रतिबन्ध, चीनमाथिको अति–निर्भरता र एशियामा आफ्नो प्रभाव पुनर्जीवित गर्न सक्ने ठूलो शक्ति हो। यही कारण आजको भेट केवल द्विपक्षीय सम्बन्धको पुनर्पुष्टि मात्र होइन, विश्व–व्यवस्थामा एउटा नयाँ ध्रुवीय संरचना जन्मिन लागेको संकेत हो।

पुटिनको यो भ्रमणलाई चीन अत्यन्तै ध्यानपूर्वक हेरिरहेको छ। यद्यपि रूस र चीनबीच विगत केही वर्षमा घनिष्टता बढेको देखिन्छ, तर रूस चीनको एकमात्र विकल्पमा सीमित हुन चाहँदैन। भारतसँगको निकटता रूसका लागि रणनीतिक सन्तुलन हो। भारतले पनि चीनसँगको प्रतिस्पर्धा, सीमा तनाव र दक्षिण एसियामा प्रभावकारक भूमिकाका कारण रूसलाई सन्तुलनकारी शक्ति मान्छ। यही त्रिकोणीय समीकरण भारत, चीन र रूसबीचको समीकरण, आज दक्षिण एसियाको भविष्यकाे नक्सा कोर्नेतर्फ अग्रसर हुँदैछ।

पुटिन–मोदी भेट अमेरिकाका लागि समेत महत्त्वपूर्ण संकेत हो। अमेरिका भारत–जापान–अष्ट्रेलियासँग मिलेर चीनलाई सन्तुलनमा राख्न चाहन्छ, तर भारत रूससँगको परम्परागत सम्बन्ध तोड्न तयार छैन। यसले वाशिङ्टनलाई चिन्तित बनाएको छ, किनकि भारतले अर्काे शक्ति–केन्द्रसँग पनि घनिष्ठता विस्तार गर्दैछ। भारत खुलेर भन्छ “हाम्रो पहिलो प्राथमिकता भारत नै हो।” यही कारण भारत कुनै पनि ब्लकमा पूर्ण रूपमा आबद्ध हुन चाहँदैन; उसको लक्ष्य ‘रणनीतिक स्वतन्त्रता’ कायम राख्ने हो, जुन पुटिनको यस भ्रमणले फेरि स्पष्ट बनाएको छ।

दिल्लीमा गरिएका असाधारण सुरक्षा व्यवस्थाहरू पनि त्यसकै संकेत हुन्। पुटिन विश्वका सबैभन्दा उच्च जोखिममा रहेका राष्ट्राध्यक्षमध्ये एक भएकाले भारतले साइबर सुरक्षा, डिजिटल जामिङ, हवाई–रक्षा क्षेत्र, गुप्तचर सूचनाको बहुस्तरीय संयोजन र कूटनीतिक संवेदनशीलता जोडेर सुरक्षा बलियो बनाएको छ। युक्रेन युद्ध चलिरहेकै समयमा पुटिनको विदेश भ्रमण दुर्लभ मानिन्छ, त्यसैले दिल्लीमा उनले गरेका प्रत्येक कदम र अभिव्यक्ति अन्तर्राष्ट्रिय विश्लेषकहरूको केन्द्रमा रहने निश्चित छ।

यस भ्रमणको प्रभाव केवल भारत–रूस सम्बन्धमा सीमित हुँदैन; नेपाल, भूटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सजस्ता दक्षिण एसियाली देशहरूमा समेत यसको रणनीतिक प्रतिच्छाया पर्छ। भारत–रूस साझेदारी मजबुत बनेमा चीनको BRI प्रभाव केही कमजोर हुन सक्छ र भारतले आफ्नो ‘क्षेत्रीय सुरक्षा वल’लाई थप सुदृढ बनाउन सक्छ। नेपाल र भूटानले रूससँग वैकल्पिक कूटनीतिक पहुँच विस्तार गर्ने सम्भावना बढ्छ भने हिन्द–महासागर क्षेत्रमा भारत–रूसको सम्भावित समुद्री सहकार्य श्रीलंका र माल्दिभ्समा चीन–भारत प्रतिद्वन्द्विताको रूपान्तरणकारी मोड बन्न सक्छ।

ऊर्जा र रक्षा भारत–रूस सम्बन्धका दुई केन्द्र हुन्। रूस वर्तमान समयमा भारतको प्रमुख तेल आपूर्ति–स्रोत बनेको छ र कच्चा तेल खरिदको विस्तारलाई पश्चिमी राष्ट्रहरूले ध्यानका साथ हेर्दै आएका छन्। रक्षा क्षेत्रमा भारतका अधिकांश अत्यावश्यक उपकरण रूसी मूलका छन्, जसको प्रतिस्थापन छोटो समयमै सम्भव छैन। आगामी वर्षहरूमा दुवै देशले मिसाइल, संयुक्त रक्षा उत्पादन, अन्तरिक्ष सुरक्षा, साइबर–सहकार्य र समुद्री सुरक्षा जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।

यदी भारत–रूसबीच रुपी–रुबल व्यापारलाई मजबुत बनाइयो भने चीनको डिजिटल–युआन वैकल्पिक वित्तीय संरचनामा सन्तुलनकारी भूमिकामा धकेलिन सक्छ। BRICS विस्तार र नयाँ वित्तीय संरचना मार्फत विश्वले डलर–केन्द्रित प्रचलनबाट हट्ने संकेत पनि यसै प्रकारका भेटघाटहरूले दिएको छ।

पुटिनको दिल्ली आगमनले विश्वलाई एउटा ठोस सन्देश दिएको छ–भारत अब विश्व–राजनीतिक ‘टिपिङ प्वाइन्ट’ बनेको छ। न अमेरिकाको पूर्ण सहयोगी, न चीनको प्रतिस्पर्धात्मक विरोधी, भारत आज स्वतन्त्र ध्रुवको भूमिकामा उभिँदैछ। रूससँगको निकटताले यो भूमिकालाई थप विश्वसनीय बनाएको छ।

दक्षिण एसिया अब विश्व कूटनीतिक नक्साको परिधि होइन, केन्द्रमा प्रवेश गर्न लागेको छ। पुटिनको यो यात्रा त्यस युगको आरम्भिक संकेत हो जहाँ भारत, रूस र चीनको त्रिकोणीय सम्बन्धले आफ्नो उपस्थितिको नयाँ परिभाषा तय गर्दैछ र जुन प्रतिस्पर्धा, सन्तुलन र अवसरको नयाँ संरचना निर्माण गर्दैछ।

यसरी हेर्दा, पुटिनको भारत भ्रमण केवल परम्परागत कूटनीतिक घटना होइनयो एशिया र विश्व दुवैलाई दीर्घकालीन रूपमा प्रभाव पार्ने ऐतिहासिक भू–राजनीतिक मोडबिन्दु हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button