८ बैशाख २०८३, मंगलवार

“छहरा” को आवाज र हतियार उठाएका हातहरू

# प्रेम सागर पाैडेल

युवा पत्रकार दिल निशानी मगरको फेसबुक पोष्ट पढ्दा, मेरो दिमागमा झण्डै दुई दशक पहिलेको एउटा दृश्य बारम्बार घुम्यो। “बाहुनले हामीलाई विभेद गर्यो भन्छन्… यो जनजाति नाम धारण गरेको समूह जतिको racist आत्मा मैले संसारमा कतै देखेको छैन।” यी शब्दहरूले मलाई सीधा २०५३ सालमा पुर्यायो, त्यतिबेला म छहरा साप्ताहिकको सल्लाहकार सम्पादक थिएँ।

छहरा साप्ताहिक। नेपालको पहिलो र सबैभन्दा पुरानो आदिवासी जनजातिको पक्षमा खडा हुने पत्रिका। यसका प्रकाशक र सम्पादक गोपाल छाङ्छा राई, जसलाई हामी सबैले गोपाल दाई भनेर सम्बाेधन गर्थ्याैं। उहाँको पसिना र सपनाको साथ सँधै छहरा चल्थ्यो। तर पत्रिका चलाउनु एउटा युद्ध थियो। विज्ञापन नपाउने, पाए पनि थोरै रकमको। पत्रिका प्रकाशन गर्न अपुग हुने। काठमाडौंका धेरै “नेता” हरू, जसले आफूलाई आदिवासी जनजातिको मषीहा घोषित गर्थे, तिनैले पत्रिकालाई आर्थिक सहयोग गर्न मुख फर्काउँथे। एउटा पनि बैठकमा भाग लिन आउँदैनथे। गोपाल दाई साह्रै हैरान हुनुहुन्थ्याे।

दाईको रक्सी पिउने बानी थियो। रक्सीको गिलासमा उहाँको निराशा र रिस पग्लिन्थ्यो। कतिपटक म उहाँलाई उहाँको बासस्थान सम्म पुर्याउन गएको छु, जहाँ उहाँले पत्रिकाको भविष्य र समुदायका कथित नेताहरूको उपेक्षाको बारेमा दुःखले कुरा गर्नुहुन्थ्याे। आफ्नै समुदायबाटै यसरी उपेक्षित हुनुले उहाँलाई घाइते बनाएको थियो।

एक दिन, त्यो निराशा र रिसले विस्फोटको रूप लियो। छहरा साप्ताहिकले एउटा ब्यानर न्यूज प्रकाशित गर्यो, जसको शीर्षक थियो – “आदिवासीजनजाति भनेको सुँगुरको मुत खाने जात हो”।

यो शीर्षक आक्रामक थियो, चोट पुर्याउने थियो। तर यो गोपाल दाईको एक तीखो प्रतिक्रिया थियो – आफ्नै समुदायका नेतृत्व र बुद्धिजीवीवर्गले आफ्नो पत्रिका र आवाजप्रति देखाएको अवहेलनाको विरुद्धको आक्राेश थियो। उहाँले स्पष्ट देख्नुभएको थियाे कि धेरैको लागि ‘आदिवासी जनजाति’ भनेको राजनीतिक पूँजी मात्र थियो, साँच्चिकै आवाज उठाउने मञ्च होइन।

तर प्रतिक्रिया भयावह थियो। पत्रिका प्रकाशित भएको केही घण्टा भित्रै, केही आदिवासी जनजातिका युवाहरू हातमा खुकुरी, तरवार, भाला, चक्कु लगायतका हतियार बोकेर गोपाल दाईलाई खोज्दै पत्रिकाको कार्यालय र उहाँको बासस्थानमा आइपुगे। उनीहरूको अनुहारमा रिस र हिंसाको आगो स्पष्ट देखिन्थ्यो। त्यो दिन गोपाल दाई भेटिएको भए, के हुन्थ्यो होला, भन्न सकिन्न। उहाँ लुकेकोले बाँच्नु भयो।

