रुँदैरुँदै आको मान्छे, रुवाएर जान्छ

# राजन कार्की
रुँदैरुँदै आको मान्छे, रुवाएर जान्छ
सम्झनाका आँसुले, नुहाएर जान्छ ।
झर्न त सिरेटोले पात पनि झर्छ
झर्न त विहानीले, रात पनि झर्छ
समयको घडीपला, आफैसँग झर्छ
हिउँ पनि पग्लिएर, समुद्रमै झर्छ ।
रुँदैरुँदै आको मान्छे, रुवाएर जान्छ
जन्मनुको बही खाता, बुझाएर जान्छ ।
ढुंगा फोर्दै पिपलले, बर खोज्दै आउँछ
आफैभित्र मर्दै बाँच्दै, न्याउलीले गाउँछ
माया भन्नु रिमीझिमी, प्याउलीझैं भन्थे
अन्त भन्नु सुरु रैछ, सुरु भन्नु अन्त्य ।
रुँदैरुँदै आको मान्छे, रुवाएर जान्छ
आँखा सँग आँखा जुधाएर जान्छ ।
रुँदैरुँदै आको मान्छे, रुवाएर जान्छ
सम्झनाका आँसुले, नुहाएर जान्छ ।
नाेट: कवि राजन कार्की वरिष्ठ पत्रकार र चर्चित लेखक पनि हुनुहुन्छ।





