देवकोटा विराट प्रतिभा, तीन कृति एकसाथ लोकार्पण

सन्दर्भ : ११३औं लक्ष्मी जयन्ती तथा ८४औं कविगुरु जयन्ती

बर्दियाको गुलरियामा तीनओटा कृतिहरू एकसाथ लोकार्पण गरिएको छ ।
नेपाली साहित्यका उज्ज्वल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्म जयन्ती तथा बर्दियामा बसेर साहित्य, शिक्षा, सामाजिक तथा धार्मिक क्षेत्रमा निरन्तर योगदान दिनुभएका कविगुरु यज्ञप्रसाद सुवेदीको ८४औँ जन्म जयन्तीको अवसर पारेर कविगुरु यज्ञप्रसाद सुवेदीको १५औँ कृति “मृत्यु संस्कार”, कवि विष्णुप्रसाद मरासिनीको “महाकवि देवकोटा खण्डकाव्य” र शिक्षक तथा संस्कृतिकर्मी प्रभात सुवेदीको “जगाऔ“ आत्मविश्वास” को दोस्रो संस्करण गरी तीनओटा कृतिहरू लोकार्पण गरिएको छ ।मृत्यू संस्कार कृति मानिसको जीवनमा आइपर्ने सत्य घटना मृत्युपछि गर्नुपर्ने अन्तिम संस्कारका बारेमा संक्षिप्त रुपमा उल्लेख गरिएको छ भने महाकवि देवकोटा खण्डकाव्य, लक्ष्मीप्रसाद देवकोटाको कृतित्व तथा व्यक्तित्वका बारेमा संक्षिप्त रुपमा छन्दोवद्ध तरिकाले लेखिएको खण्डकाव्य रहेका छ । यसैगरी जगाउँ आत्मविश्वास पुस्तक नितान्त विद्यार्थी तथा जो कोही शैक्षिक तथा प्राज्ञिक व्यक्तित्वका लागि उपयोगी पुस्तक रहेको छ ।
कृतिहरूको लोकार्पण गर्नुहुँदै प्रमुख अतिथि भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सिनाले तीनओटै कृतिहरू निकै नै उपयोगी र अनमोल रहेकोमा आगामी दिनमा कृतिहरू प्रकाशित गर्दा समेट्नुपर्ने कुराहरूबारे सल्लाह सुझाव दिनुभयो । साथै वहाँले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पुर्याउनुभएको ऐतिहासिक, गुणात्मक तथा परिमाणात्मक योगदानबारे चर्चा गर्नुभयो । देवकोटाको शाकुन्तल महाकाव्य समानको उच्चता प्राप्त गरेको अर्को कुनै महाकाव्य अहिलेसम्म कसैले पनि नलेखेको बताउनुहुँदै पाँच वर्षमा पाँच महाकाव्य गरी ८ ओटा महाकाव्य लेखेको र वि.सं. १९९२ सालमा देवकोटाले मुनामदन खण्डकाव्य झ्याउरेमा लेखेर अनुपम नमूना प्रस्तुत गर्नुभएकोे स्मरण गर्नुभयो । साहित्य सरल, सुवोध ढाँचामा नै लेखिएकोले मुनामदन नेपाली समाजमा अहिलेसम्म पनि उत्तिकै सर्वप्रिय बनेको स्मरण गनुभयो । देवकोटाले कलम नचलाएको कुनै पनि साहित्यको विधा नभएको कुरा औँल्याउनुहुँदै २१ ओटा खण्डकाव्य, १६ ओटा कविता सङ्ग्रह, ३ ओटा निबन्ध सङ्ग्रह, कथा, समालोचना लगायतका क्षेत्रहरुमा पााँच दर्जन बढी कृतिहरु प्रकाशित भएको कुरा बताउनुभयो । नेपाली साहित्यका विराट प्रतिभाका देवकोटालाई स्वच्छन्दतावादी धाराको शुरुवात गर्ने श्रेय गएको बताउनुभयो । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाको दिन भएको र मृत्यु वि.सं. २०१६ साल भदौ १९ गते भएको थियो । यसैगरी वि.सं. १९९५ साल कात्तिक १२ गते पर्वत जिल्लामा जन्मेर बर्दियालाई कर्मथलो बनाउनुभएका कविगुरु यज्ञप्रसाद सुवेदीले आफ्नो जीवनकालमा नेपाली साहित्यमा १० ओटा कृतिहरु दिनुभएको र वहाँको जीवनपश्चात भने पारीवारिक प्रयासमा थप पाँच कृतिहरू प्रकाशन गरिएकोमा खुशी व्यक्त गर्नुहुँदै लोकार्पित कृति ‘मृत्यु संस्कार’ जो कोहीका लागि पनि अत्यन्तै उपयोगी भएको कुरा औँल्याउनुभयो । साथै वहाँले कविगुरुका बाँकी कृतिहरू प्रकाशनका लागि शुभकामना दिनुभयो । कविगुरु यज्ञप्रसाद सुवेदीले जीवनको अन्तिम अवस्थामा पनि आफू अस्वस्थ हुँदा हुँदै पनि सामाजिक सेवामा निकै समर्पित भएर लाग्नुभएको थियो ।
कार्यक्रममा लोकार्पित कृतिहरु क्रमशः कविगुरु यज्ञप्रसाद सुवेदीको १५औँ कृति “मृत्यु संस्कार” को समीक्षा पुण्य प्रसाद गौतमले, विष्णुप्रसाद मरासिनीज्यूको “महाकवि देवकोटा खण्डकाव्य” हरिहर शर्मा आचार्यले र प्रभात सुवेदीको “जगाऔ“ आत्मविश्वास” हरिप्रसाद जोशीले गर्नुभएको थियो ।
उद्योग वाणिज्य संघ गुलरियाको सभाहलभा भएको कार्यक्रममा विशेष अतिथिका रुपमा रहनुभएका संघका प्रथम उपाध्यक्ष ईन्द्र कुमार श्रेष्ठ, लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा भेरी साहित्य समाज बर्दियाका सल्लाहकार मणि शर्मा, लक्ष्मी खनाल ‘अभि’, राम प्रसाद आचार्य, सोमनाथ लुईँटेल, होमेन्द्र थापा, विजया पौडेल, प्रश्ना सुवेदी, अभिनन्दन सुवेदी, सभ्यता पण्डित लगायतले आ–आफ्ना साहित्यिक रचनाहरू वाचन गर्नुभएको थियो ।
भेरी साहित्य समाज बर्दियाका अध्यक्ष विष्णु प्रसाद मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत भेरी साहित्य समाज बर्दियाका कोषाध्यक्ष राम प्रसाद लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा कविगुरुकी धर्मपत्नी भीमा सुवेदी साहित्यिक व्यक्तित्त्वहरु रमेशचन्द्र ज्ञवाली, जनकाज पोख्रेल, प्रकाश पौडेल, सुजाता सि‌खडा, लक्ष्मण भण्डारी, सृष्टि बज्राचार्य, मेघराज सिग्देल, प्रतिक्षा रिजाल लगायतको उपस्थिती रहेकाे थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button