अर्को दिन, उहाँले मलाई फोन गरेर भन्नुभयाे, “भाइ, मलाई बचाउनु पर्यो। यिनीहरू निकै रिसाएका छन्। म केही दिन लुक्छु। तपाईं अफिसमा बसेर उनीहरूलाई सम्झाइबुझाइ गरिदिनुस्।”

त्यसपछिका दिनहरू मेरो लागि एक प्रकारको कूटनीतिक परीक्षा थिए। कार्यालयमा उही हतियार बोक्ने युवा र कथित नेताहरू आउँथे, गोपाल दाईको बारेमा धम्की दिंदै साेध्थे। म उनीहरूलाई बस्न भन्द्थे, चिया पिउन अनुरोध गर्थें र उनीहरूकाे आक्राेशपूर्ण धम्कीहरु शान्त भएर सुन्थे अनि विनम्रतासाथ कुरा गर्थे। म भन्द्थे – “गोपाल दाईको आशय तपाईंहरू विरुद्ध होइन। उहाँको रिस तपाईंहरू जस्तै नेतृत्व प्रति हो, जसले उहाँको आवाजलाई सधैं उपेक्षा गर्नुभयो। उहाँले जतिसुकै आवाज उठाए पनि तपाईंहरूले कहिल्यै साथ दिनुभएन। तपाईंहरूले उहाँलाई साथ, समर्थन र सहयोग गर्नुको सट्टा रक्सी-मासु र पार्टीमा पैसा खर्च गरिरहनु भएको छ। त्यो पैसाबाट थाेरै छुट्याएर गाेपाल दाईलाई सहयोग गर्नुभयो भने तपाईंहरुकाे हकहितका पक्षमा लगानी हुनेथियो। जसका लागि उहाँले दिनरात कठिनाइ सहेर काम गरिरहनुभएकाे छ, त्यही समुदायले नबुझेकोले आक्रोशित हुनु भएको हो र जाे स्वाभाविक पनि हो।”

यी कुराहरूले उनीहरूको रिस केही शान्त पार्थ्यो। तर साँच्चिकै उनीहरूकाे आक्राेशमा परिवर्तन ल्याउने काम गरेको थियो मेरो बाेली-ब्यवहार र तर्कले। त्यसपछि, ब्रिटेन लगायतका देशमा सिपाही भएका, काठमाडौंमै सानो-ठूलो व्यवसाय गर्ने गोपाल दाईका समुदायका मानिसहरूले थोरै-थोरै सहयोग पठाउन थाले। उनीहरूले देखे कि छहरा उनीहरूको नै आवाज हो। यो सानो-सानो सहयोगले नै पत्रिका प्रकाशनलाई सहज बनायो।

आज दिल निशानी मगरले लेखेजस्तै, हामी विभेदको चर्चा गर्छौं, तर आफूभित्रको विभेद, आफ्नै समुदायभित्रको उचाइ-निचाइ, आफ्नै भित्री racism लाई चिन्न चाहँदैनौं। गोपाल दाईको त्यो ब्यानर न्यूज साहसिक थियो, आक्रामक पनि थियो। तर यो एउटा गहिरो सवाल थियो – के हामी साँच्चै एकता चाहन्छौं, वा के हामी आफूलाई ‘शोषित’ को हैसियतमा राखेर मात्र राजनीतिक लाभ लिन चाहन्छौं?

त्यो घटनाले मलाई सिकायो कि सबैभन्दा कठिन युद्ध बाहिरी शत्रुसँग हुँदैन, भित्री विरोधाभास, उपेक्षा र आत्म-विनाशक प्रवृत्तिसँग हुन्छ। र त्यस युद्धमा, कहिलेकाहीं एउटा सानो पत्रिका र त्यसको आक्रोशित सम्पादकले, हतियार उठाएका युवाहरूभन्दा ठूलो सवाल उठाउन सक्छन्। त्यो सवाल आज पनि प्रासंगिक छ – हामी कसको विरुद्ध र कसको लागि लडिरहेका छौं?

लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button